बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

संविधान संशोधन ‘बहसपत्र’ कार्यदलको बैठकमा कुन-कुन दल हुँदैछन् सहभागी ?

बुधबार, २५ चैत २०८२, १० : ४६
बुधबार, २५ चैत २०८२

सारांश

  • संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको पहिलो बैठक बुधबार सिंहदरबारमा बस्दैछ।
  • बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई आमन्त्रण गरिए पनि कांग्रेसले सहभागिता नहुने संकेत गरेको छ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक बुधबार बस्दैछ ।

दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलसहित जसपा, लोसपा र राष्ट्रिय जनमोर्चालाई पनि आमन्त्रण गरिएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोहन आचार्य, नेकपा (एमाले)का तर्फबाट संविधानसभा सदस्य समेत रहेका एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्वकानुन मन्त्री देवप्रसाद गुरुङ सहभागी हुँदैछन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्यका रूपमा सहभागी हुँदैछन् । 

नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पठाउने प्रतिनिधिबारे अहिलेसम्म टुङ्गो नगालेको बताइएको छ । कांग्रेस प्रवक्ता देवराज चलिसेले कुन विषयमा संविधान संशोधन गर्ने भन्ने टुङ्गो नलागेकाले आजको बैठकमा कांग्रेसको सहभागिता हुने सम्भावना नरहेको बताए । 

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा रहेका छन् ।  कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप