बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विधिको शासन र प्रशासनिक स्थिरता नै सुशासनको आधार : कांग्रेस सांसद लामा

मङ्गलबार, २४ चैत २०८२, १८ : ३९
मङ्गलबार, २४ चैत २०८२

मकवानपुर । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् कांग्रेसका सांसद बहादुर सिंह लामाले विधिको शासनलाई सर्वोपरि राखेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । कानुन र विधिको पालना नभएसम्म सुशासन सम्भव नहुने उनले बताए ।

मंगलबारको प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै पूर्व मुख्यमन्त्री लामाले कर्मचारी प्रशासनमा देखिएको अस्थिरताप्रति चिन्ता व्यक्त गरे । संसद्को सर्वोच्चताको मुद्दा उठाउँदै क्याबिनेटले संसद्लाई बाइपास गर्न नहुने उनले बताए ।

‘कर्मचारीको छिटो–छिटो सरुवा हुँदा काम गर्ने वातावरण बिग्रन्छ । कमसेकम प्रमुख सचिवलाई एक वर्षसम्म नचलाईकन राख्ने व्यवस्था मिलाउन म सङ्घीय सरकारसँग समन्वय गर्नुपर्छ ।’ उनले भने, ‘संसद्ले पास गरेको बजेट र योजनाहरूलाई क्याबिनेटले काट्ने वा हेरफेर गर्ने परिपाटी गलत हो । संसद्ले जे पास गरेको छ । त्यसैलाई आधार मानेर सरकार चल्नुपर्छ । संसद्लाई बाइपास गर्नु हुँदैन ।’

उनले बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयमा सरकारको ध्यानाकर्षण गराए । पूर्वमुख्यमन्त्री लामाले अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य बढे पनि सङ्घीय सरकारले मूल्य नियन्त्रणमा विशेष पहल गर्नुपर्नेमा जोड दिए । उनले प्रविधिको प्रयोग र ई–बिडिङलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताए ।

उनका अनुसार ठुला लगानी भएका आयोजनाहरूलाई कानुन बनाएर थप व्यवस्थित गर्नुपर्ने र धेरै डाक्टर तथा इन्जिनियर उत्पादन गर्ने गरी शैक्षिक क्षेत्रमा लगानी बढाउनुपर्ने हुन्छ । पूर्वमुख्यमन्त्री लामाले जनप्रतिनिधिहरू आफैँ सुध्रिए मात्र समाज र व्यवस्था सुध्रिने भन्दै सबैलाई इमानदारीपूर्वक काम गर्न आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप