नेविसंघ: सम्बन्ध उही, सर्त फेरियो
नेपाली राजनीतिमा विद्यार्थी सङ्गठनहरूलाई ‘भातृ संस्था’ भन्ने चलन दशकौँदेखि चल्दै आएको छ। सुरुमा स्वतन्त्र रूपमा उदाएको यो आन्दोलन पञ्चायतकलामा दलहरूमाथि प्रतिबन्ध लागेपछि बिस्तारै राजनीतिक दलहरूको भातृ संस्थामा परिणत हुन पुग्यो। ‘भातृ संस्था’ भन्ने शब्दले सम्बन्धको एउटा खास चित्र कोर्थ्यो मातृ पार्टीको आज्ञाकारी सन्तान, निर्देशन पाउने र पालना गर्ने संस्था अर्को अर्थमा आफ्नै स्वर नभएको मातृ संस्थाको प्रतिध्वनि । नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेसको सम्बन्ध पनि लामो समयदेखि यही ढाँचामा चल्दै आएको थियो। तर चैत्र ६ गते सम्पन्न नेविसंघको केन्द्रीय सिनेट बैठकले पारित गरेको प्रस्ताव नं. ५ ले यो परम्परागत सोचलाई आमूल रूपमा चुनौती दिएको छ। प्रस्तावमा सम्बन्ध तोडिएको छैन तर सम्बन्धका सर्तहरू भने मौलिक रूपमा फेरिएका छन्।
पछिल्लो समय नेपालमा राजनीतिक दलसँग आबद्ध विद्यार्थी सङ्गठनहरूको भविष्यबारे मुख्यतः तीन वटा भिन्न धारणाहरू सुनिन्छन्। पहिलो धारणा: सबै दलीय विद्यार्थी सङ्गठन विघटन गरिनुपर्छ। दोस्रो धारणा: विद्यार्थी सङ्गठनहरूको ऐतिहासिक योगदान अस्वीकार गर्न मिल्दैन, तर जेनजी आन्दोलनपछिको नयाँ नेपालको माग सम्बोधन गर्न ठोस संरचनात्मक सुधार अपरिहार्य छ।र तेस्रो धारणा: पार्टीसँगको भातृत्वको सम्बन्ध कायमै राख्नुपर्छ, परम्परागत संरचनामा नै काम गर्नुपर्छ भन्ने धाराणा।
नेपाल विद्यार्थी संघ यी तीनै धारणालाई इमानदारीपूर्वक मनन गर्दछ। तर हाम्रो धारणा भने दोस्रो धाराणा सँग मेल खान्छ र त्यो हो “ठोस सुधार, न विघटन, न यथास्थिति”।
जेनजी आन्दोलन: हामीले देख्यौ, सुन्यौँ, बुझ्यौँ, ग्रहण गर्यौँ
जेनजी आन्दोलनलाई केवल सुशासनको माग, भ्रष्टाचारविरुद्धको विद्रोह वा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रतिक्रियाको रूपमा मात्र बुझ्नु अपर्याप्त हुनेछ। त्यो आन्दोलन राजनीतिक दलहरूविरुद्ध पनि थियो र दलसँग आबद्ध विद्यार्थी संगठनहरूविरुद्ध पनि। त्यो आन्दोलन दशकौँदेखि सत्तामा रमाउने, जवाफदेहिताबाट भाग्ने र विद्यार्थीको नाममा आफ्नै स्वार्थ पूरा गर्ने सम्पूर्ण राजनीतिक संस्कृतिविरुद्ध युवाको आक्रोश समेत थियो थियो। तर विद्यार्थी संगठनहरुले केही गरेनन् भन्नु न्यायसङ्गत हुँदैन। निरङ्कुश व्यवस्थाको विरोधमा, शैक्षिक आन्दोलनमा, विद्यार्थीका हक स्थापनामा, लोकतान्त्रिक परिवर्तनमा नेविसंघ लगायतका विद्यार्थी संगठनका हजारौँ नेता कार्यकर्ताहरूले निःस्वार्थ योगदान पुर्याएका छन् र त्यो योगदान तथ्य हो र त्यसलाई इतिहासले स्वीकार गर्छ। तर इमानदारीपूर्वक भन्नुपर्दा विद्यार्थी सङ्गठनले आफ्नो पूर्ण क्षमतामा काम गर्न भने सकेनन् । यस अवस्थाको मुख्य कारण विद्यार्थी नेताहरूको व्यक्तिगत असफलता मात्र नभई, विद्यार्थी सङ्गठनको संरचनागत सीमाहरू र बाधाहरू पनि हुन्। जुन ढाँचाभित्र विद्यार्थी सङ्गठन बाँधिएका छन् , त्यो ढाँचाले नै विद्यार्थी सङ्गठनको उचाइ तोकिदिएको छ। पार्टीको इशाराको प्रतीक्षामा बस्नुपर्ने बाध्यता, शैक्षिक भन्दा बढी राजनीतिक मुद्दामा केन्द्रित, मातृ पार्टीको गुट प्रभाव, नेतृत्व चयनमा मातृ पार्टीको प्रत्यक्ष हस्तक्षेप, तदर्थबाद, अधिवेशन थन्काउने परम्परा लगायत यी सबै संस्थागत बेथितिले विद्यार्थी संगठनलाई त्यो ठाउँमा पुग्नबाट रोके जहाँ पुग्नुपर्थ्यो।
जेनजी आन्दोलनले हामीलाई ऐना देखायो। त्यो ऐनामा हाम्रो अनुहार स्पष्ट देखियो र हामीले आँखा जुधाउने साहस गर्यौँ। यही साहसको परिणाम हो नेविसंघ केन्द्रीय सिनेट बैठकको प्रस्ताव नं. ५
पुरानो सम्बन्धको सर्त: संरचनाकै सीमा
नेपाल विद्यार्थी संघ नेपाली काँग्रेसको सन्तान हो तर आज त्यो सन्तानको हविगत के छ बुझ्नु पर्दैन ? अभिभावकहरू घर झगडामा रमाउँदा त्यो सन्तानको अवस्था के छ सोध्नु पर्दैन ? आफू असल अभिभावकको भूमिका निर्वाह गर्न नसक्ने अनि जब सन्तान आफ्नै खुट्टामा उभिन चाहन्छ, परिपक्व भइसके भन्छ तब मात्रै करुणा देखाउनु कसको कमजोरी हो ? सन्तान कि अभिभावक रु खैर, भातृत्वमा आधारित सम्बद्धताको व्यावहारिक अर्थ थियो पार्टीको प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप सङ्गठनको रगरगसम्म। नेतृत्व चयनमा पार्टीका शीर्ष नेताहरूको निर्णायक भूमिका हुन्थ्यो। अधिवेशन हुने वा नहुने भन्ने कुरा विद्यार्थी सङ्गठनको आन्तरिक तयारीमा होइन, पार्टीभित्रको गुटगत शक्ति सन्तुलनमा निर्भर थियो। विद्यार्थीका माग र मुद्दाहरू पार्टीको तत्कालीन राजनीतिक स्वार्थसँग मिल्दो भए मात्र अगाडि बढाइन् थे।
यस्तो संरचनाभित्र जुनसुकै सक्षम वा इमानदार नेतृत्व भए पनि आवाज विहीनहरूको आवाज बन्न कठिन थियो। क्याम्पसमा शुल्क बढ्दा, अनियमितता हुँदा, छात्रवृत्ति माग गर्दा, छात्रावासको अभाव हुँदा, परीक्षा प्रणाली दोषपूर्ण हुँदा सङ्गठनले आवाज उठाउन पार्टीको इशाराको प्रतीक्षा गर्नुपर्थ्यो। अझ कहिलेकाहीँ त पार्टी सरकारमा हुँदा विद्यार्थीका जायज माग पनि दबाउनुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना हुन्थ्यो। यसरी भातृत्वको नाममा विद्यार्थी आन्दोलनको स्वाभाविक ऊर्जा र नैतिक बल क्रमशः क्षय हुँदै गएको थियो कारण व्यक्तिको कमजोरीले होइन, संरचनाको सीमाले।
भदौ २३ र २४ गते विद्यार्थी सङ्गठन कहाँ थियो ? न्यायसङ्गत प्रश्न, तर गलत अपेक्षा
‘भदौ २३ गते विद्यार्थीको हत्या हुँदा विद्यार्थी सङ्गठन कहाँ थिए ? भन्ने प्रश्नले मलाई धेरै रात निदाउन दिएन। यो केवल एउटा घटना संग जोडिएको प्रश्न होइन, यो विद्यार्थी सङ्गठनको भूमिका, स्वायत्तता र अस्तित्वमाथि उठेको प्रश्न हो। जब विद्यार्थी मारिन्छ, क्याम्पसमा अन्याय हुन्छ, शुल्क बढ्छ, छात्रावास हुँदैन र विद्यार्थी सङ्गठन स्वतन्त्र रूपमा बोल्न सक्दैन भने, त्यस्तो सङ्गठनको अस्तित्वको अर्थ के रहन्छ ? यही प्रश्नले विद्यार्थी सङ्गठनको संरचना र दल सँगको सम्बद्धताका सम्बन्ध पुनर्विचार गर्नुपर्ने आवश्यकता झन् स्पष्ट बनायो ।’
यो पीडा हाम्रो थियो। यो प्रश्न हाम्रो थियो। र यही प्रश्नको जवाफ खोज्ने प्रयास नै नेविसंघले गरेको कार्यगत स्वायत्तताको निर्णय हो र यस ऐतिहासिक निर्णयको आत्मा जेनजी आन्दोलनको भावना र मर्म हो।
पार्टी कार्यालय जल्दा, पार्टी सभापति दम्पतीमाथि साङ्घातिक आक्रमण हुँदा, पार्टीका उपसभापति, महामन्त्रीहरू तथा शीर्ष नेताहरूका घरमा तोडफोड, लुटपाट र आगजनी हुँदा विद्यार्थी सङ्गठन कहाँ थियो भन्ने प्रश्न बारम्बार उठाइन्छ। यो प्रश्न भावनात्मक दृष्टिकोणले बुझ्न सकिन्छ संकटको घडीमा आफ्नै मान्छे नदेख्दा पीडा हुनु स्वाभाविक हो।
तर यो प्रश्नभित्रै एउटा पुरानो र पुनर्विचार गर्नुपर्ने मान्यता लुकेको छ विद्यार्थी सङ्गठन पार्टीको सुरक्षा दस्ता हो भन्ने। त्यो मान्यता नै भातृत्वको ढाँचाले वर्षौँदेखि सिर्जना गरेको भ्रम थियो।
अब यो प्रश्नको जवाफ स्पष्ट छ विद्यार्थी सङ्गठन पार्टीको सुरक्षा दस्ता होइन, विद्यार्थी अधिकार र विद्यार्थी आन्दोलनको प्रतिनिधि संस्था हो। विद्यार्थी सङ्गठनको भूमिका विद्यार्थी, शिक्षा, विश्वविद्यालय, युवाको भविष्य र लोकतान्त्रिक आन्दोलनसँग सम्बन्धित हुन्छ। कुनै नेताको घर वा पार्टी कार्यालयको सुरक्षा गर्ने जिम्मेवारी विद्यार्थी सङ्गठनको हुँदैन र हुनु पनि हुँदैन। साझेदार भनेको अङ्गरक्षक होइन।
मायाको डोर र परिवर्तनको साहस
एउटा कुरा इमानदारीपूर्वक स्वीकार गर्नै पर्छ पार्टीसँगको हाम्रो सम्बन्ध केवल संगठनात्मक होइन, यो गहिरो भावनात्मक बन्धन हो।बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण समशेर, कृष्णप्रसाद भट्टराईजस्ता संस्थापक नेताहरूको अभिभावकत्व र हाम्रा सहिदहरूले विद्यार्थी आन्दोलनलाई जुन उचाइमा पुर्याए, त्यो विरासत हाम्रो गर्वको स्रोत हो। लोकतन्त्रका लागि जेल गए, निर्वासनमा बसे, ज्यान जोखिममा राखे, कतिले ज्यान गुमाए पनि ती सबै नेताहरूले विद्यार्थी र पार्टीबिचको सम्बन्धलाई एउटा पवित्र बन्धनको रूपमा स्थापित गरे। ती नेताहरूप्रतिको हाम्रो श्रद्धा र अटल प्रेम छ र सधैँ रहनेछ। तर श्रद्धा भनेको यथास्थितिमा रमाउनु होइन। गर्व भनेको परिवर्तनबाट डराउनु पनि होइन होइन।
संस्थापकहरूले निरङ्कुश राणा, पञ्चायत र राजतन्त्रविरुद्ध उभिने साहस देखाए गलत परम्परा तोड्ने साहस देखाए। हामीले पनि आजको समयमा त्यही साहस खोज्नुपर्छ। हाम्रा मूल्यहरू पुनर्परिभाषित गर्ने साहस, पुरानो संरचना बदल्ने साहस, र विद्यार्थीको साँचो प्रतिनिधि बन्ने साहस।
नयाँ सर्त : साझेदारी, अधीनता होइन
नेविसंघ सिनेट बैठकले प्रस्ताव गरेको ‘कार्यगत स्वायत्ततासहित साझेदारी संस्था’ को अवधारणाले एउटा महत्त्वपूर्ण वैचारिक स्पष्टता दिएको छ साझेदारी भनेको सम्बन्ध तोड्नु होइन, सम्बन्धका सर्तहरू पुनर्लेखन गर्नु हो।
नेविसंघ नेपाली कांग्रेसको मार्गदर्शन, सिद्धान्त र वैचारिक आधारमा सहकार्य गर्न तयार छ तर नेतृत्व चयन, सङ्गठनको दैनिक गतिविधि र विद्यार्थी आन्दोलनका एजेन्डा निर्धारणमा पार्टीको प्रत्यक्ष हस्तक्षेप स्वीकार्य छैन भन्ने यो प्रस्तावको मर्म हो। यो भेद सानो देखिए पनि व्यवहारमा अत्यन्त गहन छ।
मार्गदर्शन लिनु र आदेश पालना गर्नु एउटै होइन। वैचारिक निकटता हुनु र संगठनात्मक अधीनता हुनु एउटै होइन। साझेदारी भनेको दुई बराबर पक्षबिचको सम्बन्ध हो जहाँ एउटाले अर्कोलाई निर्देशित गर्दैन, बरु दुवैले साझा उद्देश्यका लागि आ(आफ्नो स्वतन्त्र भूमिका निर्वाह गर्छन्।
सर्त फेरिएका तीन ठोस प्रमाणहरू
पहिलो स्वचालित अधिवेशनस् पुरानो सर्तअन्तर्गत अधिवेशन पार्टीको इच्छामा थियो नयाँ सर्तअन्तर्गत अधिवेशन संस्थागत प्रणालीमा निर्भर हुनेछ। स्थायी, निष्पक्ष र स्वतन्त्र केन्द्रीय निर्वाचन समितिले तोकिएकै समयमा अधिवेशन सञ्चालन गर्ने व्यवस्थाले वर्षौँदेखि दोहोरिँदै आएको संकटको संरचनागत समाधान दिन्छ व्यक्तिको इच्छाशक्तिमा होइन, संस्थागत व्यवस्थामा भर पर्ने सङ्गठन निर्माण गर्ने लक्ष्यसहित।
दोस्रो संरक्षक, नियन्त्रक होइनस् प्रस्तावले नेपाली कांग्रेसका पार्टी सभापतिलाई ूमानार्थ संरक्षकू ९ज्यलयचबचथ एबतचयल० को भूमिकामा राख्छ केन्द्रीय समिति निर्माण, अध्यक्ष चयन, पदाधिकारी नियुक्ति वा कार्यसमिति विस्तारमा प्रत्यक्ष संलग्नता नहुने गरी। यो शब्दको फेरबदल होइन यो भूमिकाको पुनर्परिभाषा हो।
तेस्रो आवाज कक्षा कोठा वा सडकमा मात्र होइन, संसद्मा पनिस् प्रस्तावले नेपाली कांग्रेसको महाधिवेशन र महासमितिमा विद्यार्थी प्रतिनिधिको सङ्ख्यामा उल्लेख्य वृद्धि र सङ्घीय संसद्मा विद्यार्थी प्रतिनिधिको आरक्षित क्लस्टर सुनिश्चित गर्ने व्यवस्था गरेको छ। पुरानो सर्तमा विद्यार्थीको आवाज सडकमा सीमित थियो नयाँ सर्तमा त्यो आवाज नीति निर्माणको केन्द्रसम्म पुग्नेछ।
नेविसंघ एलुम्नाई: अनुभवको संस्थागत सदुपयोग
प्रस्तावले नेविसंघ एलुम्नाईको अवधारणा अगाडि ल्याएको छ संघका भूतपूर्व अध्यक्ष, पदाधिकारी र सदस्यहरूको सम्मिलित सल्लाहकार निकायको रूपमा। विद्यार्थी राजनीतिमा सधैँ अनुभव र निरन्तरताको अभाव रहँदै आएको थियो। हरेक पटक नयाँ नेतृत्व आउँदा पुरानो अनुभव र संस्थागत स्मृति हराउँथ्यो। एलुम्नाईले यो अभावलाई संस्थागत रूपमा पूर्ति गर्न सक्छ। अग्रजहरूको अनुभव र मार्गदर्शनका माध्यमबाट संगठनलाई बलियो बनाउँदै लैजानेछ ।
निष्कर्ष : सर्त साँच्चै फेरियो अब कार्यान्वयनको परीक्षा
नेपाल विद्यार्थी संघको यो निर्णय साहसिक छ। भातृत्व र मातृत्वका रूपकहरू आफैँमा गलत थिएनन् तर ती रूपकहरूले जन्माएको संरचना र संस्कृतिले हामीलाई हाम्रो पूर्ण क्षमतामा काम गर्नबाट रोकिरहेको थियो।
साझेदारीको भाषाले फरक मूल्य बोक्छ बराबरी, स्वायत्तता र पारस्परिक सम्मान। सम्बन्ध उही छ नेविसंघ नेपाली कांग्रेससँग जोडिएकै छ, वैचारिक निकटता कायमै छ। तर सम्बन्धका सर्तहरू फेरिएका छन् अधीनताबाट साझेदारीमा, संरचनागत बाधाबाट कार्यगत स्वायत्ततामा र नियन्त्रणबाट सहकार्यमा।
लेखक सुरज सेजुवाल नेपाल विद्यार्थी संघका प्रवक्ता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण