पहिलो उपाधिको खोजीमा रहेको पञ्जाब र गुजरातबिच भिडन्त, दुवै टोलीका ओपनरहरूमाथि नजर
सारांश
- IPL मा पञ्जाब किंग्स र गुजरात टाइटन्सबीचको खेल न्यू चण्डीगढमा हुँदैछ।
- गुजरात टाइटन्सले सन् २०२२ मा उपाधि जितेको थियो भने पञ्जाब किंग्सले अझै पहिलो उपाधि जित्न बाँकी छ।
- लोकी फर्गुसनले केही खेल गुमाउनेछन् भने दुवै टिमका ओपनरहरूले खेलमा महत्वपूर्ण भूमिका खेल्ने सम्भावना छ।
चण्डीगढ । इन्डियन प्रिमिमयर लिग(आईपीएल) को चौथो खेल आज पञ्जाब किंग्स र गुजरात टाइटन्सबिच हुँदैछ। यो खेल न्यू चण्डीगढको महाराजा यादवेन्द्र सिंह स्टेडियममा बेलुका ७:४५ बजे सुरु हुनेछ ।
गुजरात टाइटन्सको यो पाँचौँ सिजन हुनेछ। टोलीले सन् २०२२ मा आफ्नो डेब्यू सिजनमै उपाधि जितेको थियो भने अघिल्लो सिजन टोली चौथो स्थानमा रहेको थियो।
अर्कोतर्फ, पञ्जाब किंग्सलाई अझै पनि आफ्नो पहिलो उपाधिको पर्खाइ छ। अघिल्लो सिजन पञ्जाब उपविजेता बनेको थियो।
दुई टोलीबिच सातौँ भिडन्त
आईपीएलमा पञ्जाब र गुजरातबिच हालसम्म ६ वटा खेल भएका छन्, जसमा दुवै टोलीले ३-३ खेल जितेका छन्। आईपीएल २०२५ को भिडन्तमा पञ्जाबले गुजरातलाई ११ रनले हराएको थियो। न्यू चण्डीगढमा यी दुई टोली एकपटक भिडेका थिए, जसमा गुजरातले पञ्जाबलाई ३ विकेटले पराजित गरेको थियो।
टिम अपडेट: फर्गुसनले केही खेल गुमाउन सक्ने
न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन पितृत्व बिदाका कारण सुरुवाती केही खेल खेल्न सक्ने छैनन्। उनको स्थानमा टोलीले जेभियर बार्टलेट वा बेन ड्वारशसलाई सुरुवाती खेलमा मौका दिन सक्छ।

यस सिजन पनि पञ्जाबको टोली बलियो
पञ्जाबको टोली यस सिजन पनि निकै बलियो देखिएको छ। टप अर्डरमा प्रियांश आर्या र प्रभसिमरन सिंहको ओपनिङ जोडीबाट टोलीले फेरि एकपटक राम्रो प्रदर्शनको अपेक्षा गरेको छ। तेस्रो नम्बरमा कप्तान श्रेयस अय्यर आउनेछन्।
मिडल अर्डरमा नेहल वढेरा र शशाङ्क सिंह हुनेछन्। मार्कस स्टोइनिस, मार्को यानसन र अजमतुल्लाह ओमरजईले ब्याट र बल दुवैबाट महत्त्वपूर्ण योगदान दिनेछन्।
गुजरातका लागि बटलरको फर्म चिन्ताको विषय
गुजरात टाइटन्सलाई यस सिजन पनि साई सुदर्शन र कप्तान शुभमन गिलको ब्याटबाट उत्कृष्ट प्रदर्शनको आश छ। यद्यपि, जोस बटलरको खस्कँदो फर्म टोलीका लागि चिन्ताको विषय हो। ग्लेन फिलिप्स राम्रो लयमा छन्। अलराउन्डरमा वासिंटन सुन्दर, जेसन होल्डर र राहुल तेवतिया जस्ता ठुला नाम समावेश छन्।

कागिसो रबाडा, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, इशान्त शर्मा र ल्युक वुडको उपस्थितिमा टोलीको पेस अट्याक दमदार देखिन्छ। त्यस्तै, स्पिन विभागको जिम्मेवारी रासिद खानको हातमा हुनेछ, जसलाई साई किशोर र सुन्दरले साथ दिनेछन्।
मुख्य आकर्षण: दुवै टोलीको टप अर्डर
गिल र साई सुदर्शनले आईपीएल २०२५ मा ९१२ रनको साझेदारी गरेका थिए। उनीहरू एउटै सिजनमा ९०० वा सोभन्दा बढी रनको साझेदारी गर्ने तेस्रो जोडी बनेका थिए। गिलले ६५० रन बनाएका थिए भने साई सुदर्शनले ७५९ रनका साथ ओरेन्ज क्याप जितेका थिए।
दुवै ब्याट्सम्यानले १५५ भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका थिए र गुजरातलाई प्लेअफसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। गुजरातसँग अझै पनि भरपर्दो मिडल अर्डर ब्याट्सम्यान नभएको र जोस बटलर खराब लयमा रहेकाले टोली फेरि पनि आफ्ना ओपनरहरूमाथि नै निर्भर हुन सक्छ।
अर्कोतर्फ, गिल र सुदर्शनको जोडी जत्तिकै धेरै रन नबनाए पनि प्रभसिमरन सिंह र प्रियांश आर्याले पञ्जाबलाई आईपीएल फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनीहरूको ५३२ रनको साझेदारी राष्ट्रिय टोलीमा नपरेका ओपनिङ जोडीले एकै सिजनमा बनाएको सर्वाधिक रन थियो। दुवै ब्याट्सम्यानले १६० भन्दा बढीको स्ट्राइक रेटमा ४५० भन्दा बढी रन बनाएका थिए।
आफ्नो पछाडि बलियो मिडल अर्डर छ भन्ने थाहा पाएका उनीहरूलाई सुरुदेखि नै आक्रामक खेल्ने स्वतन्त्रता छ। आईपीएल २०२५ का १७ खेलमध्ये १५ वटामा प्रभसिमरन र आर्यामध्ये एकले ४० रनको आँकडा पार गरेका थिए र पञ्जाबले ११ खेल जितेको थियो।
दुवै टोलीका ओपनरहरूको खेल्ने शैली आ-आफ्नो टोलीको संरचनाअनुसार फरक छ, तर दुवै निकै प्रभावकारी साबित भएका छन् र मंगलबारको खेलको नतिजा तय गर्न उनीहरूले ठुलो भूमिका खेल्न सक्छन्।

पिच रिपोर्ट : स्ट्रोक खेल्न सजिलो
महाराजा यादवेन्द्र सिंह स्टेडियमको पिचलाई सामान्यतया सन्तुलित मानिन्छ, जहाँ ब्याट्सम्यान र बलर दुवैलाई मद्दत मिल्छ। सुरुमा नयाँ बलले तीव्र गतिका बलरहरूलाई हल्का स्विङ र बाउन्स मिल्न सक्छ। खेल अघि बढ्दै जाँदा पिच ब्याटिङका लागि अझ राम्रो हुँदै जान्छ र स्ट्रोक खेल्न सजिलो हुन्छ।
यहाँ हालसम्म ११ आईपीएल खेल खेलिएका छन्। पहिले ब्याटिङ गर्ने टोलीले ६ वटा र पछि ब्याटिङ गर्ने टोलीले ५ वटा खेल जितेका छन्। यहाँको उच्च टिम स्कोर २२८/५ हो, जुन मुम्बई इन्डियन्सले २०२५ मा गुजरात टाइटन्सविरुद्ध बनाएको थियो।
मुल्लापुरमा वर्षाको सम्भावना
मंगलबार मुल्लापुरमा वर्षा हुने सम्भावना छ। मौसम विभागले यहाँ २५ प्रतिशत वर्षाको सम्भावना रहेको जनाएको छ। तापक्रम १८ देखि ३४ डिग्री सेल्सियसको बिचमा रहने अनुमान छ।
दुवै टोलीको सम्भावित प्लेइङ-१२
• पञ्जाब किंग्स: प्रभसिमरन सिंह (विकेटकिपर), प्रियांश आर्या, श्रेयस अय्यर (कप्तान), मिचेल ओवेन, शशाङ्क सिंह, नेहल वाढेरा, मार्कस स्टोइनिस, मार्को यानसन, हरप्रीत बरार, अर्शदीप सिंह, युजवेन्द्र चहल र बेन ड्वारशस।
• गुजरात टाइटन्स: शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर (विकेटकिपर), वासिङ्टन सुन्दर, ग्लेन फिलिप्स, शाहरुख खान, राहुल तेवतिया, रासिद खान, साई किशोर, कगिसो रबाडा, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा।

कसले के भने ?
‘गत वर्ष हाम्रो क्रिकेटको स्तर अंक तालिकाको शीर्ष स्थानमा रहन पर्याप्त थियो, तर नयाँ सिजनमा प्रवेश गर्दै गर्दा त्यसको कुनै अर्थ हुँदैन। मैले गत वर्ष हामीले बनाएको टोली फरक रहेको र निडर शैलीको क्रिकेट खेल्ने कुरा धेरै गरेको थिएँ, अब हामीले त्यो सबै फेरि शून्यबाट सुरु गर्नुपर्छ।’
— रिकी पोन्टिङ, पञ्जाब किंग्सका मुख्य प्रशिक्षक
‘मैले मेरो समयमा देखेका क्रिकेटरहरूमध्ये रिकी पोन्टिङ सबैभन्दा बढी मेहनत गर्ने खेलाडी थिए। तर आधुनिक क्रिकेटरहरूको तयारीको स्तर हेर्दा, साई सुदर्शन पोन्टिङभन्दा दुई गुणा बढी मेहनत गर्छन् जस्तो लाग्छ।’
— म्याथ्यू हेडन, गुजरात टाइटन्सका ब्याटिङ प्रशिक्षक
तथ्याङ्क र रोचक जानकारी
- श्रेयस अय्यरले २०२५ मा पञ्जाबका लागि उत्कृष्ट वर्ष बिताएका हुन सक्छन्, तर न्यू चण्डीगढमा उनको रेकर्ड निकै खराब छ। त्यहाँ खेलेका पाँच खेलमा उनले १०० को स्ट्राइक रेटमा मात्र २७ रन बनाएका छन् भने उनको उच्च स्कोर १० रहेको छ।
- आईपीएल २०२५ मा, प्रभसिमरनले पाँच इनिङ्समा देब्रेहाते स्पिनरको सामना गर्दा १०४ को स्ट्राइक रेटमा रन बनाउँदै तीन पटक आउट भएका थिए।
- पञ्जाबका लेगस्पिनर युजवेन्द्र चहलबिरुद्ध गुजरातका ओपनरहरूको रेकर्ड विल्कुल फरक छ। गिलले चहलबिरुद्ध १२२ को स्ट्राइक रेटमा मात्र रन बनाएका छन् र उनीबाट तीन पटक आउट भइसकेका छन्। तर, साई सुदर्शनले चहलबिरुद्ध बिना कुनै आउट १७ बलमा ४० रन प्रहार गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026