बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
युवा संघ नेपालका अध्यक्ष महाराज गुरूङसँग ‘वारपार’

‘हामी भिड जम्मा गर्न नसक्ने होइनौँ, तर यो स्थायी समाधान होइन’

सोमबार, २३ चैत २०८२, १९ : ००
सोमबार, २३ चैत २०८२

सारांश

  • राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङले सडक आन्दोलन गरेर भिड जम्मा गर्न सक्ने क्षमता भए पनि त्यसले स्थायी निकास नदिने बताएका छन्।
  • अध्यक्ष गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतबाट मुक्त गराउनुलाई हालको पहिलो प्राथमिकतामा राखेका छन्।
  • पार्टीको आन्तरिक विवाद र निर्वाचनको समीक्षा गर्ने विषयमा तहगत छलफल आवश्यक रहेको उनको भनाइ छ।

काठमाडौँ । निर्वाचनमा पराजय भएपछि एमालेले अझै लय समात्न सकेको छैन । निर्वाचनको घनिभूत समीक्षा पनि गर्न सकेको छैन । बरू पार्टीभित्र अन्तरसंघर्ष बढेर गएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विषयमा पनि एमाले नेताहरूबिच मतैक्य देखिएन । संसदीय दलको नेता चयन गर्दा र लगत्तै दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्मा दिएको अभिव्यक्तिपछि त विवाद छताछुल्लै भयो । 

पार्टीका आफ्नै कार्यकर्ताले महासचिव शंकर पोखरेलको पुत्ला नै दहन गरे भने पार्टी कार्यालयमा नारा जुलुस गरे । कतिपयले विशेष महाधिवेशनको माग गर्न भन्दै हस्ताक्षर अभियान नै चलाएका छन् । पार्टी भद्रगोल अवस्थामा पुगिसक्दा पार्टीको युवा संगठन नेपाल चाहिँ के गर्दैछ ? पार्टीको समग्र पुनर्संरचनाको माग उठ्दै गर्दा युवा संघका नेताहरूलाई भने अमुक व्यक्ति जोगाउन लागिपरेको आरोप पनि लाग्न थालेको छ । यी समग्र विषयमा राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष महाराज गुरुङसँग रातोपाटीको ‘वारपार’मा गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) : 

राष्ट्रिय युवा संघ, नेपाल केही वर्षयता राजनीतिक र वैचारिक संगठनको रूपमा रहेन । यो पार्टीभित्रकै एउटा समूहलाई तर्साउने अर्थात् गुण्डागर्दी गर्ने संगठनको रूपमा छ भनेर आरोप लाग्ने गरेको छ । यस्तै हो ? 

धेरै राम्रा राष्ट्रिय स्तरका नेता उत्पादन गर्ने संगठनको रूपमा राष्ट्रिय युवा संघ, नेपाल छ । माओवादी द्वन्द्वबाट शान्ति प्रक्रियामा आइसकेपछि पनि वाईसीएलबाट ज्यादतीले समाजलाई आतंकित बनाउने, समाजमा वितृष्णा ल्याउने, आतंक सिर्जना गर्ने वातावरण निर्माण भयो । त्यतिबेला नेताहरूले युवा संघलाई राजनीतिसँगै अलिकति जुझारु संगठन पनि बनाऔँ र प्रतिरोध गर्ने वातावरण पनि निर्माण गरौँ भन्ने सोचबाट हामी प्रस्तुत हुनुपर्ने भएकाले लडाकु संगठनको रूपमा देखियो ।

Maharaj Gurung

तर हामी राजनीतिक संगठन नै हौँ । बिस्तारै त्यो कुरालाई बुझाउँदै आइरहेका छौँ र आजको दिनमा आउँदा तपाईंले भनेको कुरा धेरै कम भइसकेको छ ।

अमूक नेताको ‘झोले संगठन’ भन्यो भने मिल्छ त ? 

कम्युनिस्ट पार्टीको कार्यकर्ता भइसकेपछि एउटा नियम र कानुनमा बस्ने र एउटा जनवर्गीय संगठनले गर्नुपर्ने भूमिका निर्वाह गर्ने महत्त्वपूर्ण कुरा हो । 

पार्टी अध्यक्ष जोगाउन त लाग्यो युवा संघ । तर पार्टी चाहिँ जोगाउन सकेन भन्ने आरोप छ नि ?

त्यो पनि छ । जुन निर्वाचनको परिणामले पनि हामीलाई देखाइसक्यो । 

निर्वाचन परिणामले के देखायो ?

हामीले गरेको राजनीतिक परिपाटी, हामीले लिएको विचार, हामीले लिएका कार्यक्रमहरूलाई जनताले मन पराउनुभएन । 

वैचारिक, राजनीतिक हिसाबले एउटा होला, सांगठनिक रूपमा पनि युवा संघ कति कमजोर देखियो भने अध्यक्षको गिरफ्तारीको विरोधमा गरिएको सडक प्रदर्शनमा हेर्नु त कस्तो कन्तबिजोग !

हामीले सडक आन्दोलन गरेर हाम्रो अध्यक्षलाई छुटाउन सक्छौँ कि सक्दैनौँ ? हामीले सडकमा आन्दोलन गरिरहँदा मान्छेहरूलाई त्यसले कत्तिको पीडा दिन्छ ? स्कुल गइरहेका बसहरू स्कुल पुग्न सक्छन् कि सक्दैनन् ? एउटा अफिस हिँडेको मान्छे पुग्न सक्छन् कि सक्दैन ? बिरामी लिएर हिँडेको एम्बुलेन्स हस्पिटल पुग्न सक्छ कि सक्दैन ? यी समग्र विषयको विश्लेषण गर्‍यौं । 

कुरो त्यस्तो हो कि तपाईंहरूले बोलाउँदा मान्छे आएनन् ? त्यसकारण पछाडि हट्नुभएको हो भन्ने पो मान्छेको बुझाइ छ त ?

यस्तो परिस्थितिमा पनि एमालेले साढे १४ लाख १५ लाख मत समानुपातिकमा ल्याएकै छ । मान्छे जम्मा पार्न नसकेको होइन, भिड जम्मा गर्न नसकेको होइन । पार्टीले होइन, राष्ट्रिय युवा संघ नेपालले नै चाहने हो भने नेपाल बन्दै गर्ने हो भने पनि ठप्पै बनाउन सकिन्छ । तर त्यो स्थायी निकास होइन । त्यसले जनताको मन जित्ने यो समृद्ध नेपाल सुखी नेपालीको जुन हाम्रो परिकल्पना छ, त्यसले हामी सही ठाउँमा पुग्न सक्दैनौँ । 

राष्ट्रिय युवा संघ परिवर्तनको बाधक पनि देखियो नि, संसदीय दलको नेता छान्दा युवा सांसद सुहाङ नेम्वाङको विपक्षमै लाग्नुभयो, होइन ?
 
हामीले पार्टीका नेताहरूलाई यो वा त्यो व्यक्ति भनेर भनेनौँ । तर युवामैत्री सन्देश दिने खालको निर्णय गरौँ भनेर नेताहरूलाई हामीले भनेका थियौँ । 

दलको नेता रामबहादुर थापा ‘बादल’ले संसद्मा गरेको भाषण सुन्नुभो होला । त्यसको समर्थक हो तपाईं ?

पार्टीले संस्थागत रूपमा दलको नेता रामबहादुर थापाज्यूले बोल्नुभएको कुरा हाम्रो पार्टीको मान्यता अनुसार भएन भन्ने कुरा संस्थागत निर्णय आइसकेको छ ।

अब त्यस्तो मान्छेलाई दलको नेताबाट कारबाही गर्नुपर्छ कि पर्दैन ?

त्यसमा सकारात्मक हिसाबको आत्मालोचना गर्ने र आगामी दिनमा कस्तो खालका विषय उठाएर लैजाने भन्ने कुरा कमसेकम दलको नेताले के बोल्ने भन्ने कुरा बैठक बसेरै निर्णय गरेर जाने भन्ने कुरालाई पार्टीले स्थापित गरेर जान्छ भन्ने मलाई लाग्छ । 

कसले लेखिदिएको पढ्नुभएको रहेछ उहाँले ?

उहाँलाई नै थाहा होला । 

पार्टी पुनर्संरचनाको बारेमा बहस चलेको छ एमालेभित्र । अन्तरसंघर्ष पनि बढेर गएको छ । पुनर्संरचना आवश्यक छ कि छैन ? 

पार्टीको अध्यक्ष प्रहरीको हिरासतमा हुनुहुन्छ । यतिबेला मैले यो पार्टीको विषयमा यसो हुनुपर्छ यसो हुनुपर्छ भन्ने कुरा त्यति धेरै न्यायोचित पनि हुँदैन । तर २८ लाखको भोट १४ लाख भयो । ९ सिटमा हामी प्रत्यक्षमा सीमित भयौँ । यसलाई छलफलमा लैजानुपर्छ । 

Maharaj Gurung1

युवा संघको अध्यक्ष अहिलेको यो समयमा यो भन्दै हुनुहुन्छ कि अहिले एमाले कमजोर होस् वा डुबोस् त्यतातिर ध्यान नदिऊँ, पार्टी अध्यक्षलाई चाहिँ सकुशल पहिला बाहिर निकालौँ, होइन त ?

हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली हो । केपी ओलीलाई कमजोर बनायो भने नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ, अध्यक्षलाई जेलमा थुनेपछि अरु बोल्न सक्दैनन्, स्वेच्छाचारी ढंगले जे गर्दा पनि हुन्छ, जे बोल्दा नि हुन्छ भन्ने जुन खालको प्रतिशोध राखेको छ यो सरकारले, त्यसलाई चाहिँ हामीले अलिकति चिर्न आवश्यक छ । घरमुली बिरामी परेको छ, घरमुलीलाई अप्ठ्यारो परेको छ हामी त्यता लाग्ने भन्दा घरै फेर्ने ध्याउन्नमा लाग्यौँ भने त्यसले हामी सही ठाउँमा पुग्दैनौँ ।

अध्यक्षसँगै एमाले पनि अहिले कस्टडीमा छ भनेर बुझ्दा हुने भयो ?
 
होइन । हामीले  गतिविधि गरिरहेकै छौँ । अध्यक्षले बादल कमरेडलाई कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी दिइसक्नुभएको छ । कार्यवाहक अध्यक्षले अध्यक्षता गरिरहनुभएको छ । पार्टीको हरेक संरचना चल्ने बैठक गर्ने छलफल गर्ने काम भइरहेको छ । 

पहिलो काम अध्यक्षलाई हिरासतमुक्त गर्ने हो भन्ने तपाईंको आशय बुझियो । हिरासतमुक्त भएपछि अध्यक्षलाई पद छोड्नुस्, तपाई असफल भइसक्नुभयो भन्न सक्नुहुन्छ ? 

अध्यक्ष छोड्ने, नछोड्ने भन्ने कुरा पनि समीक्षा गर्ने हो । के निष्कर्ष आउँछ तहगत रूपमा छलफल गरौँ न । समस्या कहाँ हो ? जड कुरो निकालेपछि हिजोको जस्तै एमाले बनाउन के गर्न सकिन्छ भनेर निष्कर्षमा पुग्न सकिन्छ ।

स्थिति कहाँ छ भने आफ्नै कार्यकर्ताले पार्टी महासचिवको पुतला दहन गर्न थालिसके । केन्द्रीय कार्यालय घेराउ गर्न थालिसके । हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छन् विशेष महाधिवेशनको लागि…

हस्ताक्षर अभियान चलेको कुरा मलाई अहिलेसम्म कसैले भनेको पनि छैन । महासचिव विरुद्धको प्रदर्शनको जुन कुरा छ यसलाई म जनताको बहुदलीय जनवादको अभ्यासको रुपमा लिन्छु । नेताहरूमाथि पनि प्रश्न गर्न पाउनुपर्छ भन्ने छ । साथीहरूले प्रश्न गरे । अहिले सकारात्मक हिसाबले लागेका छन् । यो पुत्ला जलाउने कुरा राम्रो होइन भनेपछि उहाँहरूले पनि बुझ्नुभो । भोलिपल्ट फुल पनि दिए नि त । महासचिवज्यूले पनि युवाहरूले विरोध गरे भनेर मन दुखाउनुहुन्न । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ ।

अहिलेको सरकारले तपाईंहरूका जस्ता संगठनहरू खारेज गर्ने कुरा ल्याएको छ । यसमा तपाईंको सहमति हुन्छ ?

कसैले म राष्ट्रको निम्ति काम गर्छु, देशको निम्ति काम गर्छु, समाजको निम्ति काम गर्छु, म राजनीतिमा लाग्छु भनेर एउटा उमेर पुगेको युवाले भन्दा त सबै मान्छेलाई राजनीतिक दलमा आउन पाउने जोडिन पाउने कुरा त भयो । त्यो खारेजै गर्ने भन्ने कुरा प्रतिशोध नै हो । यसले सही ठाउँमा पुर्‍याउँदैन । अहिले उहाँहरू सरकारमा भएकाले कुरा ठिकै लाग्ला, भोलि उहाँहरू पनि प्रतिपक्ष हुँदा त्यो गलत लाग्न सक्छ । 

भिडियो/फोटो : मनोज खड्का

भिडियो सम्पादन : दशराज श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप