फिल्म ‘शोले’ सुरुमा ‘डिजास्टर’ थियो, ६ हप्तापछि दर्शकको ओइरो लाग्यो : रमेश सिप्पी
सारांश
- निर्देशक रमेश सिप्पीले आफ्नो कालजयी फिल्म ‘शोले’ प्रदर्शनको सुरुवाती ५ हप्तासम्म असफल भएको खुलासा गरेका छन्।
- प्राविधिक चुनौती र प्रतिकूल मौसमका कारण ३ करोडको बजेटमा बनेको फिल्म छैटौँ हप्तादेखि सफल भएको उनले बताएका छन्।
- सिप्पीले फिल्मको सफलतामा पटकथा, सशक्त पात्र र अमिताभ बच्चनको अभिनयको मुख्य भूमिका रहेको उल्लेख गरेका छन्।
काठमाडौँ । बलिउडका दिग्गज निर्देशक रमेश सिप्पीले आफ्नो कालजयी फिल्म ‘शोले’ ले प्रदर्शनको सुरुवातमा असफलता हात पारेको खुलासा गरेका छन् । फिल्मले छैटौँ हप्तादेखि सफलताको बाटो पहिल्याएको उनको भनाइ थियो ।
काठमाडौँमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दोस्रो दिन (शुक्रबार) आयोजित ‘सिनेमा संवाद विथ रमेश सिप्पी र राजेश हमाल’ संवादका बोल्दै उनले फिल्म ‘शोले’ निर्माणका क्रममा भोगेका रोचक र सङ्घर्षपूर्ण अनुभवहरू बाँडेका हुन् ।
सिप्पीकाका अनुसार ‘शोले’ सुरुमा १ करोड भारतीय रुपैयाँको बजेटमा बनाउने सोचिएको थियो । तर, सुटिङका क्रममा विभिन्न प्राविधिक चुनौती र मौसमको प्रतिकूलताका कारण बजेट बढेर ३ करोड पुगेको थियो, जुन सन् १९७० को दशकमा निकै ठुलो रकम हाे ।
बैंगलोर नजिकैको रामनगरमा फिल्मको सुटिङका लागि ठुला–ठुला चट्टानहरू भएको ठाउँ रोजिएको थियो, जहाँ एउटै दृश्य खिच्न पनि कैयौँ दिन कुर्नुपर्थ्यो ।
अहिलेको पुस्ताले ‘शोले’ लाई बलिउडको सबैभन्दा सफल फिल्मको रूपमा चिने पनि रिलिजको समयमा अवस्था यस्तो नभएको उनले बताए । ‘फिल्म रिलिजको पहिलो पाँच हप्तासम्म व्यापारिक पत्रिकाहरूले फिल्मलाई ‘डिजास्टर’ (पूर्ण असफल) भन्दै हेडलाइन छापेका थिए’, उनले भने– ‘तर, छैटौँ हप्तादेखि दर्शकको यस्तो ओइरो लाग्यो कि फिल्मले सबै रेकर्ड तोडिदियो ।’
राजेश हमालसँगको कुराकानीमा सिप्पीले फिल्मको सफलताको मुख्य श्रेय यसको पटकथा र पात्रहरूलाई दिए । फिल्मको गब्बर सिंह, साम्बा, कालियादेखि बसन्तीको घोडासम्मलाई दर्शकले आज पनि उत्तिकै माया गर्छन् ।
कुराकानीमा अमिताभ बच्चनको प्रसङ्गमा सिप्पीले ठट्टा गर्दै भने– ‘अमिताभ बच्चन त्यतिबेला नयाँ थिए, उनलाई हामीले सस्तोमा अनुबन्ध गरेका थियौँ । तर उनको अभिनयले फिल्ममा नयाँ उचाइ थप्यो ।’
फिल्म निर्माण एउटा जोखिमपूर्ण यात्रा भएको बताए निर्देशक सिप्पीले ‘शोले’ को सफलताले आफूलाई फिल्म जगतमा स्थापित गराएको सुनाए । उनले भने– ‘शोले’ बनाउँदा म हलिउडका ‘वेस्टर्न’ फिल्महरूबाट प्रभावित भएको थिए ।’
उनले त्यहाँको फिल्मको शैलीलाई भारतीय ग्रामीण परिवेश र चम्बलको डाँकाहरूको कथामा मिसाएको कारण भारतीय सिनेमामा ‘मसला फिल्म’ को एउटा नयाँ मापदण्ड नै खडा भएको सुनाए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण