हप्ताको दुई दिन बिदा दिने सरकारको निर्णयको चिकित्सक संघद्वारा स्वागत
सारांश
- नेपाल चिकित्सक संघले हप्ताको दुई दिन बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ।
- संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि उक्त बिदा अनिवार्य रूपमा उपलब्ध गराउन माग गरेको छ।
- अत्यधिक कार्यबोझका कारण स्वास्थ्यकर्मीहरूलाई मानसिक तथा शारीरिक आराम आवश्यक रहेको संघको निष्कर्ष छ।
काठमाडौँ । नेपाल चिकित्सक संघले सरकारले हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने गरी गरेको निर्णयको स्वागत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको उक्त निर्णयप्रति संघले सकारात्मक प्रतिक्रिया दिँदै यसलाई चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको हकमा पनि अनिवार्य कार्यान्वयन गर्न माग गरेको हो।
संघका महासचिव डा.सञ्जीव तिवारीद्वारा सोमबार जारी विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पर्याप्त आरामको आवश्यकता रहेको उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले हप्तामा ४२ घण्टा श्रम अवधि तोकेको भए तापनि नेपालका स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले दैनिक २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको संघले औंल्याएको छ।
यस्तो अत्यधिक कार्यबोझका कारण स्वास्थ्यकर्मीहरूमा पर्ने शारीरिक तथा मानसिक तनाव व्यवस्थापन गर्न अन्य पेशाकर्मीलाई जस्तै पर्याप्त आराम अनिवार्य भएको विज्ञप्तिमा उल्लेख छ।
संघले अन्य पेशाकर्मीहरू जस्तै चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई पनि हप्ताको दुई दिन बिदा दिँदा उनीहरूले कार्यकौशलताको पूर्ण प्रयोग गर्न सक्ने र यसबाट बिरामीले थप गुणस्तरीय सेवा पाउने ठहर गरेको छ।
‘गुणस्तरीय सेवा प्रवाहको लागि बिदा अपरिहार्य रहेको हुनाले हप्ताको दुई दिन बिदा दिने निर्णय चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको हकमा समेत प्रभावकारी रूपमा कार्यान्वयन गराउन नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
चिकित्सक संघले यो निर्णयको कार्यान्वयनले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको मनोबल उच्च रहने र सेवा प्रवाहमा सकारात्मक सुधार आउने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण