बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चितवनमा वर्ड फ्लुः २ फार्मका १८ हजार कुखुरा र ५५ हजार अण्डा नष्ट

मङ्गलबार, १७ चैत २०८२, १५ : ४४
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • चितवनको भरतपुरमा वर्ड फ्लु संक्रमण पुष्टि भएपछि ठूलो संख्यामा पन्छी र पन्छीजन्य पदार्थ नष्ट गरिएको छ।
  • बागमती प्रदेश सरकारले छिमेकी जिल्लाहरूमा रोग फैलन सक्ने जोखिम औंल्याउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
  • वर्ड फ्लुबाट प्रभावित कृषकलाई राहत दिने मापदण्ड अनुसार क्षतिपूर्ति दिइनेछ, र नियन्त्रणमा खटिएका कर्मचारीलाई विशेष सुविधाको व्यवस्था गरिएको छ।

हेटौँडा । चितवनमा वर्ड फ्लु संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर महानगरपालिका–४ मा वर्ड फ्लुको सङ्क्रमण देखिएपछि ठुलो संख्यामा पन्छी र पन्छीजन्य पदार्थहरू नष्ट गरिएको छ ।

पशु सेवा कार्यालय चितवनका अनुसार चैत १५ गते शुक्रबार भरतपुर–४ स्थित २ वटा पोल्ट्री फार्महरूमा रहेका पन्छी, अण्डा र दाना नष्ट गरिएको हो । ‘बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८’ बमोजिम रोग नियन्त्रणका लागि कुखुरा, अण्डा तथा दाना नष्ट गरिएको हो । दुवै फार्मबाट गरी कुल १८ हजार ८६३ वटा पन्छी र ५५ हजार ४४० वटा अण्डा नष्ट गरिएको छ ।

राजु आचार्यले सञ्चालक गरेको आरएन कृषि फर्मबाट ३.५ महिनाका ९१३ वटा लोकल कुखुरा र १ हजार ३०० किलो दाना नष्ट गरिएको हो भने बलिभद्र कँडेलले सञ्चालन गरेको कँडेल पोल्ट्री फर्मबाट ५ महिनाका ५ हजार वटा र १५ महिनाका १२ हजार ९५० वटा गरी कुल १७ हजार ९५० वटा लेयर्स कुखुरा नष्ट गरिएको छ । उक्त फर्मबाट ५५ हजार ४४० वटा अण्डा, २ हजार ४०० किलो दाना, ९ हजार किलो मकै र ३५० किलो सोयविनसमेत नष्ट गरिएको छ ।

उच्च सतर्कता अपनाउन मन्त्रालयको निर्देशन

चितवनको भरतपुरमा वर्ड फ्लु सङ्क्रमण पुष्टि भएपछि बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप सतर्कता बनाउन निर्देशन गरेको छ ।  मन्त्रालयका उपसचिव सुशील केसीले चितवनसहित छिमेकी जिल्लाहरूमा रोग फैलन सक्ने जोखिम रहेको भन्दै जनचेतना र नियन्त्रणका कार्यहरू तीव्र पारिएको जानकारी दिए ।

उपसचिव केसीका अनुसार, सङ्क्रमण देखिएका क्षेत्रमा पन्छी नष्ट गर्ने कार्यका लागि आवश्यक बजेट संघीय सरकारबाट प्राप्त भई सम्बन्धित जिल्लाहरूमा पठाइसकिएको छ । हाललाई पन्छी नष्ट गर्ने कार्यमा खटिने कर्मचारी र अन्य व्यवस्थापकीय खर्चका लागि जिल्लास्तरमै बजेटको व्यवस्था गरिएको र अपुग भएमा मन्त्रालयले थप व्यवस्था गर्ने उनले बताए । रोग नियन्त्रणका क्रममा मारिएका पन्छीहरूको क्षतिपूर्ति रकम संघीय सरकारले उपलब्ध गराउने गरी विवरण तयार गरिरहेको उनले बताए ।

‘हामीले जिल्लाहरूलाई आउटब्रेक अन्य क्षेत्रमा पनि फैलिन सक्ने भएकाले उच्च सतर्कता अपनाउन र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिएका छौँ ।’ उनले भने, ‘हाल सङ्क्रमण देखिएको क्षेत्र नियन्त्रणमा लिएर अन्य क्षेत्रमा फैलन रोक्ने प्रयास गरिएको छ । जिल्लाबाट सङ्क्रमण नयन्त्रणका लागि जनशक्ति र बजेट परिचालनको काम भइसकेको छ ।’

सङ्क्रमित क्षेत्रबाट पन्छीजन्य पदार्थको ढुवानीमा रोक लगाउन मन्त्रालयले जिल्लाहरूलाई समन्वय गर्न निर्देशन दिएको उनले बताए । उपसचिव केसीका अनुसार, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने ‘वर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समिति’ ले ढुवानी रोक्ने लगायतका निर्णय समेत गर्न सक्ने अधिकार रहेको उनले बताए । हाल प्रदेशमा चितवन, मकवानपुर र काठमाडौँ वर्ड फ्लुको उच्च जोखिममा रहेकाले उक्त क्षेत्रमा निगरानी बढाउन मन्त्रालयले सम्बनधीत कार्यालयहरूलाई सूचित गरेको उनले बताए । संवावित क्षेहरूबाट नमुना संकलन गरी परिक्षण गर्न तथा पन्छी ढुवानीमा समेत निगरानी बढाउन भनिएको उनले बताए ।

‘जहाँ आउटब्रेक भएको छ, त्यहाँबाट पन्छीजन्य पदार्थ बाहिर पठाउन पूर्ण रोक लगाउन हामीले भनेका छौँ ।’ उनले भने, ‘सम्भावित क्षेत्रहरू पहिचान गरेर नमुना परीक्षणका लागि पनि भनेका छौँ । परीक्षणका लागि काठमाडौँस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट मात्रै रोगको अन्तिम पुष्टि हुने भएकाले शंकास्पद क्षेत्रबाट नमुना संकलन गरी परीक्षणका लागि पठाउने काम अघि बढाइएको छ ।’

उनका अनुसार प्रदेश प्रवेशका नाकाहरूमा रहेका क्वारेन्टाइन कार्यालयहरू संघीय सरकार मातहत भए पनि प्रदेशका पशु सेवा कार्यालयहरूले पशु स्वास्थ्य तथा पशु सेवा ऐनबमोजिम स्थानीय स्तरमा निगरानी र नियन्त्रणका कार्यहरू गरिरहेको छ । मन्त्रालयले किसानहरूलाई जैविक सुरक्षाका उपायहरू अपनाउन र पन्छीमा कुनै असामान्य लक्षण देखिएमा सम्पर्क गर्न समेत आग्रह गरेको उनले बताए ।

के छ कृषकको राहतको व्यवस्था ?

वर्ड फ्लुबाट प्रभावित कृषका लागि नेपाल सरकारले तोकेअनुसार राहतको व्यवस्था छ । ‘वर्ड फ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहत दिने सम्बन्धी मापदण्ड, २०७९’ अनुसार पन्छी र सामग्री नष्ट गरिएका किसानले राहत पाउने छन् ।

उक्त मापदण्ड अनुसार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको ‘दररेट निर्धारण समिति’ ले तय गरेको प्रचलित बजार मूल्यको ७५ प्रतिशत रकम किसानलाई राहत स्वरुप उपलब्ध गराइनेछ । यसका लागि सम्बन्धित धनीले पन्छी नष्ट गरिएको मितिले ३० दिनभित्र आवश्यक कागजात (नष्ट गरेको प्रमाण–पत्र, फार्म दर्ता प्रमाण–पत्र आदि) सहित सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्नेछ ।

वर्ड फ्लु नियन्त्रण कार्यमा खटिने टोली प्रमुख र कर्मचारीहरूका लागि सरकारले विशेष प्रोत्साहनको व्यवस्था गरेको छ । नियन्त्रण कार्यमा खटिएका अवधिभर कर्मचारीले प्रचलित तलबको सतप्रतिशत थप सुविधा, खाजा खर्च र १० लाख रुपैयाँको जोखिम बीमा सुविधा पाउने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप