कांग्रेसमा विवाद समाधानार्थ भएकै छैन सार्थक प्रयास
सारांश
- नेपाली कांग्रेसको आन्तरिक विवाद साम्य हुन नसक्दा विशेष महाधिवेशनपछि दुवै पक्षबिच संवादहिनताको अवस्था सिर्जना भएको छ ।
- सर्वोच्च अदालतमा आधिकारिकताको मुद्दा विचाराधीन रहेकाले दुवै पक्षले अदालतको फैसलालाई पर्खिरहेका छन् ।
- पार्टी एकताका लागि विभिन्न तहमा अनौपचारिक प्रयासहरू भए पनि हालसम्म कुनै ठोस सहमति बन्न सकेको छैन ।
काठमाडौँ । गत पुस अन्तिम सातादेखि उत्कर्षमा पुगेको नेपाली कांग्रेसको आन्तरिक विवाद अहिलेसम्म साम्य भएको छैन । गत पुस २७ देखि ३० गतेसम्म तत्कालीन सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको असहमतिका बिच तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आयोजना गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।
विशेष महाधिवेशनले थापालाई सभापति, शर्मालाई उपसभापतिसहित नयाँ कार्यसमिति चयन गरेपछि दुई समूहका शीर्ष नेताबिच संवादहिनताको अवस्था छ ।
विशेष महाधिवेशनलाई माघ २ गते निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेपछि देउवा–कोइराला समूह आफूहरूले आधिकारिकता पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुगेको छ । उनीहरूले दायर गरेको रिट सर्वोच्च अदालतमा अझै विचाराधीन छ ।
दुवैतर्फका नेताहरू सर्वोच्चले गर्ने फैसला मान्य हुने बताउँछन् । तथापि नेताहरूबिच संवाद नै नभएपछि सर्वोच्चले जसको पक्षमा फैसला गरे पनि पार्टी एक नरहने विश्लेषण गर्न थालिएको छ ।
नेता डा. शेखर कोइरालाले गत मंगलबार काठमाडौँमा आफ्नो पक्षका नेताहरूको बैठक राखेर सर्वोच्चले जसको पक्षमा फैसला गरे पनि पार्टी एक रहन गाह्रो भएको भन्दै दुवै पक्षसँग वार्ता गर्न छुट्टाछुट्टै नेताहरूलाई जिम्मेवारी दिएका छन् । कोइरालाको सचिवालय विशालनगरमा भएको बैठकले निवर्तमान संस्थापनसँग वार्ता गर्न नेताद्वय डा. मीनेन्द्र रिजाल र प्रा.डा. गोविन्द पोखरेल र संस्थापन पक्षसँग वार्ता गर्न निवर्तमान सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारलाई जिम्मेवारी दिएको छ ।
महामन्त्री प्रदीप पौडेलले महाधिवेशनसम्म पार्टीमा सबैलाई मिलाएर अगाडि बढाउन आफूहरू प्रयासरत रहेको जानकारी दिए । ‘हामीले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका ल्याएर कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छौँ । पार्टी एक हुने महाधिवेशनबाट हो,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन अग्रजहरूको मार्गनिर्देशन र साथ सहयोग हुनेछ भन्ने विश्वासमा हामी छौँ ।’
उनले पार्टीलाई एकढिक्का बनाउन संवाद भए पनि सहमति बनिनसकेको बताए । ‘पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्न हामीले विभिन्न तहमा, विभिन्न माध्यमबाट वार्ता र संवाद गरिरहेका छौँ, परिणाम भने निस्किसकेको छैन,’ पौडेलले भने ।
महामन्त्री पौडेलले वार्ता भइरहेको बताए पनि पुरानो संस्थापन भने संवाद भएको स्वीकार गर्दैन ।
दुवै तर्फका नेताहरू सर्वोच्चबाट आधिकारिकताका विषयमा फैसला नआउन्जेलसम्म पार्टीभित्र औपचारिक संवाद र मिलनविन्दु नभेटिने बताउँछन् । तर, यो विषयमा कोही पनि औपचारिक रूपमा बोल्न चाहँदैनन् ।
विशेष महाधिवेशनपछि विवादमा रुमल्लिएको कांग्रेसमा एकताका लागि प्रयास गर्नुपर्ने भनाइ देउवा–कोइराला समूहको छ । सभापति थापाले नै एकताका लागि सबैको सम्मान हुने सूत्र प्रस्ताव गर्नुपर्ने उनीहरूको भनाइ छ ।
नेता डा. मीनेन्द्र रिजालले आफूलाई कसैले खटाएर नभई व्यक्तिगत तवरबाट पार्टीमा एकताका लागि विषेश महाधिवेशनबाट सभापति भएका थापासँग कुरा गरेको जानकारी दिए । ‘मलाई कसैले खटाएर होइन, व्यक्तिगत तवरबाटै थापासँग चैत १८ गते साँझ एकताका लागि कुराकानी गरेको थिएँ,’ डा.रिजालले रातोपाटीसँग भने, ‘उहाँसँग एकताका लागि राम्रै कुरा भएको थियो, त्यसपछि फलोअप कुराकानी भएको छैन । मेरो कुरा भएपछि थापा र नेता डा. शेखर कोइरालाबिच कुराकानी भएको जानकारी पाएँ । त्यसपछि थप प्रगति केही भएको छैन ।’
डा. रिजालले आफूले थापासँग भएको कुराकानीबारे नेता डा. शेखर र पूर्णबहादुर खड्कालाई जानकारी गराएको पनि बताए । उनले आफूसँग थापाले खड्का र डा. कोइरालासँग कुराकानी गर्ने बताएको जानकारी दिए ।
‘मसँग कुराकानीको क्रममा थापाले नेता पूर्णजी र शेखरजीसँग कुराकानी गर्ने बताउनुभएको थियो,’ डा.रिजालले भने, ‘शेखरजीसँग टेलिफाेनमा सामान्य कुराकानी भएको थाहा पाएँ, पूर्णजीसँग कुराकानी भए/नभएको जानकारी छैन ।’
डा. रिजालले चैत १७ र १८ गते काठमाडौँमा बसेको देउवा–कोइराला समूहको तत्कालीन केन्द्रीय समितिमा रहेका पदाधिकारी र सदस्यहरूको बैठकमा आफूले पार्टीमा संवादको थालनी गर्न थापासँग कुरा गर्ने बताएका थिए । आफ्नो त्यही धारणा अनुरुप डा. रिजालले थापासँग भएको कुराकानीबारे नेताहरूलाई जानकारी गराएका हुन्।
उनले पार्टीभित्रको विवाद नेताहरूकै प्रयत्नबाट मिल्नुपर्छ भन्ने पक्षमा आफू रहेको र त्यसका लागि आफूले प्रयास गरेको पनि बताए । ‘पार्टीभित्रको विवाद अदालतको फैसलाबाट होइन, आफ्नै प्रयत्नबाट मिलाउनुपर्छ र पार्टीलाई एकढिक्का बनाउनुपर्छ भन्ने मेरो धारणा छ । त्यसका लागि प्रयत्न गरिरहेको छु,’ डा. रिजालले भने ।
देउवा नेतृत्वको कार्यसमितिकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पार्टीको विवाद समाधान गर्न अहिलेसम्म संस्थापन र देउवा समूहका शीर्ष तहका नेताबिच संवाद भएको जानकारीमा नरहेको बताइन् । ‘अहिलेसम्म विवाद समाधानका लागि विशेष महाधिवेशनपछि शीर्ष तहमा वार्ता भएको जानकारीमा छैन । नेताहरूले संवाद भएको ब्रिफिङ गर्नुभएको छैन,’ नेतृ खतिवडाले रातोपाटीसँग भनिन् ।
उनले पार्टीमा एकता र संवादका लागि सभापति गगन थापाप्रति सङ्केत गर्दै पहिला ताप्के तात्नुपर्ने प्रतिक्रिया दिइन् । ‘संवाद र एकताका लागि पहला ताप्के तात्नुप¥यो । अहिलेसम्म तातेको महसुस भएको छैन,’ खतिवडाले भनिन्, ‘बिँडमात्रै तात्यो भने त पोल्छमात्रै ।’
खतिवडाले जनस्तर र कार्यकर्तास्तरमा भने पार्टी मिल्नुपर्छ भन्ने दबाब चर्को रहेको बताइन् । त्यसका लागि आफूहरू दोस्रो र तेस्रो तहमा छलफलमा रहेको तर निष्कर्ष ननिस्किएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण