कम्बोडियाका 'स्क्यामिङ सेन्टर'बाट १२ नेपालीको उद्धार
सारांश
- कम्बोडियामा अनलाइन ठगीमा परेका १२ जना नेपालीको उद्धार गरिएको छ।
- उनीहरूलाई गैरकानुनी काममा लगाइएको र भिसा अवधि सकिएर अलपत्र परेका थिए।
- दूतावासले अन्य नेपालीको उद्धारका लागि पहल गरिरहेको छ र भ्रमण भिसामा नजान आग्रह गरेको छ।
काठमाडौं । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अनलाइन ठगी (स्क्यामिङ) केन्द्र र क्यासिनोमा फसेका १२ जना नेपालीको उद्धार गरिएको छ।
बैंककस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूको उद्धार गरी स्वदेश फर्काइएको हो।
दूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो र अन्य गैरकानुनी काममा लगाइएको थियो।
बिना भिसा (ओभरस्टे) बसिरहेका ती नेपालीहरू चैत १६ गते कम्बोडियाबाट उडेर सोमबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। दूतावासले अलपत्र परेका अन्य नेपालीहरूको समेत उद्धारको पहल भइरहेको जनाएको छ।
दूतावासका अनुसार कम्बोडियामा अझै पनि थुप्रै नेपालीहरू गैरकानुनी काममा लगाइएको र भिसा अवधि सकिएर अलपत्र परेको जानकारी प्राप्त भएको छ।
स्क्यामिङ सेन्टरहरूले नेपाली कामदारको राहदानी (पासपोर्ट) जफत गरिदिने वा ट्रान्सफर हुँदा राहदानी हराउने गरेको व्यापक गुनासो आएको दूतावासले जनाएको छ।
यस्तो अवस्थामा स्वदेश फर्किन चाहने नेपालीलाई दूतावासले बिना शुल्क 'एकतर्फी यात्रा अनुमतिपत्र' (ट्राभल डकुमेन्ट) जारी गरिदिने व्यवस्था मिलाएको छ।
पछिल्लो समय भ्रमण (भिजिट) भिसामा कम्बोडिया जाने नेपालीको संख्या अस्वाभाविक रूपमा बढेको तथ्यांकले देखाएको छ। कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार सन् २०२१ मा जम्मा १०१ जना नेपाली त्यहाँ पुगेकोमा सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४ र सन् २०२५ मा ९,६७६ जना नेपाली कम्बोडिया पुगेका छन्।
यसरी भ्रमणको बहानामा गएका अधिकांश नेपाली अवैध रोजगारी र ठगी गिरोहको फन्दामा पर्ने गरेका छन्। छिटो र धेरै पैसा कमाउने लोभमा परेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड लगायतका मुलुकमा भ्रमण भिसामा रोजगारीका लागि नजान दूतावासले आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण