मसालका महामन्त्रीको दाबी : वर्तमान सरकारबाट राष्ट्रिय हितमा गम्भीर प्रकारको आँच पुग्ने खतरा छ
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारको कार्यशैलीले राष्ट्रिय हितमा आँच पुग्ने खतरा रहेको दाबी गरेका छन्।
- उनले एमसीसी र एसपीपी जस्ता सम्झौतामार्फत नेपाललाई विदेशी सैन्य रणनीतिको केन्द्र बनाउन खोजिएको आरोप लगाएका छन्।
- महामन्त्री सिंहले देशको स्वाधिनता रक्षाका लागि असंलग्न परराष्ट्र नीति अपनाउनुपर्ने र देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारको कार्यशैली र परराष्ट्र नीतिले नेपालको राष्ट्रिय हितमा गम्भीर आँच पुग्ने खतरा रहेको दाबी गरेका छन् ।
राष्ट्रिय जनमोर्चाद्वारा शनिबार काठमाडौँमा आयोजित ‘चुनावको मूल्याङ्कन र नेपालको परराष्ट्र नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो अवधारणापत्र प्रस्तुत गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
महामन्त्री सिंहले हालै सम्पन्न निर्वाचनलाई राजनीतिक र संवैधानिक दृष्टिकोणले अनावश्यक ठहर्याउँदै यसलाई वैदेशिक शक्ति केन्द्रको रणनीतिक स्वार्थसँग जोडेर व्याख्या गरे । 'भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवाहरूले सुरु गरेको स्वतःस्फूर्त आन्दोलनलाई वैदेशिक शक्तिले आफ्नो स्वार्थ अनुकूल उपयोग गरेको देखिन्छ,' उनले भने, 'अहिलेको राजनीतिक विकासक्रम र सरकारको गठनमा अमेरिकी रणनीतिको प्रत्यक्ष प्रभाव रहेको हाम्रो ठहर छ ।'
उनले नेपाललाई वैदेशिक सैन्य रणनीति र शक्ति राष्ट्रहरूको द्वन्द्वको केन्द्र बनाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे । एमसीसी र एसपीपी जस्ता सम्झौतामार्फत नेपाललाई चीन विरुद्धको सैनिक मोर्चाबन्दीमा सामेल गराउने र नेपालको भूमिलाई तिब्बत मामिलामा प्रयोग गर्ने खतरा बढ्दै गएको उनको दाबी छ ।
छिमेकी मुलुकहरूसँगको सम्बन्धका बारेमा चर्चा गर्दै सिंहले भारतले गरेको सीमा अतिक्रमण, कालापानी क्षेत्रको कब्जा र नागरिकता सम्बन्धी विवादास्पद नीतिका विरुद्ध वर्तमान सरकार मौन रहेको आरोप लगाए । साथै, चीनले नेपालको नयाँ नक्सालाई उपेक्षा गरेको विषयमा पनि सरकारले दृढ कूटनीतिक अडान लिन नसकेको उनको टिप्पणी थियो ।
विश्व राजनीतिमा बढ्दो साम्राज्यवादी होड र युद्धको खतराबाट नेपाललाई जोगाउन 'असंलग्न परराष्ट्र नीति' नै सर्वोत्तम विकल्प भएको सिंहले उल्लेख गरे । 'नेपाल जस्तो भू–परिवेक्षित राष्ट्रका लागि छिमेकीसँगको सम्बन्ध सन्तुलित हुनुपर्छ,' उनले भने, 'तर अहिलेको सरकारबाट राष्ट्रिय स्वाधिनताको रक्षा हुनेमा शङ्का छ । त्यसैले सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट भई राष्ट्रिय हितको रक्षामा उभिनुपर्ने बेला आएको छ ।'
कार्यक्रममा उनले वैदेशिक हस्तक्षेपविरुद्ध र विश्व शान्तिको पक्षमा दृढतापूर्वक आवाज उठाउनु नै अहिलेको प्रमुख दायित्व भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण