कार्की आयाेगकाे प्रतिवेदनबारे गृहमन्त्री भन्छन्, ‘इलेक्ट्रोनिक भर्सन सरकारले पाएको नै छैन’
सारांश
- जेनजी प्रदर्शनबारे जाँचबुझ आयोगको प्रतिवेदन लिक भएको छ।
- आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि सरकारले सार्वजनिक नगर्दै सञ्चारमाध्यममा आएको हो।
- गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आधिकारिक रूपमा सार्वजनिक नगरेको बताए।
काठमाडौँ । गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे पूर्वन्यायाधीश गाैरी बहादुर कार्की नेतृत्वकाे जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन ‘लिक’ भएको छ ।
घटनाबारे करिब ५ महिना छानबिन र जाँचबुझ गरेपछि आयोगका पदाधिकारीहरूले फागुन २४ मा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका थिए ।
सरकारले आधिकारिक रूपमा प्रतिवेदन सार्वजनिक नगरे पनि सञ्चार माध्यममार्फत सो प्रतिवेदन छताछुल्ल भएको छ । जेनजी अगुवाहरूले प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेको तर, सरकारले सार्वजनिक नगर्दै ‘लिक’ भएको बारेमा गृहमन्त्री ओमप्रकाश अर्यालले रातोपाटीसँग भने, ‘सरकारले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन ।’
सञ्चारमाध्यममा ‘लिक’ भएझैँ प्रतिवेदनको आधिकारिताबारे आफूले ‘भन्न नसक्ने’ अर्यालले बताए । उनले भने, ‘हामीले अध्ययन गर्दागर्दै आयो ।’
सार्वजनिक भएको ८९८ पृष्ठ लामो प्रतिवेदनमा आयोगको निष्कर्ष, ठहर र सिफारिस लगायत समग्र बयानका विषय पनि समावेश छन् । मन्त्रिपरिषद्ले प्रतिवेदन अध्ययन गर्ने निर्णय गरेको र सो निर्णय अनुसार अध्ययनकै क्रममा रहेको गृहमन्त्री अर्यालले बताए ।
सञ्चारमाध्यममा सार्वजनिक भएको प्रतिवेदनबारे प्रतिप्रश्न गर्दै अर्यालले भने, ‘इलेक्ट्रोनिक भर्सन आयो हैन ?’ रातोपाटीसँग कुरा गर्दै डिजिटल भर्सन सरकारले नै नपाएको अर्यालले दाबी गरेका छन् ।
उनले भने, ‘इलेक्ट्रोनिक भर्सन त सरकारले पाएको नै छैन । कार्की आयोगले सरकारलाई लिखित प्रतिवेदन मात्रै बुझाएको अर्यालले दाबी गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण