कांग्रेसका ३८ मध्ये ९ सांसदमात्रै पुराना, दलको नेता को ?
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा अप्रत्याशित हार बेहोर्यो, जसमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको छ।
- निर्वाचनमा पार्टीका शीर्ष नेताहरू पराजित भएपछि संसदीय दलको नेता को बन्ने भन्नेमा कांग्रेसभित्र अन्योलता छ।
- कपिलवस्तु-३ बाट अभिषेक प्रताप शाह, बाजुराबाट जनकराज गिरी लगायत ९ जना पहिले पनि संसदमा पुगेका नेता छन्।
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अप्रत्याशित हार व्यहोरेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट गरी जम्मा ३८ सिट जितेको छ । २०७९ को निर्वाचनमा ८९ सिट जितेर पहिलो पार्टी बनेको कांग्रेस दोस्रोमा झरेसँगै प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल बन्ने निश्चित भएको छ ।
तर, पार्टी सभापति, पदाधिकारी र शीर्ष तहका नेता सबै पराजित भएकाले संसदीय दलको नेता कसलाई बनाउने भन्नेमा कांग्रेसमै अन्योल छ ।
प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी जितेका ३८ सांसदमध्ये ९ जनामात्र यसअघि संसदमा पुगेका नेता छन् । प्रत्यक्षतर्फ जितेका ६ जना र समानुपातिकतर्फका ३ जना यसअघि संसदमा पुगेका नेता रहेका कांग्रेसको सिंहदरबारस्थित संसदीय दलको कार्यालयले रातोपाटीलाई जानकारी दिएको छ । दलको कार्यालयका अधिकृत विजेन्द्र आलेले ९ सांसद मात्रै पुराना र बाँकी सबै नयाँ रहेको बताए ।
प्रत्यक्षतर्फ कपिलवस्तु–३ बाट जितेका अभिषेक प्रताप शाह, बाजुराबाट जितेका जनकराज गिरी, डोटीबाट जितेका भरतबहादुर खड्का, रसुवाबाट जितेका मोहन आचार्य, मुस्ताङबाट जितेका योगेश गौचन थकाली र मनाङबाट जितेका टेकबहादुर गुरुङ यसअघि पनि संसदमा पुगेका नेता हुन् । त्यस्तै समानुपातिकतर्फबाट सांसद बनेका भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र डा. चन्द्रमोहन यादव यसअघि पनि सांसद बनिसकेका थिए । बाँकी सबै पहिलो पटक सांसद बनेको संसदीय दलको कार्यालयले जनाएको छ ।
कपिलवस्तु–३ बाट जितेका शाहको यो पाँचौँ पटक संसद् प्रवेश हो । उनले कांग्रेसबाट ०७४ मा पनि त्यही क्षेत्रबाट जितेका थिए । त्यसअघि उनी ०६४ को पहिलो संविधान सभा र ०७० को दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए । उनी २०६२/०६३ को जनआन्दोलन सफल भएपछि पुनर्स्थापित भएको अन्तरिम व्यवस्थापिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सदस्य मनोनीत भएका थिए ।
‘मेरो यो पाँचौँ पटकको संसद् यात्रा हो,’ शाहले रातोपाटीसँग भने, ‘०६३ मा अन्तरिम व्यवस्थापिकामा म राप्रपाको तर्फबाट मनोनीत भएको थिएँ । ०६४ र ०७० मा मधेसी जनअधिकार फोरमबाट निर्विाचित भएँ । ०७४ र अहिले नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएँ ।’
बाजुराबाट जितेका गिरी ०५६ को प्रतिनिधि सभा निर्वाचनमा बाजुराबाट निर्वाचित भएका थिए । संसदको त्यो कार्यकालमा उनी भूमिसुधार राज्यमन्त्री पनि बनेका थिए ।
डोटीबाट जितेका खड्काको संसदमा दोस्रो यात्रा हो । उनी ०७० को दोस्रो संविधान सभामा सांसद भएर काम गरेका थिए ।
रसुवाबाट जितेका आचार्यको यो पटक संसदमा ह्याट्रिक हो । उनी ०७४ र ०७९ को निर्वाचनमा निर्वाचित भएर सांसद भइसकेका छन् ।
मुस्ताङबाट जितेका थकालीको यो दोस्रो संसद् यात्रा हो । उनले ०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि त्यही क्षेत्रबाट जितेका थिए ।
मनाङबाट जितेका गुरुङको यो तेस्रो संसद् यात्रा हो । उनी यसअघि ०७० र ०७९ मा मनाङबाट कांग्रेसको उम्मेदवार बन्दै निर्वाचित भएका थिए ।
समानुपातिकबाट सांसद भएका केसी कांग्रेसका सबैभन्दा अनुभवी सांसद हुन् । उनी पञ्चायती व्यवस्थादेखि नै सांसद र मन्त्री बन्दै आएका छन् । केसी समकालीन राजनीतिमा सबैभन्दा बढी चुनाव लडेका नेता पनि हुन् । ७८ वर्षीय केसी २०३८ सालमा राष्ट्रिय पञ्चायतबाट निर्वाचन लडेर निर्वाचित भइ राज्यमन्त्री भएका थिए । २०४३ मा राष्ट्रिय पञ्चायतको निर्वाचन दोस्रो पटक लड्दा पराजित भएपछि उनी २०४५ मा जिल्ला पञ्चायतका सभापति भए । २०४६ पछि कांग्रेसमा फर्किएका केसी २०४८, २०५१, २०७० र २०७९ मा नुवाकोटबाट निर्वाचित भएका थिए । केसी सहरी विकासमन्त्री (२०७३), शिक्षामन्त्री तथा आवास तथा भौतिक योजनामन्त्री (२०५५), स्वास्थ्य तथा जनसंख्यामन्त्री (२०५२) बनेर काम गरिसकेका छन् ।
समानुपातिकबाट सांसद बनेका आङदेम्बे र डा. यादव ०७० को दोस्रो संविधान सभामा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।
अब दलको नेता को ?
प्रतिनिधि सभा निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर कांग्रेस होमिएको थियो । सभापति थापा सर्लाही–४ मा पराजित भए । सभापति थापामात्रै होइन, पार्टीका पदाधिकारी र शीर्ष तहका नेताहरू सबै पराजित भएपछि संसदीय दलको नेता कसलाई बनाउने भन्नेमा अन्योल छ ।
कांग्रेसका एक पदाधिकारीका अनुसार प्रत्यक्षबाट निर्वाचन जितेका भरतबहादुर खड्का, जनकराज गिरी, मोहन आचार्य र नरेन्द्र केरुङले दलको नेतामा आकाङ्क्षा राखिरहेका छन् । समानुपातिकतर्फका अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे पनि दाबेदार छन् ।
दाबेदारी आए पनि कसलाई दलको नेता बनाउने भन्ने विषयमा अहिलेसम्म केही कुराकानी भइनसकेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । ‘नेताहरूले आकाङ्क्षा त राखिरहनु भएको छ । कांग्रेसमा प्रक्रियागत रूपमा दलको नेता चुनिने परम्परा छ,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘आयोगले हिजो (सोमबार)मात्रै टुङ्ग्याएको छ । अहिलेसम्म केही तयारी भएको छैन । अब कुराकानी होला ।’
कांग्रेसबाट संसदमा रहेका नेताहरूमध्ये सबैभन्दा सिनियर र धेरै पटक सांसद तथा मन्त्री भइसकेका केसी हुन् । आङदेम्बे कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए । यी दुई नेताबिच नै संसदीय दलको नेतामा प्रतिस्पर्धा हुन सक्ने नेताहरू बताउँछन् । पार्टीभित्रको गुटगत हिसाबमा हेर्ने हो भने केसी र आङ्देम्बे फरक–फरक गुटका हुन् । केसी सभापति थापाका ससुरासमेत हुन् भने आङदेम्बे निवर्तमान सभापति शेरबहादुर देउवा समूहका हुन् ।
कांग्रेसका सांसदहरू
प्रत्यक्षतर्फ
१) मो. फिरदोश आलम– रौतहट – २
२) विष्णुबहादुर खड्का– सुर्खेत – १
३) अभिषेक प्रताप शाह– कपिलवस्तु – ३
४) खडकबहादुर वुढा– जाजरकोट
५) सन्दीप राना– पाल्पा – १
६) नरेन्द्र कुमार केरुङ– पाँचथर
७) जनक राज गिरी– बाजुरा
८) भरत बहादुर खड्का–डोटी
९) निश्कल राई– इलाम – १
१०) प्रकाशसिंह कार्की –सोलुखुम्बु
११) बासना थापा–दैलेख – १
१२) सन्तोष सुब्वा – तेह्रथुम
१३) भरतकुमार स्वार– अछाम – १
१४) मोहन आचार्य – रसुवा
१५) जयपती रोकाया– हुम्ला
१६) खड्ग शाही– मुगु
१७) योगेश गौचन थकाली – मुस्ताङ
१८) टेक बहादुर गुरुङ – मनाङ
समानुपातिक
१) भीष्मराज आङ्देम्बे
२) मदनकृष्ण श्रेष्ठ
३) गीताकुमारी सेन्दाङ
४) गंगालक्ष्मी अवाल
५) गीता गुरुङ
६) रेनुका काउचा
७) अर्जुननरसिंह के.सी.
८) कालिबहादुर सहकारी
९) सुशीला ढकाल आचार्य
१०) रुक्मिणी देवी कोइराला
११) रीना उप्रेती
१२) सीता थपलिया
१३) प्रमिला कुमारी गच्छदार
१४) हरिनादेवी कामी
१५) पवित्रा वि.क.
१६) मनमाया वि.क.
१७) डा. चन्द्रमोहन यादव
१८) नीनुकुमारी कर्ण
१९) रेखाकुमारी यादव
२०) शाहजान खातुन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण