वृद्धाश्रमलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आवश्यक पहल गर्नेछु : मन्त्री वादी
सारांश
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले वृद्धाश्रमलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
- मन्त्री वादीले आफ्नो पुरानो स्वयंसेवक अनुभवलाई स्मरण गर्दै जिम्मेवारीलाई सेवा र समर्पणको अवसरका रूपमा लिएको बताएकी छिन्।
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले पशुपति वृद्धाश्रममा स्वयंसेवकका रूपमा बिताएका दिनहरूलाई स्मरण गर्दै आफूले पाएको जिम्मेवारीलाई सेवा र समर्पणको अवसरका रूपमा लिएको बताएकी छिन्। आजभन्दा करिब ९ वर्षअघि पुष्पलाल मेमोरियल कलेज, चाबहिलमा ब्याचलर अफ सोसल वर्क अध्ययन गर्दा फिल्ड वर्कअन्तर्गत समाज कल्याण केन्द्र, पशुपति वृद्धाश्रममा तीन महिनासम्म आमाहरूको सेवा गर्ने अवसर पाएको सामाजिक सञ्जालमार्फत उनले बताएकी छिन् ।
'उहाँहरूको जीवनका कथा, पीडा, संघर्ष र निस्वार्थ मायाले आज पनि मेरो मनको गहिराइमा अमिट छाप छोडेको छ,' मन्त्री वादीले भनिन्, 'त्यही अनुभवले मलाई मानवताको साँचो अर्थ सिकायो—सेवा भनेको केवल कर्तव्य मात्र होइन, आत्माको सन्तुष्टि पनि हो।'
मन्त्रीको हैसियतले वृद्धाश्रममा पुगेर त्यहाँको अवस्था हेर्ने र बुझ्ने अवसर पाउँदा ती दिनहरू झल्झली सम्झना आएको उनले बताइन् । त्यतिबेला गरेको सानो सेवा आज ठुलो जिम्मेवारीमा रूपान्तरण भएको अनुभूति भइरहेको उनको भनाइ छ। 'त्यो अनुभवले मलाई सधैं सम्झाइरहन्छ—पद ठुलो होइन, सेवा ठुलो हो,' उनले थपिन्।
मन्त्री वादीले आफूले पाएको यो जिम्मेवारीलाई पदका रूपमा नभई सेवा र समर्पणको अवसरका रूपमा लिएको उल्लेख गरेकी छिन्। विशेषगरी आमाहरू, दिदीबहिनीहरू, बालबालिका तथा असहाय वर्गका लागि अझ समर्पित भएर काम गर्ने दृढ प्रतिबद्धता उनले व्यक्त गरेकी छिन्।
'म वाचा गर्दछु—हिजो जस्तै आज पनि सेवा, करुणा र इमानदारीका साथ अगाडि बढ्नेछु। हरेक नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आफ्नो सम्पूर्ण प्रयास समर्पित गर्नेछु,' उनले भनिन्।
वृद्धाश्रम व्यवस्थापन सुधारप्रति गम्भीर चासो व्यक्त गर्दै यसलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आवश्यक पहल गरिने प्रतिबद्धता उनले व्यक्त गरेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण