आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

शनिबार, २८ चैत २०८२, १२ : ३५
शनिबार, २८ चैत २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ सडक किनारामा गमला राखेर फूल रोप्ने अभियानलाई तीव्रता दिएको छ।
  • महानगरको 'मेरो रहर, सुन्दर र हरित सहर' कार्यक्रम अन्तर्गत वातावरण विभागले फूलहरूको स्याहार र व्यवस्थापनको जिम्मा लिएको छ।
  • पहिलो चरणमा सिंहदरबार वरपरबाट सुरु गरिएको यो अभियानलाई दोस्रो चरणमा भित्री सहरी क्षेत्रहरूमा पनि विस्तार गरिने योजना छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ सडक किनारामा गमला राखेर फूल रोप्ने कार्यलाई तीव्रता दिएको छ । 

महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम अन्तर्गत पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले यो अभियान सुरु गरेको हो । यस अभियानले सहरको सौन्दर्य बढाउनुका साथै सहरी वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने विश्वास गरिएको छ । 

हाल रोपिएका बेगमबेली फूलहरू पहेँलो, रातो र गुलाबी लगायतका विभिन्न रङमा फुल्नेछन् । फूल फुलाउने कार्यलाई दिगो र व्यवस्थित बनाउनका लागि बलिया सिमेन्टका गमलाहरू प्रयोग गरिएको छ । यी स्थायी ठुला गमलाहरूमा बिरुवा लगाउने, गोडमेल गर्ने र नियमित पानी हाल्ने जिम्मेवारी वातावरण व्यवस्थापन विभागले सम्हालेको छ ।

2-2

महानगरको यो अभियान केवल मुख्य सडकहरूमा मात्र सीमित रहने छैन । पहिलो चरणमा मुख्य प्रशासनिक केन्द्र सिंहदरबार वरपरको क्षेत्रलाई समेटिएको भएपनि दोस्रो चरणमा काठमाडौँका भित्री सहरी क्षेत्रहरूमा पनि गमला राख्दै लगिने योजना छ । 

सहरलाई कङ्क्रिटको जङ्गलबाट मुक्त गरी हरियाली र रङ्गीचङ्गी फूलहरूले सजाउने महानगरको यो प्रयासलाई स्थानीय बासिन्दाहरूले पनि सकारात्मक रूपमा लिएका छन् । सडक किनारामा ढकमक्क फूल फुल्दा पैदलयात्री र सवारी चालक दुवैका लागि यात्रा सुखद हुने अपेक्षा गरिएको छ ।

3-34-45-5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप