श्रीलङ्काः रातिको समयमा गाडी चार्ज नगर्न आग्रह
श्रीलंका । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन (इभी) प्रयोगकर्तालाई रातिको समयमा गाडी चार्ज नगर्न आग्रह गरेको छ । बढ्दो विद्युत् मागले देशको विद्युत् प्रणालीमा दबाब सिर्जना गरेपछि यस्तो अपिल गरिएको हो ।
राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति अनुरा कुमार दिसानायकले राति घर फर्किएपछि धेरै इभी प्रयोगकर्ताले गाडी चार्ज गर्दा ग्रिडमा करिब ३०० मेगावाट अतिरिक्त माग थपिएको बताए । उनका अनुसार यसले विद्युत् आपूर्तिमा असन्तुलन ल्याउँदै सबै उपलब्ध उत्पादन स्रोत सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।
रातिको समयमा श्रीलङ्काले करिब ९०० मेगावाट कोइला र १,००० मेगावाट डिजेलबाट विद्युत् उत्पादन गर्दै आएको छ । यसलाई वातावरणमैत्री विकल्प नभएको स्वीकार गरिएको छ । यसले इभीलाई स्वच्छ ऊर्जाको प्रतीक मानिने धारणा विपरीत अवस्था सिर्जना गरेको देखिएको छ ।
देशमा पर्याप्त मात्रामा सौर्य ऊर्जा उत्पादन भए पनि ठूलो स्तरको ब्याट्री भण्डारण प्रणाली नहुँदा दिनमा उत्पादन भएको अतिरिक्त ऊर्जा सुरक्षित गर्न नसकिएको सरकारको भनाइ छ । त्यसैले राष्ट्रपति दिसानायकले नागरिकलाई दिनको समयमा सौर्य ऊर्जाको उपयोग गर्दै गाडी चार्ज गर्न आग्रह गरे । साथै, रातिको चार्जिङ नियन्त्रण गर्न चाँडै शुल्क प्रणाली लागू गर्ने योजना पनि बनाइएको जनाइएको छ ।
पछिल्लो समय श्रीलङ्कामा विद्युतीय सवारीको सङ्ख्या तीव्र रूपमा बढेको छ । गत वर्ष फेब्रुअरीमा पाँच वर्षदेखि लागू गरिएको सवारी आयात प्रतिबन्ध हटाइएपछि आयात गरिएका सवारीमध्ये १० प्रतिशतभन्दा बढी पूर्ण रूपमा विद्युतीय रहेका छन् ।
मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटले श्रीलङ्कालाई थप प्रभावित पारेको छ । सरकारले इन्धन अभाव नियन्त्रण गर्न रेशनिङ सुरु गरेको छ भने इन्धन बचतका लागि चार दिने कार्यसप्ताह पनि लागू गरेको छ ।
राष्ट्रपति दिसानायकले युद्धका कारण ९० हजार टन कच्चा तेलका दुई ढुवानी प्राप्त गर्न नसकिएको जानकारी दिए । उनले परिष्कृत पेट्रोलियम पदार्थका लागि भारत र रुसजस्ता मित्र राष्ट्रहरूसँग वार्ता भइरहेको पनि उल्लेख गरे ।
ऊर्जा बचत अभियानको प्रभाव स्वरूप बुधबार देशका सडकहरू सामान्यभन्दा सुनसान देखिएका छन् भने विद्यालय, सरकारी कार्यालय र बैंक बन्द हुँदा रेल र बस स्टेसनहरूमा पनि कम भीड देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण