बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारी अस्पतालको सुधार कसरी गर्ने ?

आइतबार, २२ चैत २०८२, ०९ : ४३
आइतबार, २२ चैत २०८२

सारांश

  • नेपालका सरकारी अस्पतालहरूमा सेवा प्रवाहको गुणस्तर बढाउन भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको प्रभावकारी व्यवस्थापन आवश्यक छ।
  • न्यूनतम सेवा मापदण्ड (MSS) को कार्यान्वयन र अस्पताल व्यवस्थापनमा दक्ष जनशक्तिको भूमिका सरकारी स्वास्थ्य सेवा सुधारका लागि महत्त्वपूर्ण छ।
  • अस्पताल व्यवस्थापनमा अध्ययन गरेका जनशक्तिलाई स्थायी दरबन्दी प्रदान गरी सरकारी अस्पतालको नेतृत्वमा समावेश गर्नु अपरिहार्य देखिन्छ।

नेपालको संविधान २०७२ ले जनताको स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्थापित गरेको छ । उपचारात्मक स्वास्थ्य सेवा प्रदान गर्ने नेपालका सरकारी अस्पतालहरूले दैनिक रूपमा आफ्नै क्षमताभन्दा बढी सङ्ख्यामा सेवाग्राहीलाई उपचार सेवा प्रदान गर्दै आएका छन् । तथापि, नेपालका अधिकांश सरकारी अस्पतालहरूमा सेवा प्रवाहको गुणस्तर तथा व्यवस्थापनका कारण सेवाग्राहीहरूलाई पूर्ण रूपमा सन्तुष्ट र खुसी बनाउने अवस्था अझै सुनिश्चित हुन सकेको छैन ।

विशेषगरी अस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालको भौतिक पूर्वाधार, उपकरणहरू तथा जनशक्तिबीचको उचित र प्रभावकारी व्यवस्थापन अत्यावश्यक हुन्छ । भौतिक पूर्वाधारको सन्दर्भमा, देश सङ्घीय संरचनामा प्रवेश गरेपछि नेपालका सरकारी अस्पतालहरूको पूर्वाधारमा उल्लेखनीय सुधार भएको देखिन्छ । त्यसैगरी उपकरणहरूको हकमा विशेषतः कोभिड–१९ महामारीपछि नेपालका सरकारी अस्पतालहरूमा अत्याधुनिक उपकरणहरूको जडानमा पनि उल्लेखनीय प्रगति भएको पाइन्छ ।

तर जनशक्तिको अवस्थाबारे गहिरो रूपमा अध्ययन गर्दा अझै पनि करिब २०–२५ वर्ष पुरानो सर्भेबाट निर्धारण गरिएको जनशक्ति संरचनाको आधारमै हाम्रा अधिकांश सरकारी अस्पतालहरू सञ्चालन भइरहेका देखिन्छन् ।

सञ्चालनको दृष्टिले अस्पताल २४ घण्टा, सातै दिन र वर्षका ३६५ दिन निरन्तर सञ्चालन हुनुपर्ने संवेदनशील संस्था हो । यहाँ प्रायः रोग र पीडामा रहेका सेवाग्राहीहरूको नै बढी उपस्थिति हुने गर्छ । त्यस्तै, अस्पतालमा शिक्षाको सबैभन्दा उच्च तह अध्ययन गरिसकेका विशेषज्ञ चिकित्सकदेखि तल्लो तहका सफाइ कर्मचारीसम्म विभिन्न स्तरका जनशक्तिको सहभागिता रहने भएकाले उनीहरूको भूमिका र कार्यविवरणलाई व्यवस्थित रूपमा समन्वय गरी सेवा प्रवाह गर्नु अस्पताल प्रशासन तथा व्यवस्थापनका लागि आफैँमा चुनौतीपूर्ण कार्य हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको सेवा प्रवाहको तयारी अवस्थालाई मापन गर्न तयार गरेको न्यूनतम सेवा मापदण्डले विशेषगरी अस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि तीन प्रमुख आयामको आवश्यकता उल्लेख गरेको छ ।

अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न अस्पतालजन्य फोहोरमैला व्यवस्थापनदेखि अस्पतालको सरसफाइ, अस्पताल परिसरमा स्वच्छ पिउने पानीको उपलब्धता, बिरामीहरूलाई सेवा प्रवाहसम्बन्धी पर्याप्त सूचना प्रदान गर्ने व्यवस्था, तथा अस्पतालमा उपलब्ध सम्पूर्ण उपकरणहरूको व्यवस्थित सञ्चालन अत्यन्त महत्त्वपूर्ण हुन्छ । साथै, उपकरणहरू बिग्रिएपछि समयमै मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउनेजस्ता साना तर प्रभावकारी व्यवस्थापनका पक्षहरूले पनि सेवा प्रवाहको गुणस्तरमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको सेवा प्रवाहको तयारी अवस्थालाई मापन गर्न तयार गरेको न्यूनतम सेवा मापदण्डले विशेषगरी अस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि तीन प्रमुख आयामको आवश्यकता उल्लेख गरेको छ । ती आयामहरूमा सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन र सपोर्ट सेवा व्यवस्थापन पर्छन् । अस्पतालको गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न यी तीनवटै पक्षको उचित व्यवस्थापन आवश्यक हुन्छ ।

प्रत्येक आयामको निश्चित भार निर्धारण गरिएको हुन्छ । साथै, प्रत्येक वर्ष स्वास्थ्य मन्त्रालयको विज्ञ टोलीबाट अस्पतालहरूको अनुगमन गरी सेवा प्रवाहका लागि अस्पतालहरूको तयारी अवस्था तथा एमएसएसको मापन गर्ने व्यवस्था गरिएको छ । उक्त न्यूनतम सेवा मापदण्डमा अस्पताल प्रमुखलाई सहयोग गर्न अस्पताल व्यवस्थापन विषय अध्ययन गरेको जनशक्ति अर्थात् अस्पताल व्यवस्थापक (अस्पताल व्यवस्थापन अधिकृत) को आवश्यकता पनि औँल्याइएको छ ।

अस्पतालमा उपलब्ध स्रोतसाधनको उचित उपयोग, सेवाग्राहीमैत्री वातावरण निर्माण, सेवा प्रवाहमा पारदर्शिता तथा उत्तरदायित्व कायम गर्ने कार्यमा पनि अस्पताल व्यवस्थापकको भूमिका उल्लेखनीय हुन्छ । यसका साथै न्यूनतम सेवा मापदण्ड (एमएसएस) लगायतका राष्ट्रिय मापदण्डहरूको प्रभावकारी कार्यान्वयन तथा अनुगमनमा पनि अस्पताल व्यवस्थापकले महत्त्वपूर्ण योगदान दिन सक्छन् ।

सरकारी अस्पतालहरूमा गुणस्तरीय, प्रभावकारी र उत्तरदायी स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न सक्षम व्यवस्थापन अत्यन्त आवश्यक हुन्छ । अस्पताल व्यवस्थापन एक जटिल प्रक्रिया हो, जसमा प्रशासनिक, प्राविधिक तथा सेवासम्बन्धी विभिन्न पक्षहरूको समन्वय आवश्यक पर्छ । यस सन्दर्भमा अस्पताल व्यवस्थापन विषय अध्ययन गरेका अस्पताल व्यवस्थापकको भूमिका महत्त्वपूर्ण र अपरिहार्य मानिन्छ ।

सङ्घीय सरकारले करिब आठ वर्षअघि आवश्यकता महसुस गरी कार्यक्रममार्फत सुरु गरेको यो पद अस्पतालहरू प्रदेश सरकारमा हस्तान्तरण भएपछि प्रदेश सरकारको सर्भेका कारण स्थायी दरबन्दी स्वीकृत हुन नसक्दा यस विषय अध्ययन गरेका धेरै जनशक्ति विदेश पलायन हुन बाध्य छन् ।

नेपालमा विगत करिब २५ वर्षदेखि पोखरा विश्वविद्यालयअन्तर्गत अस्पताल व्यवस्थापन विषयमा स्नातक तथा स्नातकोत्तर तहको अध्यापन हुँदै आएको छ । हाल पोखरा विश्वविद्यालय तथा मनमोहन प्राविधिक विश्वविद्यालयबाट प्रत्येक वर्ष ३०० भन्दा बढी जनशक्ति उत्पादन भइरहेका छन् । नेपाल सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि सङ्घीय कार्यक्रमअन्तर्गत नेपालका २० वटा जिल्लास्तरीय ५० शय्याका अस्पतालहरूमा करार सेवामा अस्पताल व्यवस्थापन अधिकृत नियुक्ति गरी सरकारी अस्पतालहरूमा पहिलोपटक यस विषय अध्ययन गरेको जनशक्ति भित्र्याएको थियो ।

हाल यो सङ्ख्या बढेर नेपालका ४६ वटा प्रादेशिक अस्पतालहरूमा अस्पताल व्यवस्थापन अधिकृत करारमा कार्यरत रहेका छन् । तर अस्पतालहरूको ‘ओ एन्ड एम’ सर्भेमार्फत यस पदको स्थायी दरबन्दी सिर्जना तथा पदपूर्ति हुन नसक्दा अपेक्षित परिणाम हासिल हुन सकेको छैन । तथापि, कर्णाली प्रदेश सरकारले सर्भेमार्फत यस पदको स्थायी दरबन्दी सिर्जना गरी प्रदेश लोकसेवा आयोगबाट पाठ्यक्रमसमेत तयार गरिसकेको छ । त्यसैगरी, बागमती प्रदेश सरकारले हाल अस्थायी दरबन्दी स्वीकृत गरेको छ भने नेपाल प्रहरी केन्द्रीय अस्पतालले पनि यो पद सिर्जना गरी लोकसेवा आयोगबाट पदपूर्ति गरिसकेको छ ।

सङ्घीय सरकारले करिब आठ वर्षअघि आवश्यकता महसुस गरी कार्यक्रममार्फत सुरु गरेको यो पद अस्पतालहरू प्रदेश सरकारमा हस्तान्तरण भएपछि प्रदेश सरकारको सर्भेका कारण स्थायी दरबन्दी स्वीकृत हुन नसक्दा यस विषय अध्ययन गरेका धेरै जनशक्ति विदेश पलायन हुन बाध्य छन् ।

अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मान्दा अस्पतालको नेतृत्वदायी भूमिकामा बस्नका लागि अस्पताल व्यवस्थापनसम्बन्धी अध्ययन अनिवार्य मानिएको पाइन्छ । नेपालको सन्दर्भमा पनि युनाइटेड मिसन अस्पतालजस्ता प्रतिष्ठित संस्थाहरूले अस्पताल व्यवस्थापकको नेतृत्वमा गुणस्तरीय तथा सहज सेवा प्रवाह गरिरहेका छन् । त्यस्तै, नेपालका अधिकांश निजी मेडिकल कलेज तथा अस्पतालहरूमा पनि यस विषय अध्ययन गरेका जनशक्तिहरू नेतृत्वदायी भूमिकामा कार्यरत रहेका छन् ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७’ ले नेपालमा २५ शय्या वा सोभन्दा माथिका अस्पतालहरूमा अस्पताल व्यवस्थापन अधिकृत/अस्पताल व्यवस्थापक अनिवार्य हुनुपर्ने व्यवस्था उल्लेख गरेको छ । सोही मापदण्डअनुसार नेपालका अधिकांश निजी अस्पतालहरूमा यस पदको व्यवस्था गरिसकिएको छ ।

त्यसैगरी, नेपाल सरकारद्वारा जारी स्वास्थ्य सेवा व्यवस्थापनसम्बन्धी विभिन्न निर्देशिकाहरूले पनि अस्पताल व्यवस्थापक पदको आवश्यकता औँल्याएका छन् ।

अस्पताल व्यवस्थापकले अस्पतालको समग्र प्रशासनिक तथा व्यवस्थापकीय कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउँछन् । उनीहरूले अस्पताल प्रमुखलाई व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियामा सहयोग गर्नुका साथै अस्पतालको नीति, योजना तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा समन्वयकारी भूमिका निर्वाह गर्छन् । साथै अस्पतालको सामान्य प्रशासन र क्लिनिकल सेवाबीच सन्तुलन कायम गर्दै दुवै पक्षबीच प्रभावकारी समन्वय स्थापना गर्ने कार्य पनि अस्पताल व्यवस्थापकको महत्त्वपूर्ण जिम्मेवारी हो ।

यसका अतिरिक्त, अस्पताल व्यवस्थापकले अस्पतालको क्लिनिकल सेवालाई जनताको पहुँचसम्म प्रभावकारी रूपमा पुर्‍याउन आवश्यक समन्वय तथा व्यवस्थापन गर्ने जिम्मेवारी पनि वहन गर्न सक्छन् । साथै, अस्पतालको सपोर्ट सेवा व्यवस्थापन; जस्तै– अस्पतालजन्य फोहोरमैला व्यवस्थापन, सुरक्षा सेवा, सीएसएसडी, लन्ड्री, हाउसकिपिङ, स्टोर, सामाजिक सेवा एकाइ, पिउने पानी व्यवस्थापन आदिमा आवश्यकताअनुसार उचित निर्णय गरी कार्यान्वयन गर्न सक्ने क्षमता पनि यस पदमा अपेक्षित हुन्छ ।

यसरी हेर्दा, अस्पताल व्यवस्थापन विषयमा दक्ष जनशक्ति अर्थात् अस्पताल व्यवस्थापकको उपस्थितिले सरकारी अस्पतालहरूको व्यवस्थापन सुधार, सेवा प्रवाहको गुणस्तर वृद्धि तथा सेवाग्राही सन्तुष्टि अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ । त्यसैले सङ्घीय तथा प्रादेशिक सरकारी अस्पतालहरूमा अस्पताल व्यवस्थापकको स्थायी दरबन्दी सिर्जना गरी पदपूर्ति गर्नु वर्तमान समयको आवश्यकता र अपरिहार्यता भएको देखिन्छ ।

(अधिकारी हाल भीम अस्पताल भैरहवामा अस्पताल व्यवस्थापक पदमा कार्यरत छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र अधिकारी
सुरेन्द्र अधिकारी

(अधिकारी हाल भीम अस्पताल भैरहवामा अस्पताल व्यवस्थापक पदमा कार्यरत छन् ।)

लेखकबाट थप