शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

सोमबार, २३ चैत २०८२, ०६ : ०२
सोमबार, २३ चैत २०८२

सारांश

  • चितवनका अवकाशप्राप्त प्राध्यापक डा. भगवानदास मानन्धरले काचाल्का नामक नयाँ सिँचाइ प्रविधिको विकास गरेका छन्।
  • यो प्रविधिले बिरुवालाई आवश्यक पर्ने ठिक्क मात्रामा पानी वितरण गरी पानीको बर्बादी कम गर्छ।
  • थोपा सिँचाइभन्दा सस्तो र टिकाउ मानिएको यो प्रविधि किसानले आफैँ मर्मत गर्न सक्ने खालको छ।

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा २३ वर्ष प्राध्यापन गरेका प्राडा ई भगवानदास मानन्धरले विकास गरेको काचाल्का (डिस्क्रेट इरिगेट सिस्टम) सिँचाइ प्रविधि अहिले चितवनको भरतपुर–१६, विजयनगरमा चर्चाको विषय बनेको छ। सन् १९९३ मा विद्यावारिधि गर्ने क्रममा रुसमा विकास भएको यो प्रविधिलाई मानन्धरले नेपालको माटो सुहाउँदो बनाएर आफ्नै ४ कट्ठा जग्गामा सुन कागती खेतीमार्फत प्रमाणित गरेर देखाएका छन्।

सामान्यतया कुलोबाट वा ट्याङ्कीबाट सिधै पानी लगाउँदा धेरै खेर जाने र बिरुवालाई आवश्यकताभन्दा बढी वा कम पानी हुने समस्या हुन्छ। तर काचाल्का प्रविधिले बिरुवालाई चाहिने ठिक्क मात्रामा पानी वितरण गर्छ। ढिकिच्याउ जस्तै गरी दायाँ-बायाँ ढल्किने स-साना डब्बाहरू प्रयोग गरिने यो प्रणालीमा एउटा डब्बा भरिएपछि मात्र अर्कोमा पानी जान्छ, जसले गर्दा पानीको बर्बादी हुँदैन।

 झट्ट हेर्दा सामान्य सतह सिँचाइ जस्तो देखिए पनि यो प्रविधिको सिँचाइ दक्षता ९३ प्रतिशत र पानी वितरणको समानता ९५ प्रतिशतसम्म रहेको मानन्धरको दाबी छ।

लामो समय क्याम्पसमा विद्यार्थीलाई यो प्रविधि पढाए पनि व्यवहारमा कसैले लागू नगरेपछि उनी आफैँले जागिर छाडेर किसानको भूमिकामा फर्किएका हुन्। इटलीको मान्तोभामा समेत सफल परीक्षण भइसकेको यो प्रविधि थोपा वा स्प्रिङकलर सिँचाइभन्दा सस्तो र टिकाउ छ। 

किसानले आफैँ मर्मत गर्न सक्ने र माटोको बनावट अनुसार पानी नियन्त्रण गर्न मिल्ने भएकाले यसलाई व्यावसायिक कृषिको मेरुदण्ड मानिएको छ। अहिले मानन्धरले आफ्नै लगानी र श्रममा यो प्रविधिलाई किसानको घरदैलोसम्म पुर्‍याउने अभियान सुरु गरेका छन्, जसले सिँचाइमा हुने श्रम र खर्च दुवै घटाउने विश्वास गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप