प्रदीप ज्ञवालीलाई साक्षी राखेर एमाले नेता कार्यकर्ताले भने, ‘ओलीको नेतृत्व फेरौँ’
सारांश
- नेकपा एमाले मोरङको अन्तर्संवाद कार्यक्रममा कार्यकर्ताहरूले पार्टी सुदृढीकरणका लागि विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने माग गरेका छन्।
- सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीको संरचनामा आमूल परिवर्तन गर्दै नयाँ जनादेशसहित स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्।
- कार्यकर्ताहरूको चर्को आलोचनापछि प्रमुख अतिथि प्रदीप ज्ञवालीले पार्टीले उठाएका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिने आश्वासन दिएका छन्।
विराटनगर । नेकपा एमाले मोरङले मंगलबार विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको अन्तर्संवाद कार्यक्रममा पार्टीको सुदृढीकरण र शुद्धीकरणका लागि विशेष महाधिवेशनमा जानुपर्नेमा नेता कार्यकर्ताले जोड दिएका छन् ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्र र आगामी स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै वडादेखि केन्द्रसम्मै नयाँ नेतृत्व आवश्यक रहेको आवाज कार्यकर्ता तहबाट उठेको हो । कार्यक्रममा सहभागी भई आफ्नो धारणा राखेका करिब १४ जना नेता तथा कार्यकर्तामध्ये १३ जनाले वर्तमान अवस्थामा पार्टीलाई नयाँ गति दिन विशेष महाधिवेशन नै अचुक विकल्प भएको बताएका छन् ।
उनीहरूले पार्टीको तल्लो तहदेखि नै रूपान्तरणको प्रक्रिया थाल्नुपर्नेमा जोड दिएका हुन् । एमाले मोरङका उपाध्यक्ष सागर थापाका अनुसार अन्तर्संवादमा सहभागी अधिकांशले वडा, पालिका, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्मै विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन र नीतिगत स्पष्टता खोजेका छन् ।
‘तलैदेखि नयाँ र ताजा जनादेश लिएर अघि बढ्नुपर्छ भन्ने आवाज उठेको छ,’ थापाले भने, ‘वडादेखि माथिल्लो तहसम्म एकै पटक अधिवेशन गरेर जान मोरङ एमाले तयार छ ।’
उपाध्यक्ष थापाले वर्तमान परिस्थितिमा पार्टीले जनताको भावनालाई बुझ्नुपर्ने र विगतका गल्ती कमजोरीहरू सच्याउँदै जनतामाझ जानुपर्ने बताए । उनले भने, ‘समाजले जुन माग गरेको छ, सोही अनुसार हामीले पार्टीलाई लैजान सकेनौँ भने हामी सिद्धिने खतरा छ । त्यसैले नयाँ नेतृत्व लिएर स्थानीय निर्वाचनमा जानुपर्छ ।’
कार्यक्रममा कार्यकर्ताहरूले नेतृत्वले जनतासँग क्षमायाचना गर्दै नयाँ ऊर्जाका साथ गाउँ–गाउँ पुग्नुपर्ने सुझाव समेत दिएका छन् । जनता नै अन्तिम शक्ति भएकाले उनीहरूबाट टाढा भएर पार्टी बलियो हुन नसक्ने निष्कर्ष अधिकांश वक्ताहरूको थियो ।
एमाले मोरङका सचिव सोमराज थापाले पछिल्लो राजनीतिक परिस्थिति र निर्वाचनको नतिजापछि कार्यकर्ताहरूमा तीव्र असन्तुष्टि देखिएको स्वीकार गरेका छन् । थापाका अनुसार बैठकमा पालिका तहका नेताहरूले वर्तमान नेतृत्वको विकल्प र पार्टी संरचनामा आमूल परिवर्तनको माग गरेका थिए । वर्तमान राजनीतिक अवस्था र त्यसको निकासका लागि अन्तर्संवाद राखिएको जानकारी दिँदै सचिव थापाले अब पुरानै अनुहार र ढर्राले पार्टी चल्न सक्दैन भन्ने धारणा राखेको बताए ।
बैठकमा केराबारी गाउँ कमिटीका अध्यक्ष भीम कार्कीले पार्टीभित्र गुम्सिएको आक्रोशलाई कडा रूपमा प्रस्तुत गरेका थिए । उनले नेतृत्व मात्र होइन, पार्टीको संरचना नै परिवर्तन गर्नुपर्ने धारणा राखे । नेतृत्व परिवर्तन र संरचना परिवर्तन अब अनिवार्य भइसकेको उल्लेख गर्दै कार्कीले आवश्यक परे पार्टी सदस्यता नै एक पटक शून्य (जिरो) गरेर नयाँ ढङ्गबाट आवेदन माग गर्नुपर्ने बताए ।
बैठकमा नेताहरूले नेपाली कांग्रेससँग मिलेर सरकारमा सहभागी हुनुलाई नेतृत्वको ‘रणनीतिक भूल’ को रूपमा व्याख्या गरे । तत्कालीन नेकपा (एमाले र माओवादी केन्द्रको एकता) विभाजन भएपछि सबैभन्दा ठुलो क्षति एमालेले व्यहोर्नु परेको भन्दै तल्लो कमिटीका नेताहरूले आक्रोश पोखे । नेतृत्वको अहम् र कार्यशैलीकै कारण भीम रावलजस्ता पाका नेताहरूले पार्टी छाड्नुपर्ने वा पाखा लाग्नुपर्ने परिस्थिति बनेको भन्दै उनीहरूले नेतृत्वको कडा आलोचना गरे । नेकपाकालीन सहयात्रीहरूलाई सम्मानजनक व्यवहार नगरिएको र एकलकाँटे शैली अपनाइएको उनीहरूको आरोप थियो ।
विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरी र बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष डिल्ली पोखरेल लगायतले नेतृत्वको असफलतामाथि गम्भीर प्रश्न उठाएका थिए । उनीहरूले एमाले संसदीय दलको नेता छनोटमा समेत नेतृत्वले दूरदर्शिता देखाउन नसकेको बताए ।
तल्लो तहबाट नेतृत्व परिवर्तनको बाढी नै आएपछि प्रमुख अतिथि प्रदीप ज्ञवाली रक्षात्मक बनेका थिए । उनले कार्यकर्ताले राखेका भावनालाई नोट गर्दै पार्टीले आगामी दिनमा यसलाई गम्भीरतापूर्वक लिने बताएका थिए ।
‘उहाँले नेतृत्व जोगाउँदै समस्या समाधानको बाटो खोजिने आश्वासन दिनुभयो,’ उक्त स्रोतले भन्यो । पार्टीमा कतै कमीकमजोरी भएको भए सच्चिनुपर्ने र नेतृत्व परिवर्तन पनि समयमा हुने भन्दै उनले सान्त्वना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण