बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फेवा किनारलाई प्यार गर्नेहरुको कथा

फेवाका जलारीः ‘सुनैको घर दिए पनि हामीलाई ताल किनार नै प्यारो’

आइतबार, २९ चैत २०८२, १४ : २७
आइतबार, २९ चैत २०८२

सारांश

  • पुर्ख्यौली थातथलो फेवाताल किनारमा बसोबास गर्दै आएका जलारी समुदाय सरकारको ६५ मिटर मापदण्डको निर्णयबाट विस्थापित हुने त्रासमा छन्।
  • फेवातालमा माछाको सङ्ख्या अत्यधिक घटेको र ताल पुरिने मुख्य कारण अव्यवस्थित सडक निर्माण तथा हर्पन खोलाबाट आउने लेदो भएको स्थानीयको तर्क छ।
  • जलारी समुदायले सुनको घरभन्दा पनि आफ्नो पुर्ख्यौली थातथलो र फेवातालको संरक्षण नै आफूहरूका लागि सर्वोपरी रहेको बताएका छन्।

पोखरा । खपौंदीका रामचन्द्र जलारी पहिलोपटक बाबुसँग डुङ्गामा जाल लिएर फेवाताल डुल्दा ३ वर्षका थिए । अहिले ६३ वर्ष टेकेका उनले ६० वर्षसम्म तालसँग प्रेम साँटेरै बिताए ।

रामचन्द्रले ३० वर्ष अघिसम्म जाल थापेर माछा मार्ने ठाउँ अहिले धानखेत बनेको छ । ‘फेवाताल त माथिसम्मै थियो नि सर ! अहिले देखिएको धानखेतमा त्यो बेला २० हात गहिरो ताल थियो,’ घर अघिल्तिरको चउरमा बसेर उनले रातोपाटीसँग भने, ‘हेर्दाहेर्दै तीन भागको एक भाग ताल पुरियो । यो देखेर मन साह्रै रोइरहेको छ ।’

रामचन्द्रको अनुभवमा तालको उत्तरतिरको किनार उनले भोगेकै समयदेखि स्थिर छ । सिरानतिरबाट बग्ने खोलाहरूमा लेदो मिसिएर झर्दा माथिल्लो भाग अस्वाभाविक पुरिएको छ ।

खपौंदीमा जलारी समुदाय बस्न थालेको कति समय भयो भन्ने यकिन विवरण कसैसँग छैन । बाबुबाजेसँग गरेको कुराकानी सम्झेकाहरू करिब ३ सय वर्षदेखि आफ्नो पुर्खा यहाँ बस्दै आएको बताउँछन् । त्यसैले फेवा किनारलाई उनीहरू औधी प्यार गर्छन् ।

अहिले ६५ मिटर मापदण्ड कार्यान्वयनको चर्चा र सरकारले डोजर चलाएको घटनापछि थातथलो छोड्नुपर्ने हो कि भन्ने चिन्तामा यो समुदाय डुबेका छन् । सरकारले मुआब्जा दिएर हटाउने कुरा गरिरहँदा रामचन्द्रको चित्त बुझेको छैन ।

IMG_5995

जलारीहरूको जीवन फेवातालको पानी र माछामा अडिएको छ । उनले भने, ‘हामीलाई सुनैको घर बनाइदिए पनि काम छैन । बरु झुप्रै होस्, फेवाताल नै हाम्रो घर हो ।’

तालको छेउ छोडेर कतै जाने मन जलारीहरूलाई छैन । रामचन्द्रको विचारलाई सही थाप्दै अर्का स्थानीय शैलेन्द्र जलारीले भने, ‘हामी २००–३०० वर्षदेखि यो फेवातालमा बस्दै आएका हौँ । हामी यहाँको पानीसँग खेल्ने मान्छे, हामीलाई हिमालमा लगेर राखेर भएन । यही किनार चाहिन्छ ।’

राज्यले डोजर चलाउनुअघि ताल किनारमा जलारी बस्न पाउनुपर्ने ग्यारेण्टी खोजिरहेका छन् उनीहरू । ९० घर परिवार जलारीहरू खपौंदी क्षेत्रमा बसोबास गर्छन् । उतिबेलामा जस्तो रोजीरोटी चल्ने माछाचाहिँ आजभोलि पाउँदैनन् उनीहरू ।

शैलेन्द्रले एक वर्ष एकैदिन १२ सय किलो माछा मारेका थिए । ‘मैले नै एक दिनमा १२ सय किलो माछा जालमा पारेको थिएँ । जाल घेरा हालेर निकाल्दा–निकाल्दा औँलाका नङ नै च्यातिएर घाउ हुन्थ्यो,’ उनले भने, ‘अहिले त २–४ किलो टिलापिया परे पनि भाग्यको कुरा हो । तालमा माछा नै छैनन् ।’

फेवातालबाट रैथाने जातका माछाहरू लगभग हराइसकेका छन् । माछा लोप हुनुमा धेरै कारण छन् । स्थानीयका अनुसार, सिसाभित्ता र टिलापिया जस्ता मिचाहा प्रजातिका माछाले रैथाने माछा सखाप बनाएका छन् । ‘यो सिसाभित्ताले अरू माछाको अन्डा खाइदिन्छ । यसले गर्दा सहर, बाम र रेवा जस्ता माछाहरूले वंश वृद्धि गर्नै पाएनन्,’ रामचन्द्रले भने ।

रैथाने प्रजातिका माछाहरू फुल पार्नका लागि तालबाट माथिल्लो भेगका खोलाहरूतिर जान्छन् । त्यही बेला मान्छेहरूले ती माछा मारिदिने गरेका कारण पनि बढी लोप हुने अवस्थामा पुगेको उनले सुनाए । बाँधबाट माछा बगेर जाने र प्रदूषण तथा रोगका कारणले पनि माछाको संख्या बर्सेनि घट्दो क्रममा छ ।

कुनै बेला क्वीन्टलका क्वीन्टल माछा पर्ने फेवातालमा अहिले मुश्किलले ५०–६० किलो पर्छ । त्यसैले ताल किनारमा बेच्ने माछा पनि फेवातालको नभएको उनीहरूले बताए । ‘दिनमै कति माछा बिक्री हुन्छ ? यो तालमा धेरै निस्कियो भने ५० किलो माछा होला,’ शैलेन्द्रले थपे, ‘सबै बाहिरका माछा आएका छन् । फेवातालमा यत्रो माछा पाइँदैन ।’

पहिले तालमा ठुलो संख्यामा माछा पाल्ने केजहरू थिए । अहिले ०७२ सालको बाढी र अन्य कारणले केजहरू हराउँदै गएपछि तालमा माछा कम भएका छन् । बाढीअघि ५६४ वटासम्म केज तलमा थिए । हाल घटेर १२ वटामा झरेको उनीहरूले बताए ।

  • ताल पुर्ने जलारी हुन् ?

सरकारले ताल किनारका जग्गाधनी र व्यवसायीहरूलाई ताल पुर्ने प्रमुख कारण मानेको छ । प्रस्टै नलेखे पनि व्यावहारिक रूपमा हेर्दा सरकारको बुझाइ त्यही हो । ६५ मिटर मापदण्ड कार्यान्वयन भन्दै अघिल्लो शनिबार डोजर चलाउने कारण पनि त्यही हो ।

यहाँका जलारीको अनुभवमा ताल पुरिनुको प्रमुख कारण सरकारको नीति हो । फेवातालको किनारबाट सडक विस्तार भएपछि नै सबैभन्दा बढी ताल पुरिएको छ ।

सरकारले विकासका नाममा चारैतिर डोजर चलाएर बाटो बनाउन थालेपछि पहिरो र बाढीले तालमा ढुङ्गामाटो थुप्रिएको अर्का स्थानीय राजु जलारीको तर्क छ । ‘जता हेरे पनि डोजर चलिरहेका छन । एउटै गाउँमा चारतिरबाट सडक लगिएको छ,’ उनले भने, ‘डाँडामा बाटो, फेवामा माटो भइरहेको छ । ताल पुरेको हाम्रो बस्तीले होइन, त्यही डाँडाबाट झरेको लेदोले हो ।’

IMG_5999 (1)

बर्खायाममा माथिबाट लेदोसहितको पानीको बहाव आउने र तल ड्यामको मुख एकैपटक खोलिदिँदा लेदो सबै तानिएर तालको बिचमा थुप्रिने गरेको राजुले सुनाए । ‘हामी जन्मँदा जस्तो थियो, यो छेउछाउ अहिले पनि उस्तै छ । यहाँ केही घटेको छैन,’ उनले भने, ‘तर हर्पन खोलाले वर्षमा २००–३०० मिटर ताल पुर्दै ल्याएको छ । साँच्चै जोगाउने हो भने बस्ती उठाउने होइन, हर्पन खोलाबाट आउने लेदो रोक्नुपर्छ र ड्यामको उचाइ बढाउनुपर्छ ।’

केही जलारीले भोगचलनका आधारमा पुस्तौँ पहिले जग्गा दर्ता गरेका छन् भने केहीले अरुसँग किनेर बसेका छन् ।

विभिन्न अध्ययनहरूले फेवाताल लगभग १ सय वर्षमा पुरिएर सकिने निष्कर्ष निकालेको छ । जलारीहरू त्यसलाई मान्न तयार छैनन् । उनीहरूलाई लाग्छ, ‘यही रफ्तारमा पुरिँदै गए ४० वर्षमै पूरै ताल फेवाफाँटमा परिणत भइसक्छ ।’

तालभित्रको माटो निकालेर फाल्न र सिरानबाट थप गेग्रान आउन नदिने बन्दोबस्ती मिलाउन उनीहरूले सरकारलाई सुझाएका छन् । ‘अहिलेको बस्ती र घरहरूलाई चलाउनै पर्दैन । सिरानमा पहिले ताल भएको ठाउँको माटो निकालेर फाल्ने हो भने ताल आफैँ बढ्छ,’ उनीहरूले भने, ‘डोजरे विकासलाई रोक्नुपर्छ ।’

अहिले फेवातालको पानी ढलोमा मात्रै सयौँ किलोमिटर सडक खनिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप