नयाँ वर्ष २०८३ घामजस्तै चहकिलो होस्
सारांश
- नयाँ वर्ष २०८३ को अवसरमा व्यक्तिगत सुधार, चुनौतीलाई अवसर बनाउने र देशको समृद्धिका लागि ठोस योजना निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
- आरोग्य जीवनशैली, शिक्षामा जागरूकता, भ्रष्टाचार नियन्त्रण र सन्तुलित वैदेशिक सम्बन्धमार्फत मुलुकलाई समृद्ध बनाउन सकिने उल्लेख गरिएको छ।
- नयाँ वर्षलाई विगतका उपलब्धिको समीक्षा गर्दै भविष्यको लक्ष्य निर्धारण गर्ने र सकारात्मक ऊर्जाका साथ अघि बढ्ने उत्सवको रूपमा लिनुपर्छ।
हरेक देशमा आ–आफ्नै प्रकारका वर्षहरू हुन्छन् । हाम्रो देश बहुजातीय र बहुभाषिक छ । समुदायपिच्छे वर्ष फेरिने समय फरक छ तापनि देशभर विक्रम संवत्लाई मानक मान्दै आएका छौँ । यसैगरी विश्वको मानक वर्षको रूपमा इस्वी संवत् रहेको छ ।
समयको कुनै क्षण दोहोरिएको हुँदैन । वि.सं. २०८२ चैत ३० गते रातको ११ बजेर ५९ मिनेट पनि यसअघि आएको थिएन । तर हामी यसलाई नयाँ मान्दैनौँ । हामीले केवल १२ महिना अर्थात् ३६५ दिन बितेपछिको समयलाई मात्र नयाँ मान्छौँ । वर्षहरू जति नयाँ आउँछन् हामी उत्ति पुराना बन्दै जान्छौँ । हाम्रा जीवनका सुनौला दिनहरू घट्दै जान्छन् । त्यसैले बितेको वर्षभन्दा आउने वर्ष थप प्रभावकारी बनाउनु आवश्यक छ ।
आँखा झिमिक्क गर्न पाएको हुँदैन समय पुरानो भइहाल्छ । वर्तमान समय एक श्वास बराबरको मात्र हुन्छ । हरेक क्षणको योजना बनाउन र मूल्याङ्कन गर्न सकिँदैन । हामीले चाहे पनि वा नचाहे पनि समय निरन्तर बगिरहन्छ । बितेको समय फर्काउन नसकिने हुनाले हाम्रो आशा नयाँ वर्षमा जान्छ । समयजस्तो छिटो र बलवान् केही छैन । हामीले समयलाई देख्न, सुन्न, छाम्न सक्दैनौँ । तर मानिसले बनाएको घडीले भने समय निरन्तर देखाइरहन्छ । घडीकै समयलाई आधार मानेर हामी नयाँ वर्ष मनाउँछौँ ।
त्यसैले हामीले प्रत्येक क्षणको सदुपयोग गरेका छौँ कि छैनौँ ख्याल गर्नुपर्छ । सर्वप्रथम नगरी नहुने काम भनेको बाँच्ने प्रयास हो । सबैले आफूलाई बचाउनु पहिलो धर्म हो । त्यसैले हरक्षण श्वास त लिइरहेका छौँ । श्वासलाई सम्झेर फेर्नुपर्ने भए अरू काम गर्न सकिने थिएन । यो काम प्राकृतिक रूपले भइदिनाले हामीले अरू कुरा सोच्न र गर्न पाएका छौँ ।
आउँदै गरेको २०८३ सालले सबैलाई सुखी र खुसी बनाउन तलका तीनवटा क्षेत्रमा काम गर्न सकौँ ।
- सर्वप्रथम आफू सुध्रिन सकौँ
पहिले सुध्रिनुपर्ने व्यक्ति आफैँ हो । स्वयंलाई सपार्न कसैले छेकेको छैन । वास्तवमा हरेक व्यक्ति आफू सप्रे पुग्छ । अरूलाई बदल्ने मिहिनेत गर्नै पर्दैन । चाह्यो भने त्यो अर्को व्यक्ति आफैँ बदलिन्छ वा सुध्रिन्छ । अरूले मिलेसम्म वातावरण बनाइदिने काम गर्न सकिन्छ । हामी सबै नागरिक, सरकारमा रहेका र नरहेका सबैले हृदयलाई खुला बनाउन सकौँ । विरोधी वा प्रतिशोधको भावना कसैमा नआओस् । सबै सन्दर्भ र परिस्थितिलाई स्वागत गर्न सकौँ । पुरानोलाई बदल्न नयाँ काम गर्नुपर्छ । व्यक्तिगत जीवनमा सदाचार र सरकारमा अनुशासन होस् । यति भए देश समृद्धिको बाटोमा लम्किन्छ ।
चुनौतीलाई अवसरको रूपमा लिऊँ
व्यक्तिका जीवनमा हरेक अप्ठ्याराहरू आउँछन् । त्यसमाथि पनि सार्वजनिक पदमा रहँदा अरूका समस्या पनि आफ्नै हुन्छन् । सबै काम एकैपटक गर्न सकिँदैन । चुनौतीलाई अवसर मानेर समानुभूतिले गर्न सक्नुपर्छ । तपस्या गर्न जङ्गल, ओडार वा नदीको तीरमा जानुपर्दैन । कर्मक्षेत्रमा निरन्तर अविचलित भएर डट्नु नै तपस्या हो । यी कुराहरू व्यक्तिगत जीवनमा र सरकार चलाउने वा नचलाउने सबैको हकमा लागू हुन्छन् ।
- देश र नागरिक समृद्धिका योजना बनून्
नयाँ वर्ष मनाउँदा बितेको वर्षका उपलब्धिको मूल्याङ्कन हुनुपर्छ । अनि मात्र आगामी वर्षको लक्ष्य निर्धारण गर्न सकिन्छ । लक्ष्यलाई पूरा गर्ने प्रतिज्ञा र कार्यप्रक्रिया निर्धारण गर्ने समय हो नयाँ वर्ष । लक्ष्य भनेको कुलो हो, जसबाट पानी बग्ने मार्ग तय हुन्छ । नत्र पानीले गन्तव्य भेट्दैन । वास्तवमा आफ्नो जीवनका बाँकी सुनौला दिनलाई उत्सवमय बनाउनु छ । जागरूकतामा देखिने सपनालाई योजनामा ढालेर अगाडि बढ्न नयाँ वर्षको उत्सव मनाइन्छ ।
यसका लागि हरेक नागरिक, राजनीतिक दल, सरकारमा रहने पदाधिकारी र सरकार बाहिर रहने सबैले विधिले निषेध गरिएका कार्यहरू नगरून् । सार्वजनिक पदमा रहनेले ज्ञान र विज्ञान छुट्टै बनाएर होइन, एक हो भन्ने प्रमाणित गरून् । प्रकाश बाहिर मात्र छैन, आफूभित्रको प्रकाशको मार्गदर्शनले काम गरून् । अहिलेका सांसद र मन्त्रिपरिषद्का सदस्यहरू युवा ऊर्जाको जगले बनेका छन् । पुरानो भारी कसैको काँधमा छैन । तर अहिलेको भारी मतको जिम्मेवारी गहन र बोझिलो छ ।
योजना बनाउँदा तल लेखिएका कुराहरू छुट्नु हुँदैन ।
- आरोग्यता
हामी सबैलाई चाहिएको आरोग्यता हो । त्यसकै लागि अस्पताल खुलेका हुन् । वास्तवमा अस्पताल हेर्न, अनुभूत गर्न मन लागेर होइन । घरको भान्छा र स्कुलभवन आरोग्यताको केन्द्र बनून् । नित्य भोजन नै औषधि बनोस् । औषधि आयातमा हुने खर्च स्वतः बचत होस् । नेपाल सरकारको १०० बुँदे कार्यक्रमको ७३ नम्बर बुँदामा नेपाललाई आरोग्य पर्यटनको हब बनाउने नीति छ ।
यो नीति केवल पर्यटन नेपाल भित्र्याउन मात्र होइन । विश्वभरका सम्पूर्ण विश्व मानवतालाई आरोग्यता बाँड्ने हो । यसका लागि सर्वप्रथम हामी नेपाली स्वस्थ हुनैपर्छ । अन्यथा नेपालले राखेको आरोग्यताको नारा सतही हुन्छ । नेपालको पहलमा संयुक्त राष्ट्रसङ्घले अप्रिल १५ लाई विश्व आरोग्य दिवस घोषणा गरेको छ । यसबाट नेपाल वैज्ञानिक ऋषिमुनिको देश र योगभूमि हो भन्ने तथ्य विश्वसामु पुगेको छ ।
- शिक्षामा जागरूकता र देशप्रेम
आफूलाई चिनेको मान्छेले मात्र अरूलाई चिन्न सक्छ । नवनिर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्नुअघि नै योग ध्यानको चास्नी लिइसकेको अवस्था छ । पहिलो पाइलाले गन्तव्य निर्धारण गरेको छ । स्कुल, कलेजका लागि तह सुहाउँदो योग ध्यानको पाठ्यक्रम बनाउने काम सुरु भइसकेको छ । यसबाट स्वजागरण हुने शिक्षा सबैलाई मिलोस् ।
सरकारका मन्त्रीहरू, नेता र कार्यकर्ता सबैले भौतिक प्रयोगशालामा गएर वा जुमका माध्यमले योग ध्यान गर्ने वातावरण बनाउनुपर्छ । सर्वप्रथम सभासद्हरूले हरेक बिहान जुमबाट कम्तीमा डेढ घण्टा योग ध्यान गरेर आफूलाई ताजगी बनाउन सकिन्छ । यसका लागि जीवन विज्ञानले चलाएका जुमहरू छन् । समय अनुकूल पार्न जुमको छुट्टै व्यवस्था गरेर चलाउन पनि हामी जीवन विज्ञानका प्रशिक्षकहरू तयार छौँ ।
- विकास निर्माण र आर्थिक विकास
सरकारमा रहेका वा नरहेका कसैले पनि भ्रष्टाचार नगरे विकासको कदम अगाडि बढ्छ । गएको भदौ २३ र २४ गतेको आन्दोलनको कारण पनि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम होस् भन्ने नै थियो । आयातमा आधारित राजस्वले हाम्रो देशमा रोजगारीका अवसरहरू खुम्चिएका छन् । अर्थतन्त्र खोक्रिएको छ । तत्काल निर्यातमूलक उद्योग खोल्न नसके पनि आयात प्रतिस्थापन उद्योग चलाउन सकिन्छ ।
यसका लागि रुग्ण उद्योगलाई पुनर्स्थापना गरेर अर्थतन्त्रलाई चलायमान र रोजगारी सिर्जना गर्दै जान सकिन्छ । आशा राखौँ, अबको पाँच वर्षभित्रमा युवाले बाध्यतावश देश छोड्न नपरोस् । अर्को पाँच वर्षपछि विदेशमा रहेका हाम्रा सबै छोराछोरी स्वदेश फर्कन सहज होस् ।
- स्थिर र सम्मानित वैदेशिक सम्बन्ध
अहिलेको विश्व दोहोरो सम्बन्धमा आधारित छ । देशको सार्वभौमसत्तालाई अक्षुण्ण राख्दै समान अस्तित्वका आधारमा नेपालको वैदेशिक सम्बन्ध कायम हुनुपर्छ । देशको हित र सम्मानको रक्षालाई शरीरको रक्षा गर्नु जत्तिकै महत्त्वपूर्ण मानिन्छ । नेपालको सम्मानमा मात्र नेपालीको समृद्धि निहित छ ।
अहङ्काररहित भएर सत्यतामा आधारित हुँदै सर्वकल्याण भावले काम गर्न व्यक्ति र सरकारलाई कसैले छेक्दैन । आँट र जोसजाँगर त यो सरकारमा रहेकै छ, यसमा होस मिसाउन सजग हुनैपर्छ । सामाजिक भलाइमा निरन्तर डट्ने व्यक्तिलाई काम बाँकी रहुन्जेल कालले पनि लैजान सक्दैन भनिन्छ । यो भनाइ हाम्रो व्यावहारिक अनुभवबाट पाकेको उखान हो । समयले सधैँ साथ दिइरहन्छ भन्ने छैन । पाएको मौकालाई सदुपयोग गर्नु ईश्वरीय कर्म हो । यसरी सामाजिक सेवाको अवसर पाउनुलाई परमात्माको कृपा भनिन्छ ।
खास गरेर, नेतालाई शुक्लयजुर्वेदले मर्मवेत्ता भनेको छ । नेतृत्वले लोकप्रियताका लागि मात्र काम गर्ने होइन । देश जनताको दीर्घकालीन हित र समृद्धिको खाकामा टेकेर पाइला चाल्नुपर्छ । फ्ल्यासलाइट बालेजस्तो कहिले बल्ने र कहिले निभ्ने नभई सूर्यको उज्यालोजस्तै भएर निरन्तर चहकिलो गरी बल्न सक्नुपर्छ ।
हाम्रो समाजमा रहेका आर्थिक र सामाजिक विसङ्गतिहरूको जरा समूल नष्ट गर्न राजनीतिज्ञलाई शक्ति मिलोस् । सहकारी पीडितदेखि मिटरब्याजले आक्रान्त समुदायले न्याय पाउन सकून् । पुरुषसँग महिला र महिलासँग पुरुष डराउन नपरोस् । जातपात र होचोनिचोको भाव कसैमा नआओस् । सरकारी कार्यालयहरूबाट सहज रूपले काम सकेर खुसीले निस्कन सकियोस् । आधारभूत आवश्यकताको चिन्ता हटेर प्रगतिको विषयमा चिन्तन गर्न पाइयोस् ।
यसैगरी, विदेशले नेपाली पासपोर्ट देख्दा योगी, शान्त, खुसी र समृद्ध नेपालीको रूपमा चिनून् । आफ्नै सुगन्धित माटोमा उम्रेको फसलको सेवन र स्वच्छ हावापानीको रसपान गर्दै प्राकृतिक बगैँचामा आनन्दपूर्वक विचरण गर्न पाइयोस् । वि.सं. २०८३ ले आँटेका काम पूरा गर्न हामी सबैलाई साथ देओस् । यही शुभभाव राख्दै नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना ।
सबैको जय होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण