बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नीतिगत झमेला

सञ्चालन मोडल अस्पष्ट हुँदा विमानस्थलमै थन्किए लुम्बिनीका विद्युतीय बस

आइतबार, २९ चैत २०८२, १९ : १४
आइतबार, २९ चैत २०८२

सारांश

  • लुम्बिनीका लागि ल्याइएका पाँच वटा विद्युतीय बस सञ्चालन मोडेल स्पष्ट नहुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका छन्।
  • मर्मत र व्यवस्थापनको स्पष्ट योजना नहुँदा बसहरू घामपानीमा परेर बिग्रिएका छन् भने कोषले अब विद्युतीय भ्यान सञ्चालन गर्ने तयारी गरेको छ।
  • स्थानीय सरोकारवालाहरूले विकास कोषको अक्षमता र लापरबाहीका कारण लुम्बिनीका लागि आएका सवारी साधन अन्यत्र पठाउनु दुःखद भएको भन्दै असन्तुष्टि जनाएका छन्।

बुटवल । सरकारले लुम्बिनीका लागि ल्याइएका पाँच वटा विद्युतीय बस देशका विभिन्न विमानस्थलमा सञ्चालन गर्ने तयारी थालेको छ । तर हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ती बसहरू कुन विमानस्थलमा कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट मोडेल अझै तय हुन सकेको छैन । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषले बस सञ्चालन गर्न नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय केही महिनाअघि नै गरेको थियो । तर उक्त निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । 

लुम्बिनीमा दुई दिनका लागि मात्र बस सञ्चालन गरिएको थियो । चैत १८ र १९ गते दुई वटा बस बेलहिया–लुम्बिनी र लुम्बिनी–तिलौराकोट रूटमा सञ्चालन गरिएको थियो । त्यसपछि चैत २० गते लुम्बिनी विकास कोषले पाँचवटै बस भैरहवास्थित नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको थियो । 

butwal-ev3

लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठका अनुसार मन्त्रालयकै निर्देशनअनुसार उक्त निर्णय कार्यान्वयन गरिएको हो । उनका अनुसार यसअघिका पर्यटन मन्त्रीकै कार्यकालमा यस्तो निर्णय भएको थियो ।
गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद राउतले बसहरू हाल सुरक्षित रूपमा राखिएको जानकारी दिए । तर, मर्मत, सञ्चालन र व्यवस्थापनको स्पष्ट योजना मन्त्रालयबाट अझै नआएको उनले बताए ।

बसहरूको ब्याट्री, एसीलगायत उपकरण मर्मत गर्नुपर्ने अवस्था रहेको र त्यसका लागि थप बजेट आवश्यक पर्ने उनले जनाए । 

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, धनगढी विमानस्थल, नेपालगञ्ज विमानस्थल र सुर्खेत विमानस्थलमा एक–एक वटा बस सञ्चालन गर्ने प्रारम्भिक निर्णय भएको छ । तर भैरहवाका लागि भने अहिलेसम्म कुनै निर्णय भएको छैन । 

लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यले करिब ६ वर्षअघि एसियाली विकास बैंकको अनुदानमा ५ वटा अत्याधुनिक बस र १४ वटा भ्यान ल्याइएको थियो । गत हप्ता प्रधानमन्त्री कार्यालयको निर्देशनमा दुई वटा बस सञ्चालनमा ल्याइए पनि दुई दिनमै बन्द गरी विमानस्थलको जिम्मा लगाइएको थियो । यसप्रति स्थानीयले असन्तुष्टि जनाएका छन् । 

लुम्बिनी बचाउ महाअभियानका सह–संयोजक रामविकास चौधरीले विकास कोषको अक्षमताका कारण बस सञ्चालन हुन नसकेको आरोप लगाएका छन् । उनका अनुसार बस सञ्चालनका लागि पटक–पटक माग गर्दा पनि बेवास्ता गरिएको थियो । 

butwal-ev2

करिब १३ करोड रुपैयाँ मूल्यका यी सवारीसाधन लामो समय घामपानीमा थन्किँदा अधिकांशमा क्षति पुगेको छ । कोषका एक अधिकृतका अनुसार मर्मतका लागि मात्रै करिब एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । 

बसहरू विमानस्थलमा पठाएपछि भ्यान सञ्चालन गर्ने तयारी

लुम्बिनी विकासका लागि करिब पाँच वर्षअघि ‘क्लिन इनर्जी प्रोजेक्ट’अन्तर्गत करिब १३ करोड रुपैयाँ लागतमा ५ वटा विद्युतीय बस र १४ वटा विद्युतीय भ्यान ल्याइएको थियो । लुम्बिनी क्षेत्रमा सञ्चालनका लागि ल्याइएका विद्युतीय बस अन्यत्र पठाइएपछि अब लुम्बिनी विकास कोष भ्यान सञ्चालनको तयारीमा जुटेको छ । 

२०७७ मंसिर–पुसमा ल्याइएका ती सवारीसाधन २०७९ जेठमा मात्रै औपचारिक रूपमा कोषको नाममा ल्याइएको थियो । सेतो प्लेटबाट हरियो प्लेटमा रूपान्तरण गर्न समेत लामो समय लागेको थियो । हरियो प्लेट कार्यान्वयनका लागि लुम्बिनी बचाउ महाअभियानले अदालतमा मुद्दा दायर गरेपछि मात्र प्रक्रिया अघि बढेको बताइन्छ । 

हाल ती बसहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका छन् भने भ्यानहरू भने लुम्बिनीमै छन् । केही भ्यान विगतमा कोषका पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्दै आएका थिए भने अहिले दुई दिनदेखि सबै भ्यान चार्जिङ स्टेसनमा राखिएको छ । 

butwal-ev

लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठका अनुसार अहिले बस मात्र विमानस्थलमा पठाइएको छ र भ्यान सञ्चालनबारे मन्त्रालयबाट कुनै ठोस निर्णय आएको छैन । तर कोषले चाँडै नै भ्यानहरू सञ्चालनमा ल्याउने तयारी गरिरहेको उनले बताए । उनका अनुसार भ्यानहरू निश्चित समय तालिका बनाएर लुम्बिनी सर्किट क्षेत्रमा सञ्चालन गरिनेछ । भाडादर, समय तालिकालगायत विषयमा योजना बनिरहेको छ भने छिट्टै कार्यविधि बनाएर सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । 

यी सवारीसाधन लुम्बिनीलाई तिलौराकोट, रामग्राम र देवदहजस्ता बौद्धस्थलसँग जोड्ने उद्देश्यले ल्याइएका हुन् । तर स्थानीय पर्यटन व्यवसायी र सरोकारवालाहरू भने कोषको योजनाप्रति सशकिंत देखिएका छन् ।
लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक रामविकास चौधरीले विकास कोषको लापरबाहीका कारण बस अन्यत्र पुगेको आरोप लगाउँदै भ्यान सञ्चालनको योजना पनि केवल आश्वासनमा सीमित हुने दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप