नयाँ वर्षले सकारात्मक सोच र नवीन ऊर्जा ल्याउने डा. कोइरालाको विश्वास
सारांश
- डा. शेखर कोइरालाले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्।
- राजनीतिमा युवापुस्ताको सक्रियताले सकारात्मक मोड ल्याएको र अबको नेतृत्व पारदर्शी तथा जबाफदेही हुनुपर्नेमा उनले जोड दिएका छन्।
- कांग्रेसले समयको मागअनुसार आफूलाई रूपान्तरण गर्दै राष्ट्रिय एकता र मेलमिलापको बाटोमा अघि बढ्नुपर्ने उनको भनाइ छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिँदै बितेको वर्ष नेपाली राजनीतिमा युवापुस्ताको बढ्दो चेतना र सक्रियताले एउटा नयाँ र सकारात्मक मोड ल्याएको उल्लेख गरेका छन्। कोइरालाले सामाजिक सञ्जालदेखि सडकसम्म सुनिएको युवाहरूको आवाज अब केवल विरोधमा मात्र सीमित नरहेर नेतृत्व र उत्तरदायित्वतर्फ उन्मुख हुनु सुखद पक्ष भएको बताएका हुन्।
युवाहरूको यो हस्तक्षेपकारी भूमिकाले राजनीतिलाई नयाँ दिशा दिएको उनको ठम्याइ छ। परिवर्तित परिवेशसँगै सरकारप्रति जनताको अपेक्षा निकै चुलिएको भन्दै उनले अब गफभन्दा पनि काम गरेर देखाउने पारदर्शी र जबाफदेही नेतृत्वको खाँचो रहेकोमा जोड दिएका छन्। सुशासन र विकासबिच सन्तुलन कायम गरी देशलाई समृद्धितर्फ लैजानु नै सरकारको मुख्य दायित्व हुनुपर्ने उनले प्रस्ट पारेका छन्।
नेपाली कांग्रेसको आन्तरिक अवस्था र भविष्यको बाटोबारे चर्चा गर्दै नेता कोइरालाले कांग्रेस अझै पनि राष्ट्रिय राजनीतिको एउटा महत्त्वपूर्ण शक्ति भएको दाबी गरेका छन्। यद्यपि, बदलिँदो समयको मागअनुसार पार्टीले आफूलाई रूपान्तरण गर्न र नयाँ पुस्तालाई समेट्न सक्नुपर्ने उनको भनाइ छ। आफ्ना पुराना मूल्य, मान्यता र आदर्शलाई नछाडी एकताबद्ध भएर अघि बढ्न सके मात्र कांग्रेसले पुनः जनविश्वास जित्न सक्ने कोइरालाले उल्लेख गरेका छन्।
राष्ट्रिय मेलमिलाप, एकता र सहकार्य नै मुलुकको निकासको मार्ग भएको बताउँदै उनले नयाँ वर्षले सबै नेपालीमा सकारात्मक सोच र नवीन ऊर्जा ल्याउने विश्वास व्यक्त गरेका छन्। साझा प्रयासबाट समृद्ध र आत्मनिर्भर नेपाल निर्माण गर्ने सङ्कल्पका साथ अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्दै उनले सबैको सपना र आकांक्षाहरू पूरा हुने नयाँ अवसरहरू सिर्जना हुन् भन्ने कामना समेत गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण