बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सरकार गठनकाे तयारी

रवि र बालेन मन्त्री छान्न छलफलमा, ६ जना महिला सहभागी गराउन सुझाव

बिहीबार, १२ चैत २०८२, २१ : ०९
बिहीबार, १२ चैत २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेता बालेन शाह मन्त्री छनोटको गृहकार्यमा जुटेका छन्।
  • मन्त्रालयको संख्या १८ वा १६ बनाउने विषयमा छलफल भइरहेको छ, र मन्त्री छनोटको जिम्मा सभापति र वरिष्ठ नेतालाई दिइएको छ।
  • महिला नेताहरूले मन्त्रिपरिषद्मा कम्तीमा ६ जना महिलालाई समावेश गर्न र ३३ प्रतिशत महिला प्रतिनिधित्वको लागि सुझाव दिएका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह मन्त्री छनोटमा जुटेका छन् । 

बिहीबार मात्रै वरिष्ठ नेता शाह संसदीय दलको नेता चयन भएका थिए । यससँगै दुई नेताहरू मन्त्री छनोटको गृहकार्यमा जुटेका हुन् । 

बालेनले शुक्रबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । तर, मन्त्रालय र मन्त्रीहरूको टुङ्गो नलाग्दा सभापति लामिछाने र वरिष्ठ नेता शाह सकभर आजै मन्त्री छनोटको टुङ्गोमा पुग्ने गरी आन्तरिक छलफलमा जुटेको एक नेताले बताए । 

ती नेताका अनुसार मन्त्रालयको सङ्ख्या १८ वटा बनाउने कि १६ राख्ने भन्नेमा छलफल जारी छ । को–को मन्त्री बन्ने भन्नेमा पनि छलफल जारी छ । 

‘मन्त्रालयको सङ्ख्या घटाउने र मन्त्री छनोटको जिम्मा सभापति र वरिष्ठ नेतालाई दिइएको छ । अहिलेसम्म टुङ्गोमा पुगिएको छैन । बेलुका अबेरसम्म टुङ्गिएला । अहिले दुई जना नेताहरू छलफलमै हुनुहुन्छ’, रातोपाटीसँग ती नेताले भने । 

दिउँसो संसद् भवन सिंहदरबारमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएपछि रवि र बालेन केन्द्रीय समिति र संसदीय दलको बैठकमा भाग लिन केन्द्रीय कार्यालय वनस्थली पुगेका थिए । 

बैठकमा सभापति रविले बालेनलाई दलको नेता बनाउने प्रस्ताव सर्वसहमतिले अनुमोदन गरेको थियो । बैठकमा रविले नेतृत्वमाथि विश्वास गर्न भनेका थिए । विषय विज्ञता, क्षमता, समावेशीको आधारमा मन्त्री छनोट गरिने उनले आश्वासन दिएका थिए । 

‘मन्त्री छनोटबारे बैठकमा केहि छलफल भएन । बालेनलाई दलको नेता बनाउने सभापतिको प्रस्ताव सर्वसहमतिले पारित भयो’, अर्का एक सदस्यले भने, ‘उहाँले नेतृत्वलाई विश्वास गर्नुहोस् । सबै मिलाएर मन्त्री छनोट गर्छौँ भन्नुभयो ।’

एक हप्तादेखि रवि र बालेन काठमाडौँको एक होटलमा छलफलमा रहे पनि निष्कर्षमा पुगेका छैनन् । केन्द्रीय सदस्य भूपदेव शाहले भोलि प्रधानमन्त्रीसँगै मन्त्रीहरूले पनि शपथ लिने गरी छलफल भइरहेको बताए । 

‘मन्त्रालयको सङ्ख्या घटाउने र मन्त्री छान्नेबारे दुई जनाबिच छलफल जारी छ । रातिसम्म टुङ्गिन्छ होला’, उनले भने ।

यस्तै मन्त्रिपरिषद्‌मा कम्तीमा ६ जना महिलालाई समावेश गर्न महिला नेताहरूले सुझाव दिएका छन् । भूगोल, कार्यक्षमताको आधारमा ३३ प्रतिशत महिला सहभागी गराउन सुझाव दिइएको एक महिला नेताले जानकारी दिइन् । 

सरकारमा ३३ प्रतिशत पुर्‍याउन नसके संसदीय समितिको सभापति आफूहरूलाई दिनुपर्ने माग गरेका छन् । ‘राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला हुनुपर्छ  । अब बन्ने १८ जनाको मन्त्रिपरिषद् कम्तीमा ६ जना महिला सदस्य राख्न सुझाव दिएका छौँ’, ती सदस्यले भनिन् । 

अर्थमा डा. स्वर्णिम वाग्ले निश्चित भए पनि अन्य मन्त्रालयमा टुङ्गो लागेको छैन । रास्वपा स्रोतअनुसार परराष्ट्रमा शिशिर खनाल र स्वास्थ्यमा डा. लेखजंग थापाको सम्भावना छ । 

गृहमन्त्रीमा डिपी अर्याल र सुनिल लम्सालबिच कुरा मिलेको छैन । यस्तै सभामुख र अन्य मन्त्रालयमा आकाङ्क्षी धेरै देखिएकाले भोलि नै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा नेताहरूले शङ्का व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप