शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘स्नातक तहसम्म नेपाली विद्यार्थीलाई नेपालमै पढाउनुपर्छ’

बिहीबार, २६ चैत २०८२, १८ : २७
बिहीबार, २६ चैत २०८२

सारांश

  • सरोकारवालाहरूले नेपाली विद्यार्थीलाई स्नातक तहसम्म स्वदेशमै पढाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।
  • पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. विजुकुमार थपलियाले मेडिकल शिक्षामा विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकिने सम्भावना औंल्याएका छन्।
  • शिक्षाविद्हरूले नेपालका विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रियस्तरको बनाउन पाठ्यक्रममा सुधार र आधुनिक प्रविधिमा जोड दिनुपर्ने बताएका छन्।

काठमाडौँ । नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमा नै पढाउने वातावरण बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालयले काठमाडाैँमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले नेपाली विद्यार्थीलाई नेपालमा नै अड्याउने र विदेशी विद्यार्थी पनि आकर्षित गर्ने गरी विश्वविद्यालयहरूले कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिएका हुन्।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. विजुकुमार थपलियाले मेडिकल शिक्षामा ठुलो सम्भावना रहेको बताए । उनले मेडिकल शिक्षामा भारतका विद्यार्थीलाई नेपालमा भित्र्याउन सकिने उल्लेख गर्दै बंगलादेश, श्रीलङ्का लगायतका अन्य देशका विद्यार्थीलाई पनि टार्गेट गर्न सक्ने बताए।

उनले नेपालमा युनिक विषयलाई फोकस गरेर पाठ्यक्रम बनाएमा विद्यार्थीलाई आकर्षित गर्ने सकिने उल्लेख गरे । उनले पूर्वाञ्चल विश्वविद्यालयमा एमविविएस प्रोग्राम सुरु गर्न लागेको जानकारी दिए । 

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. विम श्रेष्ठले नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमा नै पढाउने वातावरण बनाउनुपर्ने बताए । त्यसका लागि बाहिरका विश्वविद्यालयले दिने सुविधाहरूले नेपालमै उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गरे। 

उनले नेपालले जलवायु परिवर्तनसम्बन्धी शिक्षालाई विशेष जोड दिनुपर्ने बताए । नेपालले अब सूचना प्रविधि र एआई सम्बन्धी शिक्षा दिन विश्वमा प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ । 

त्रिभुवन विश्वविद्यालय पूर्व उपकुलपति डा. तीर्थ खनिँयाले अन्तर्राष्ट्रिय विश्वविद्यालय बन्न विदेशी विद्यार्थीको संख्या कति छन् भन्ने कुराले निर्धारण नगर्ने बताए ।

उनले सिकाइको आदानप्रदान नै विश्वविद्यालयको सबैभन्दा ठुलो उपलब्धि भएको बताए । उनले शिक्षा मन्त्रालयलाई नेपालको विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरमा कुन र्‍याकिङ्मा छन् भन्ने जानकारी नै रहेको बताए । 

उनले विश्वविद्यालय युनिभर्सल हुने र विश्वविद्यालयले मानवीय अवधारणाको उत्कृष्ट सिर्जना गर्ने बताए । उनले नेपालको शिक्षा मन्त्रालयलाई यी दुवै कुरा बुझाउन नसकेको गुनासो गरे। उनले मन्त्रालय नै नेपालको शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउन नलागेसम्म केही नहुने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप