बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रणनीतिक सडक कालोपत्रे गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण, आगामी बजेटमा समेट्ने प्रतिबद्धता

मङ्गलबार, ०१ वैशाख २०८३, १३ : ०९
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विजयनगर गाउँपालिकाले विकास निर्माणका विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ।
  • मुख्यमन्त्री आचार्यले विजयनगरको १२ किलोमिटर रणनीतिक सडक कालोपत्रे गर्ने योजनालाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने प्रतिबद्धता जनाएका छन्।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष विजयनगर गाउँपालिकाले आफ्नो क्षेत्रको समग्र विकास र पूर्वाधार विस्तारका लागि विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएको छ।

नयाँ वर्ष २०८३ को अवसरमा गाउँपालिकाको भ्रमणमा पुगेका मुख्यमन्त्री आचार्यलाई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले विकासका ठोस एजेन्डासहितको माग पत्र हस्तान्तरण गरेका हुन्। ज्ञापनपत्रमा विशेषगरी सडक सञ्जालको विस्तार, सिँचाइको उचित प्रबन्ध, नदी नियन्त्रण, शिक्षा र पर्यटन पूर्वाधारका योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउन माग गरिएको छ।

गाउँपालिकाले सबैभन्दा प्रमुख मागको रूपमा शिवराज नगरपालिकाको सुरही पुलदेखि विजयनगर हुँदै कृष्णनगर नगरपालिकाको झिंगाहा जोड्ने करिब १२ किलोमिटर सडकलाई कालोपत्रे गर्नुपर्ने विषयलाई अगाडि सारेको छ। यस सडकलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने एक रणनीतिक सहायक मार्गको रूपमा प्रस्तुत गर्दै स्थानीयले यसको निर्माणबाट यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो टेवा पुग्ने अपेक्षा राखेका छन्। यसका साथै शंकरपुर तालको पुनर्निर्माण, सुरही र अर्रा नदीको कटान नियन्त्रण गरी बस्ती जोगाउनुपर्ने, कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउनुपर्ने तथा विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएका छन्।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले विजयनगर गाउँपालिकाले प्रस्तुत गरेका योजनाहरूलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताए। उनले स्थानीयले माग गरेको १२ किलोमिटर सडक खण्डलाई आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता जनाएका छन्। मुख्यमन्त्रीले सो सडकलाई बहुवर्षीय योजनाको रूपमा अघि बढाउने स्पष्ट पार्दै यसअघि नै आफूले स्थलगत अनुगमन समेत गरिसकेको जानकारी दिए।

प्रदेश सरकारले सीमित स्रोत र साधनका बीच पनि आवश्यकता र प्राथमिकताका आधारमा विकास निर्माणलाई गति दिने र स्थानीय तहसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने उनले उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप