शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उण्डाभ चम्किँदा जर्मनीद्वारा घाना पराजित

मङ्गलबार, १७ चैत २०८२, ०७ : १२
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • जर्मनीले मैत्रीपूर्ण फुटबल खेलमा घानालाई पराजित गर्दै दोस्रो जित दर्ता गर्यो।
  • डेनिज उण्डाभले ८८ औं मिनेटमा निर्णायक गोल गरेपछि जर्मनीले जित हासिल गर्यो।
  • खेलमा काइ हाभर्ट्जले पेनाल्टीमा गोल गरे भने अब्दुल फतावुले घानाका लागि गोल गरे।

स्टुटगार्ट । जर्मनीले मैत्रीपूर्ण फुटबल खेलमा घानालाई रोमाञ्चक ढङ्गले पन्छाउँदै लगातार दोस्रो जित दर्ता गरेको छ। स्टुटगार्टमा भएको प्रतिस्पर्धामा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फरवार्ड डेनिज उण्डाभले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि जर्मनीले घानामाथि कठिन जित निकालेको हो।

प्रशिक्षक जुलियन नागेल्सम्यानले दोस्रो हाफमा मैदान पठाएका तीन खेलाडीमध्ये एक उण्डाभले ८८ औँ मिनेटमा लेरोय सानेको पासलाई सदुपयोग गर्दै घानाका गोलरक्षक बेन्जामिन असारेलाई जिल्याएका थिए। यस सिजन बुन्डेसलिगामा ह्यारी केनपछि सर्वाधिक १८ गोल गरिसकेका स्टुटगार्टका यी फरवार्ड सन् २०२५ जुनपछि पहिलो पटक राष्ट्रिय टोलीबाट मैदान उत्रिएका हुन्।

खेलको सुरुवातदेखि नै आक्रामक बनेको जर्मनीले छैटौँ मिनेटमै अग्रता लिने अवसर पाएको थियो, तर फ्लोरियन विर्ट्जको फ्रिकिक पोलमा ठोकिएर फर्कियो। सन् २०२५ को अफ्रिका कप अफ नेसन्समा छनोट हुन असफल घानालाई दबाबमा राखे पनि जर्मनीले पहिलो गोलका लागि पहिलो हाफको अन्तिम सेकेन्डसम्म कुर्नुपरेको थियो।

एन्जेलो स्टिलरको क्रस जोनास अजेतेको हातमा लागेपछि अंग्रेजी रेफ्री स्टुअर्ट एट्टवेलले जर्मनीलाई पेनाल्टी दिएका थिए। उक्त अवसरलाई काइ हाभर्ट्जले खेर जान दिएनन् र गोलरक्षकलाई गलत दिशामा पठाउँदै जर्मनीलाई सुरुवाती अग्रता दिलाए।

दोस्रो हाफको सुरुवातमै निक वोल्टेमेडको हेडर क्रसबारमा लागेपछि जर्मनीले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो। यसै बिच खेलको ७० औँ मिनेटमा लेस्टर सिटीका विङ्गर अब्दुल फतावुले गोल गर्दै घानालाई खेलमा फर्काएका थिए। तर, खेल सकिन दुई मिनेट बाँकी छँदा उण्डाभले गरेको गोल नै जर्मनीको जितमा निर्णायक बन्यो।

गत शुक्रबार स्विट्जरल्याण्डलाई ४–३ ले हराएको जर्मनीले यो जितसँगै आफ्नो लयलाई कायम राखेको छ भने अस्ट्रियासँग ५–१ को लज्जास्पद हार व्यहोरेको घानाका लागि यो हारले थप निराशा थपिदिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप