खुसीलाई प्रश्न : विराज भट्टसँगको तपाईंको जोडी त हजुरबुबा र नातिनीको भन्छन् नि ?
सारांश
- अभिनेत्री खुसी कार्की 'राम नाम सत्य' फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्दै छिन्।
- फिल्ममा अभिनेता विराज भट्टसँगको उमेर अन्तरको जोडीलाई लिएर भइरहेको ट्रोलबारे उनले कथाको माग अनुसार नै रहेको स्पष्ट पारेकी छिन्।
- उनले पहिलो फिल्म भएकाले नर्भसका साथै उत्साहित रहेको र दर्शकको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको बताएकी छिन्।
काठमाडौँ । खुसी कार्की फिल्म ‘राम नाम सत्य’ की अभिनेत्री हुन् । २ वर्षअघि डान्स रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ विजेता बन्दै चर्चामा छाएकी कार्की यसै फिल्मबाट रजतपटमा अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन् ।
फिल्ममा उनी अभिनेता विराज भट्टको जोडीको रूपमा देखिँदै छिन् । फिल्मको एक गीतमा उनको र विराजको जोडीलाई लिएर दर्शकले हजुरबुबा र नातिनी भन्दै ट्रोल गरेका थिए । उनी भने फिल्मको कथाअनुसार आफूहरूको जोडी सुहाउँदो रहेको बताउँछिन् ।
फिल्म आगामी शुक्रबार (२७ चैत) बाट प्रदर्शनमा आउँदै छ । थाइल्यान्ड निवासी खुसी फिल्मको प्रचारप्रसारका लागि अहिले नेपाल आएकी छन् । फिल्म ‘राम नाम सत्य’ र अभिनय अनुभवका विषयमा अभिनेत्री खुसीलाई रातोपाटीले राखेको एक दर्जन प्रश्न:
- ‘मेरो डान्स युनिभर्स’को उपाधि जितेको दुई वर्षपछि फिल्ममा देखिँदै हुनुहुन्छ, यो बिचको समय कसरी बित्यो ?
‘मेरो डान्स युनिभर्स’ उपाधिसँगै मैले अवसरहरू पाएँ । त्यसमा सुरुमा म्युजिक भिडियोहरूको काम गरेँ । म्युजिक भिडियोमा काम गर्दै जाँदा अभिनय सिक्न थालेँ । सिक्दै गर्दा विभिन्न फिल्मका अफरहरू आउन थाले । तीमध्ये ‘राम नाम सत्य’ ठिक लाग्यो । मैले यो अवसरलाई सदुपयोग गर्ने निर्णय गरेँ ।
- डान्सिङ प्लेटफर्मबाट आएको व्यक्ति ठुलो पर्दामा काम गर्दाको अनुभव कस्तो रह्यो ?
धेरै भिन्न अनुभव सँगालेकी छु । डान्स रियालिटी शोमा हाम्रो ध्यान डान्स र हरेक एपिसोडलाई कसरी राम्रो बनाउने भन्नेमा मात्र हुन्थ्यो । तर फिल्म अभिनय अलि फरक रहेछ । यहाँ डान्स मात्र भएर पुग्दैन, अभिनय, अनुहारको हाउभाउ, डाइलग डेलिभरी सबैमा राम्रो हुनुपर्ने रहेछ । डान्स शोभन्दा फिल्मको संसार अलि बढी चुनौतीपूर्ण र फरक लाग्यो ।
_odfu4sr5hz_e5oN81Fhkv.jpg)
- डान्सरबाट अभिनेत्री बन्न कस्तो तयारी गर्नुपर्यो ?
तयारी त धेरै नै गरेँ नि ! अभिनयका लागि वर्कसपहरू गरेँ, गीतको रिहर्सल भयो र टिमसँग घुलमिल हुन समय बिताएँ । भाषाका हिसाबले पनि आफूलाई तयार पारेँ ।
- धेरै फिल्मका अफरहरू थिए भन्नुभयो, डेब्युका लागि ‘राम नाम सत्य’ नै किन रोज्नुभयो ?
‘मेरो डान्स युनिभर्स’को उपाधि जितेपछि एक किसिमले चर्चा देश तथा विदेशमा राम्रो भयो । त्यो चर्चासँगै फिल्मका अफरहरू आउन थाले । त्यसरी अफर आएका कतिपय फिल्ममा मैले क्यारेक्टरमा आफू फिट देखिनँ, कतिपय गर्छु जस्तो लागेन । केही विभिन्न कामले गर्न सकिनँ । ‘राम नाम सत्य’को कथाले भने मन छोयो । फिल्ममा मेरो सिन कम भए पनि महत्त्वपूर्ण छ । फिल्मबाट विराज भट्टलगायत धेरै दिग्गज कलाकारसँग काम गर्न पाउने अवसर भएकाले रोजेँ । भर्खरै करियर सुरु गर्दै गर्दा मलाई सिकाउने मान्छेभन्दा पनि सिक्ने वातावरण चाहिएको थियो, जुन यहाँ पाएँ ।
- फिल्ममा तपाईंलाई दर्शकले कस्तो भूमिकामा देख्न पाउँछन् ?
फिल्ममा मेरो क्यारेक्टरको नाम ‘खुसी’ नै छ । धेरैले मलाई सधैँ खुसी र हाँसिरहेको देख्नुभएको होला, तर फिल्ममा म अलि फरक भूमिकामा छु । तपाईंहरूले मेरो अभिनयलाई अर्कै तरिकाले देख्न पाउनुहुनेछ । यसमा विराज सर र मैले उमेर अन्तरको प्रेमकथा पस्किएका छौँ । त्योभन्दा बढी खोल्न मिल्दैन । सबै जान्न फिल्म हेर्नुपर्छ ।
- विराज भट्टसँग तपाईंको जोडीलाई लिएर हजुरबुबा र नातिनीको ट्रोल पनि भयो, तपाईंलाई कस्तो लाग्यो ?
फिल्मको कास्टिङ र प्रचारका लागि सुरुमा सार्वजनिक गरिएको पोस्टरबाट धेरैले मलाई आयुषसिंह ठकुरीको जोडी होला भनेर अनुमान गर्नुभएको रहेछ । तर पछि फिल्मको गीतमा विराज सरसँग देखिँदा सबैलाई आश्चर्य लागेको हो । त्यही भएर धेरैले उमेरको ग्यापको कुरा गर्नुभयो । वास्तवमा, यो फिल्मको कथा र क्यारेक्टरको माग नै त्यस्तै हो । फिल्म हेरेपछि दर्शकले यो कुरा स्पष्टसँग बुझ्नुहुनेछ ।
- अभिनेता विराज भट्टसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
सुरुमा म एकदमै नर्भस थिएँ, किनकि उहाँ लेजेन्डरी एक्टर हुनुहुन्छ । एक्सन हिरो भएकाले बाहिरबाट हेर्दा पनि डरलाग्दो देखिनुहुन्छ । तर उहाँ एकदमै सफ्ट हार्टेड र स्विट हुनुहुन्छ । उहाँले मलाई नर्भस हुन दिनुभएन, धेरै कुरा सिकाउनुभयो । उहाँसँग काम गर्न मलाई एकदमै सजिलो भयो । यो फिल्म अभिनयबाट मैले आफूलाई निखार्ने मौका पाएँ ।
- सुटिङका क्रममा कुनै स्मरणीय क्षण छ ?
हामी दैलेखमा सुटिङ गरिरहेका थियौँ । म सुटिङमा पुगेकै दिन त्यहाँ एउटा बाख्राको पाठो जन्मिएको थियो, मलाई एकदमै लक्की फिल भयो । तर अचम्मको कुरा, अर्को दिन हाम्रो युनिटले त्यहीँको छिमेकीको खसी काटेर खाने तयारी गरेछ । त्यो देखेपछि मलाई कस्तो माया लाग्यो र म त्यो दिन दिनभर भेज (शाकाहारी) बसेँ ।

- फिल्म आगामी शुक्रबारबाट रिलिज हुँदैछ, यसलाई लिएर मनमा डर, उत्साह के छ ?
दुवै छ । आफ्नो अभिनय रहेको पहिलो फिल्म भएकाले नर्भस छु । फिल्मको कथाअनुसार मेरो अभिनय भयो, भएन, दर्शकले हिरोइनको रूपमा मलाई कस्तो प्रतिक्रिया दिनुहोला ! केही अगाडिसम्म हाम्रो फिल्म अन्य दुई फिल्मसँग जुध्ने कुरो थियो । अहिले सोलो रिलिज हुँदैछ, जुन हाम्रा लागि प्लस पोइन्ट हो । त्यसैले उत्साहित पनि छु । दर्शकबाट राम्रो प्रतिक्रिया मिल्नेमा आशावादी पनि ।
- फिल्म अभिनयमा निरन्तरता रहन्छ कि पुग्यो ?
अहिले पनि फिल्मका अफरहरू त आइरहेका छन् । तर म पहिले ‘राम नाम सत्य’मा मेरो काम कस्तो छ भनेर दर्शकको प्रतिक्रिया पर्खिरहेकी छु । दर्शकको प्रतिक्रियापछि आफ्नो अभिनय परिमार्जन गर्दै पक्कै पनि अगाडि अन्य फिल्ममा देखिनेछु ।
- यदि फिल्ममा नआएको भए अहिले के गर्दै हुनुहुन्थ्यो होला ?
म कामको साथसाथै अध्ययनलाई पनि अगाडि बढाइरहेकी छु । यदि यो फिल्मको अवसर नआएको भए म सायद थाइल्यान्डमा बसेर पढिरहेकी हुन्थेँ होला । मेरो ब्याचलर सकिएको छ, त्यसैले इन्टर्नसिप वा थप अध्ययनमा व्यस्त हुन्थेँ होला ।
- अन्त्यमा, दर्शकलाई के भन्न चाहनुहुन्छ ?
‘राम नाम सत्य’ मेरो पहिलो फिल्म हो । टिजर, ट्रेलर र गीतहरूलाई तपाईंहरूले धेरै माया दिनुभएको छ । अब फिल्म हलमा लाग्दैछ, हेरेर रिभ्यु दिनुहोला । मेरा केही कमीकमजोरी भए पनि भनिदिनुहोला ताकि अर्को पटक म त्यसलाई सुधार्न सकूँ । सबैले हलसम्म गएर फिल्म हेरिदिनुहोला । नेपाली फिल्मलाई माया गरिदिनुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण