बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

विष्णुको तर्फबाट खिमलालले गरे बादलको प्रतिकार, योगेशले लेखे कविता !

बिहीबार, २६ चैत २०८२, १० : ५०
बिहीबार, २६ चैत २०८२

सारांश

  • नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसद्मा दिएको विवादित अभिव्यक्ति पार्टी नीतिअनुरूप भएको दाबी गरेका छन्।
  • खिमलाल भट्टराईले बादलको अभिव्यक्ति एमालेको नीति र जबजको परम्पराविपरीत रहेको भन्दै कडा आलोचना गरेका छन्।
  • योगेश भट्टराईले बादलको पछिल्लो अभिव्यक्तिको विरोध गर्दै सामाजिक सञ्जालमा कवितात्मक टिप्पणी गरेका छन्।

काठमाडौँ । नेकपा एमालेभित्र आन्तरिक कचिङ्गल थप बढ्ने देखिएको छ । गत फागुन २१ को कमजोर निर्वाचन परिणाम र पार्टी पुनर्गठनको मुद्दा चर्किँदै गएका बेला पार्टीका शीर्ष नेताहरू एकपछि अर्को गर्दै आरोप–प्रत्यारोपमा उत्रेका छन् ।

गत साता एमाले कार्यवाहाक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधि सभाको पहिलो बैठकमा दिएको अभिव्यक्तिलाई लिएर आकस्मिक सचिवालय बैठक बोलाएर बादलको अभिव्यक्ति सच्चाएको एमालेमा पुन सोही मुद्दा मुखरर हुन पुगेको छ ।

बुधबार कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले पोखरामा आफूले संसद्मा दिएको अभिव्यक्ति पार्टी नीति र निर्णय अनुसार नै भएको दोहोर्‍याएका थिए । थापाले संसद्मा ‘रास्वपाले सेना, विदेशी शक्ति र कर्मचारीतन्त्रको सहयोगमा करिब दुईतिहाइ बहुमत ल्याएको’ अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिप्रति उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, नेताहरू सुरेन्द्र पाण्डे लगायतले आपत्ति जनाएका थिए । त्यसलगत्तै चैत २० गते शुक्रबार एमाले सचिवालय बैठक बसेर चुनावी परिणाम स्वीकार गर्ने र नेपाली सेना, व्युरोक्रेसीलगायतलाई पार्टीले हेर्ने दृष्टिकोणमा कुनै बदलाव नआएको प्रस्ट पारेको थियो ।

‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन, ब्युरोक्रेसी र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ,’ महासचिव शङ्कर पोखरेलले बैठकपछि जारी विज्ञप्तिमार्फत भनेका थिए ।

यसरी विवाद मिलाउने प्रयास भए पनि बुधबार फेरि नेता थापाले आफ्नो अभिव्यक्ति सही भएको दाबी गर्दै त्यसबाट तरङ्गित हुनेहरूलाई पार्टीभित्रका ‘दक्षिणपन्थी’को बिल्ला भिराउन पुगे ।

थापाले आफ्नो अभिव्यक्तिले पार्टीभित्र लुकेका दक्षिणपन्थी प्रवृत्ति र दुस्मनहरूलाई उदाङ्गो भएको दाबी गर्दै संसदीय दलको नेताका हैसियतले आफूले संसद्मा व्यक्त गरेका विचार पार्टीका स्थापित नीति र मान्यताअनुरूप रहेको जिकिर गरेका थिए ।

‘अन्तर्संघर्षको स्थिति कस्तो छ, मान्छेहरू चाहिँ त्यो वक्तव्यबाट उत्तेजित भए,’ बादलले पोखरामा भने, ‘को–को मान्छेहरू त्यो वक्तव्यबाट उत्तेजित भए, भित्र लुकेका को–को मान्छेहरू बाहिर देखिए। किनभने त्यो स्टेटमेन्टले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई एक्सपोज गरेको मात्र हो ।’ थापाले आफ्नो अभिव्यक्ति देश र जनताका दुस्मनमाथि ठुलो आक्रमण र लुकेका दक्षिणपन्थीलाई पनि प्रहार भएको समेत बताएका थिए ।

बादलको यस्तो अभिव्यक्ति दोहोरिएपछि एमाले नेता सूर्य थापाले कार्यवाहक अध्यक्ष, उपाध्यक्ष र उपमहासचिव सार्वजनिक रूपमा विवादमा उत्रिएको भन्दै बुधबार सामाजिक सञ्जालमा प्रश्न गरे ।

‘पार्टीका कावा अध्यक्ष र उपाध्यक्ष, उपमहासचिवबिच नै व्यक्तिगत भेट र संवाद हुँदैन कि ? सार्वजनिक/सोसल मिडिया नै बहसको रोजाइ पो बनाइएका छन्’, थापाले लेखेका छन् ।

अर्का नेता खिमलाल भट्टराईले बादलको अभिव्यक्ति र भाषा शैली एमालेको नीति र परम्पराविपरीत भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

‘हाम्रो पार्टी नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् प्रतिनिधिसभामा दलका नेता कमरेड रामबहादुर थापा ‘बादल’ ले हिजो चैत २५ गते पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा जेजस्ता भाषा, शैली र दृष्टिकोण पेस गर्नुभयो, त्यो पार्टी नीति र एमाले स्कुलिङका विरुद्ध छ,’ नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले एमालेले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आधारित राजनीति गर्ने भन्दै कब्जा र आक्रमणको भाषा पार्टीको नीति नभएको स्पष्ट पारेका छन् । ‘कब्जा, आक्रमण, दुस्मन आदि शब्दावली एमालेका होइनन् । जनताको बहुदलीय जनवादको मार्गदर्शन विल्कुल यो होइन । हामी कब्जा होइन, जनताको मन जितेर प्रतिस्पर्धामा श्रेष्ठ हुन्छौँ । कब्जा हाम्रो नीति होइन । हामीले आक्रमण होइन, शान्तिपूर्ण सङ्घर्षबाट विजय सुनिश्चित गर्छौँ । हामी प्रतिस्पर्धा गर्छौँ, दुस्मनी गर्दैनौँ । एमालेको सङ्घर्षको नीति यही हो,’ भट्टराईले भनेका छन् ।

भट्टराई एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।

एमाले उपमहासचिव योगेश भट्टराईले बादलको अभिव्यक्तिप्रति सङ्केत गर्दै ‘बादल मडारिएको र जबज निथ्रुक्कै भिजेको’टिप्पणी गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा कवितात्मक शैलीमा बादलको छोटकरी कविता लेख्दै भनेका छन्–

बादल मडारियो

मुसलधारे वर्षा भयो

जबज निथ्रुक्कै भिज्यो

मदन तीन छक्क पर्नुभयो

हामी हेरेको हेर्‍यै भयौ !

(स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप