काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण विश्वभर पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित बनेको छ । यसबिचमा पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । पश्चिम एशियामा द्वन्द्व सुरु हुनुअघि नै नेपालमा खाना पकाउने ग्यासको अभाव सुरु भएको थियो । लामो समयसम्म युद्ध जारी रहे नेपालमा यसको प्रभाव कस्तो पर्ला ? यो अहिले जनचासोको विषय बनेको छ ।
यसै सन्दर्भमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्टसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ कार्यकारी निर्देशक भट्टसँग गरिएको कुराकानीको सम्पादित अंश–
पश्चिम एशियामा द्वन्द्व हुनु अघि नै नेपालमा ग्यास अभाव भइसकेको थियो । युद्ध हुँदैछ भन्ने थाहा पाएर यो अभाव सिर्जना भएको हो वा अरु कुनै कारण थियो ?
पछिल्लो समयमा मात्रै नभएर जब आम निर्वाचनको सेड्युल प्रकाशित भयो, त्यसपछि हाम्रा उपभोक्ताहरूले आवश्यकताभन्दा बढी खरिद गरेर सञ्चिति गर्न थाल्नुभएका कारण बजारमा अभाव देखिएकै हो । पश्चिम एसियामा द्वन्द्व सुरु हुनुभन्दा अघि नै बजारमा केही ‘प्रेसर’ थियो ।
आम निर्वाचनका लागि फोकस गरेर २५ सय मेट्रिक टन प्रतिमहिना बढी परिमाणमा मगाएका थियौँैं । जब निर्वाचन सम्पन्न भयो, युद्ध सुरु भइसकेको थियो । जसले गर्दा हरेक मुलुकमा इन्धन अभाव हुन थाल्यो । त्यसमा हाम्रो नेपाल पनि अछुतो रहन सकेन । बाहिरका मिडियाहरूले गर्दा पनि उपभोक्ताहरू पनि ग्यास किनेर थुपार्ने होडमा लाग्नुभयो । अहिले देखिएको अभावको मुख्य कारण यही हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएर आउँदा नेपालमा पनि स्वचालित रूपमा घटबढ हुँदै आएको छ । अस्ति मार्च १ निगमले भारतबाट बढेर आएको तुलनामा यहाँ कममात्र मूल्य बढाएको छ । यसरी स्वचालित मूल्य प्रणाली किन तोड्नु भयो ?
स्वचालित मूल्य प्रणाली भन्ने बित्तिकै अन्तर्राष्ट्रिय मूल्य अनुसार अगाडि बढ्नुपर्ने हो । जब एकै पटक अत्यधिक मूल्य बढेर आउँछ, त्यसलाई धान्न गाह्रो हुन्छ । त्यसैले हामीले स्वचालित मूल्य प्रणालीको सिस्टम अनुसार मूल्य बढाउन उचित ठानेनौँ । उताबाट बढेर आएकै दरमा यहाँ पनि मूल्य बढाएको भए हाम्रो बजार र उपभोक्ताहरूले धान्न सक्ने अवस्था थिएन । त्यसैले हामीले हाम्रो उपभोक्ताले कतिसम्म धान्न सक्नुहुन्छ भन्ने हेरेर सोही अनुसारमात्रै मूल्य बढाएका छौँ । बरु नेपाल आयल निगमले नै यसको बर्डेन बिअर (भारबहन) गरेर उपभोक्ताको हितलाई मध्यनजर गर्दै सीमित मूल्य बढाएका छौँ । पेट्रोलमा ३१ रुपैयाँ प्रतिलिटर मूल्य वृद्धि भएर आएकोमा हामीले केवल १५ रुपैयाँ र डिजेलमा ५४ रुपैयाँ प्रतिलिटर वृद्धि भएकोमा १० रुपैयाँमात्रै वृद्धि गर्यौँ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा अन्य विभिन्न वस्तुहरूको मूल्य बढ्न जाने हुँदा उपभोक्तालाई सबैतिरबाट एक्कासि चाप नपरोस् भनेरै हामीले बिचार पुर्याएका हौँ ।
अहिले इन्धन आपूर्तिको अवस्था कस्तो छ ? विशेषगरी खाना पकाउने ग्यासको आपूर्तिको अवस्था कस्तो छ ?
पेट्रोलियम पदार्थको आयात हाम्रो माग बमोजिम नै आयात भइरहेको छ । यसमा अहिलेसम्म आयात परिमाणको हिसाबले कुनै पनि समस्या छैन । केवल मूल्य बढेर आएको मात्रै हो । ग्यास हामीलाई प्रतिमहिना करिब करिब ५० हजार मेट्रिक टन आवश्यक पर्छ । प्रतिदिन १ लाख १० हजार सिलिन्डर हामीलाई आवश्यक पर्छ ।
कम सिलिन्डर राख्नेहरूका लागि पनि सहज रूपमा सिलिन्डर उपलब्ध होस् भन्नका लागि हामीले आधा सिलिन्डर ग्यास विक्री गरेका छौँ । मलाई लाग्छ, अबको दुई तीन दिनभित्र यो नर्मल कन्डिसनमा आउँछ । त्यसपछि हामी फेरि पूरा सिलिन्डरमै जान्छौँ । १४.२ केजी नै भरेर हामी वितरण गर्ने गर्छौं ।
सो बमोजिम हामीले आयात गरेका छौँ, तर यदाकदा कुनै समयमा कुनै रिफाइनरीमा लोड गर्न नसकेको अवस्थामा ४/५ वटा बुलेट कम हुने अथवा करिब चारपाँच हजार सिलिन्डर कम आउने गरेको अवस्था छ । हामीलाई करिब ९३ वटा बुलेट प्रतिदिन आवश्यक पर्छ । त्यो भनेको १ लाख १० हजार सिलिन्डर हो । कुनै बेला हामीले ८० बुलेटमात्रै उठाएका छौँ । त्यो भनेको करिब १ लाख सिलिन्डर हुन्छ । कुनै बेला हामीले १०० बुलेट उठाइरहेका छौँ । करिब १ लाखदेखि १ लाख २० हजार सिलिन्डर प्रतिदिन हामीले उठाइराखेका छौँ ।
पछिल्लो समय हामीले आधा सिलिन्डर ग्यास विक्री गर्न थालेका छौँ । त्यसैले यो महिना अलिकति हल्का भएको हामीले महसुस गरेका छौँ ।
निगमले आयात पर्याप्त भइरहेको छ भने पनि बजारमा किन अभाव भयो ? ठाउँठाउँमा लुकाएको अवस्थमासमेत ग्यास भेटिएको छ । अनुगमन र नियमन गर्न नसकेका कारण यस्तो भएको हो कि अन्य कुनै कारण छ ?
हरेक उपभोक्ताले आफूलाई ठ्याक्कै आवश्यक मात्रामा मात्रै खरिद गरेर राखेको भए हामीलाई पुग्ने किसिमले नै आइरहेको छ । १ लाख १० हजार सिलिन्डर मार्केटमा पठाउँदा हामीलाई पर्याप्त हुने अवस्था हो, तर अहिले आफूलाई अनावश्यक रूपमा पनि केही सिलिन्डर खरिद गर्ने, भण्डारण गरेर राख्ने प्रवृत्ति भयो । औद्योगिक प्रतिष्ठानहरूमा पनि उहाँहरूको व्यापार चलाउनका लागि थोरै स्टक बढाइदिनुभएको कारणले अहिले मार्केटमा अलिकति प्रेसर भएको हो । त्यसैले आधा सिलिन्डरमात्र ग्यास बजारमा पठाउँदा सबै सिलिन्डर रिफिल हुन्छन् र समस्या आउँदैन । जसको एउटै सिलिन्डर छ, उहाँहरूलाई बढी समस्या भएको हो । कम सिलिन्डर राख्नेहरूका लागि पनि सहज रूपमा सिलिन्डर उपलब्ध होस् भन्नका लागि हामीले आधा सिलिन्डर ग्यास विक्री गरेका छौँ । मलाई लाग्छ, अबको दुई तीन दिनभित्र यो नर्मल कन्डिसनमा आउँछ । त्यसपछि हामी फेरि पूरा सिलिन्डरमै जान्छौँ । १४.२ केजी नै भरेर हामी वितरण गर्ने गर्छौं ।
नियमन त हाम्रो नियमित रूपमा भइरहेको छ । विशेष रूपमा वाणिज्य विभागले पनि नियमन गरिरहेको अवस्था छ । हामीले स्थानीय निकायसँग पनि समन्वय गरिरहेका छौँ । नेपाल आयल निगम, स्थानीय निकाय र वाणिज्य विभागको समन्वयमा हामीले नियमित अनुगमन गरिरहेको अवस्था हो ।
ठाउँ–ठाउँमा केही सिलिन्डर होल्ड गरेर राखेको, अनियमित तरिकाले विक्री वितरण गर्नका लागि राखिएका सिलिन्डर बाहिर ल्याइएका छन् । त्यो सीमित ठाउँमा हो । धेरै ठाउँहरूमा यसरी होल्ड गरेर राखेको, अनियमित गर्नका लागि राखेको देखिएको छैन । अहिलेको मेजर समस्या भनेको हामीले बाहिर भएका खाली सिलिन्डर एकै पटक सबैले भर्न थालेको कारणले नै समस्या उत्पन्न भएको हो । अब केही दिनमै हामी सबै सिलिन्डरलाई रिफिल गरिसक्छौँ र समस्या समाधान समाधानतिर जान्छौँ ।
खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो कति प्रभावकारी हुन सक्छ ? पेट्रोलियमको विकल्पमा विद्युत् प्रयोग गर्न आयल निगम र विद्युत् प्राधिकरणबिच कुनै समन्वय भएको छ ?
नेपाल सरकारले २०४५ सम्म जिरो कार्बन इमिसनमा हस्ताक्षर पनि गरिसकेको छ । त्यो बाटोमा हामी लाग्नु पर्नेछ । यसका लागि हामीले यो एलपीजी मात्रै नभएर पेट्रोल, डिजेल, मट्टितेललाई पनि रिप्लेस गर्नुपर्ने आवश्यकता छ । यसका लागि यो सही समय हो । हाम्रो निष्कर्ष त्यही नै हो ।
हामीसँग भएको आफ्नै इन्डिजिनस प्रोडक्ट, हाइड्रोपावर त हाम्रो इन्डिजिनस प्रोडक्ट हो नि त । अब बाहिर बिक्री गर्नुभन्दा पनि हाम्रै देशमा खपत बढाउनु पर्यो । त्यसमा पनि अझ खाना पकाउन र ट्रान्सपोर्ट सेक्टरमा पनि विद्युत् खपत बढाउनु पर्छ ।
स्टेट अफ हर्मुजमाबाट इन्डियाले पनि थोरै परिमाणमा पेट्रोलियम पदार्थ आयात गर्ने रहेछ । तथापि हामीले क्रुड आयात गरिरहेको अवस्था होइन । फिनिस्ड प्रोडक्ट, पेट्रोल, डिजेल, केरोसिन, हवाई इन्धन र एलपीजी हामीले डाइरेक्ट इन्डियाबाट प्रोसेसिङ गरिसकेपछि ल्याउने गरेका छौँ । वर्ष दिनका लागि हामीलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ इन्डियन आयल कर्पोरेसनसँग सम्झौता गरेर हामीले आयात गरिरहेको अवस्था छ ।
यही बेलामा विभिन्न किसिमले आकर्षण गर्ने किसिमले स्किम लिएर आएर अब उपभोक्ताहरूले एलपीजी भन्दा विद्युत् नै प्रयोग गर्नुपर्छ भन्ने किसिमको सोच विकास गर्न यो बेलामा गर्न सकियो भने मलाई लाग्छ धेरै उपभोक्ता अब एलपीजीबाट भन्दा पनि विद्युततिर नै आकर्षित हुने सम्भावना छ । यसका लागि एउटा स्किम तत्कालै ल्याउन जरुरी छ ।
त्यस्तै अन्य रिनोभेबल इनर्जीमा हामी जान जरुरी छ । जस्तो क्लिन फ्युएलहरू छन् । पेट्रोलमा इथानोल मिश्रण गर्ने विषय हामीले ल्याइसकेका छौँ । इथानोल हाम्रै देशमा उत्पादन हुन्छ । बायो फ्युलको प्रयोगमा हामी अगाडि बढिसकेको अवस्था छ । त्यस्तै हाइड्रोजन फ्युल प्रयोगका लागि पनि रिसर्च भइरहेको अवस्था छ । त्यसलाई व्यावसायीकरण गर्नुपर्ने अवस्था छ ।
अहिले विद्युत् प्राधिकरणबाट हामीलाई खासै केही कुरा त आएको छैन । हामीले मिडिया मार्फत अब अब विद्युततिर जानुपर्छ भनिराखेको विषय नै हो ।
यदि स्टेट अफ हर्मुजमा तेल आपूर्ति रोकियो भने नेपालमा कस्तो प्रभाव पर्छ ? लामो समयसम्म युद्ध जारी रह्यो भने त्यसको दीर्घकालीन असर के हुन सक्छ ?
स्टेट अफ हर्मुजमाबाट इन्डियाले पनि थोरै परिमाणमा पेट्रोलियम पदार्थ आयात गर्ने रहेछ । तथापि हामीले क्रुड आयात गरिरहेको अवस्था होइन । फिनिस्ड प्रोडक्ट, पेट्रोल, डिजेल, केरोसिन, हवाई इन्धन र एलपीजी हामीले डाइरेक्ट इन्डियाबाट प्रोसेसिङ गरिसकेपछि ल्याउने गरेका छौँ । वर्ष दिनका लागि हामीलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ इन्डियन आयल कर्पोरेसनसँग सम्झौता गरेर हामीले आयात गरिरहेको अवस्था छ । हरेक पाँच पाँच वर्षमा हामीले सम्झौता पनि गर्ने गरेका छौँ । सोही बमोजिम हामीलाई अहिले उपलब्ध भइरहेको अवस्था हो ।
इन्डियामा भन्दा पनि हामी कम्फर्टेबल पोजिसनमा छौँ भनेर उतातिरका उपभोक्ताहरूले भनिरहेको अवस्था छ । हाम्रो सम्झौता बमोजिम आजका दिनसम्म माग गरे बमोजिम उपलब्ध भइरहेको अवस्था हो । क्रुड डाइरेक्ट ल्याउने नगरेको कारणले द स्ट्रेट अफ होर्मुजमाको इफेक्ट त्यति प्रत्यक्ष रूपमा हामीलाई पर्दैन । भोलि गएर हुन सक्ला इन्डियाले पनि आन्तरिक व्यवस्थापनमा धेरै कठिनाई आउँदै गर्दा केही त्यसको इफेक्ट हामीलाई पर्ने भयो भने पक्कै पनि जानकारी प्राप्त हुनेछ । सोही बमोजिम हामी अगाडि बढ्नेछौँ ।
करिब १ करोड सिलिन्डर भएमा हामीलाई पुग्नेमा हामीसँग करिब ४०–५० लाख सिलिन्डर बढी छन् । जब सानोतिनो समस्या आउँछ वा त्यसको पूर्वसङ्केत हुन्छ, उपभोक्ताहरू सबै सिलिन्डर भरेर बस्न चाहनुहुन्छ । यसकारण समस्या आएको हो ।
अहिले पेट्रोलियम पदार्थको मूल्य यति धेरै आकाशिएर गयो कि अब करिब–करिब पेट्रोलमा ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ बढ्नु भनेको धेरै ठ्ुलो हो र एलपीजीमा २१६ रुपैयाँ बढेको छ । तत्काल यो द्वन्द्व साम्य हुने जस्तो देखिँदैन । अलिकति लम्बिने जस्तो देखिएको कारणले फेरि पनि यसको मूल्य बढ्ने सम्भावना नै देखिन्छ । यसकारण हामी पेट्रोलियम पदार्थको खपतमा थोरै मितव्ययी हुन जरुरी छ । जसले गर्दा भोलि पेट्रोलियम पदार्थ आयात गर्न हामीलाई फण्ड खोज्न अप्ठ्यारो नपरोस् ।
अहिले सबैभन्दा बेटर सोलुसन भनेको सम्भव भएसम्म खपतलाई नै कम गर्ने किसिमले जानुपर्छ । जसले गर्दा हाम्रो घाटा दर कम गर्न सकियोस् । घाटा दर कम गर्ने भनेको खपत कम गर्नु नै हो ।
पेट्रोलियम पदार्थको खपत कसरी कम गर्न सकिएला त?
धेरै उपाय छन् । अन्य मुलुकहरूले पनि यसतर्फ धेरै खालको अभ्यास ल्याइसकेका छन् । जस्तो कलेजहरूलाई अनलाइन गराइदिने, जसले गर्दा बसहरू चल्न कम हुन्छ । स्कुलहरूलाई चार दिनमात्रै खोलिदिने । यो चैत महिनामा सेसन सकिन्छ । अलिकति चाँडै नै परीक्षा लिएर कमसे कम बैशाख १५ सम्म बन्द गरिदिने । त्यसले गर्दा पनि इन्धन खपत कम हुन्छ । अफिसहरूमा पनि राइड सेयरिङ गर्ने, प्रत्येक कर्मचारीले छुट्टै गाडी नचढेर गाडीहरू सेयरिङ गरेर अफिस आउने । हुन सक्छ भोलि गएर अलिकति क्रिटिकल कन्डिसनमा हप्तामा चार दिन, पाँच दिनमात्रै कार्यालय सञ्चालन गरेर दुई–तीन दिन बिदा दिने अवस्था पनि आउन सक्ला । त्यो किसिमले अलिकति व्यवस्थापन गर्नुपर्ने हुन सक्छ ।
हामीसँग कति दिनलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण छ ?

अहिले करिब पेट्रोल १० देखि १२ दिनसम्म र डिजेल करिब १२ देखि १४ दिनसम्मलाई पुग्ने भण्डारण छ । एलपीजीको हकमा त हामीसँग भण्डारण प्रक्रिया छैन । यो निजी क्षेत्रले नै आफ्नो बोटलिङ प्लान्टमा भण्डारण गर्छ । करिब करिब एक हप्तालाई मात्रै पुग्ने भण्डार हामीसँग छ ।
सुरेन्द्र पौडेल कार्यकारी निर्देशक हुँदा आधा सिलिण्डर ग्यास बेच्ने योजना ल्याउनु भएको थियो, त्यो १५ दिनमै किन असफल भयो ? अहिले पनि आधा सिलिण्डर पूर्ण रूपमा कार्यान्वयन गर्न सक्नु भएको छ ?
त्यतिबेला कसरी अब सञ्चालन गरेको थियो भन्ने मलाई यकिन भएन र जानकारी पनि भएन । तथापि अहिलेको सन्दर्भमा भन्नुपर्दा हामीसँग सिलिन्डरको संख्या आवश्यकताभन्दा बढी छन् । किन बढी छन् भन्दा विभिन्न समयमा हामीलाई विपत्ति परेको छ । बाटो बन्द भएको अवस्था छ । कुनै दिन कतै पहिरो गएर चार–पाँच दिन बन्द भएको अवस्था पनि हामीले खेपिरहनु परेको छ । हामीले कोरोनाको टाइममा लकडाउन खेपेको अवस्था छ । उपभोक्ताहरूले यस्ता किसिमका विपत्तिहरूको तितो अनुभवका कारणले जब समस्या पर्छ, अनि सिलिन्डर खरिद गरेर राखेकाले हामीसँग धेरै सिलिन्डर भए ।
करिब १ करोड सिलिन्डर भएमा हामीलाई पुग्नेमा हामीसँग करिब ४०–५० लाख सिलिन्डर बढी छन् । जब सानोतिनो समस्या आउँछ वा त्यसको पूर्वसङ्केत हुन्छ, उपभोक्ताहरू सबै सिलिन्डर भरेर बस्न चाहनुहुन्छ । यसकारण समस्या आएको हो ।
प्रतिक्रिया