‘सिरुवा पसारे, फगुवा उसारे’
सारांश
- मैथिली संस्कृतिमा 'फगुवा उसारे, सिरुवा पसारे' उखानले वर्षभरिका चाडपर्वहरूलाई एक सूत्रमा बाँध्ने काम गर्छ।
- सिरुवा पर्वले नयाँ वर्षको सुरुवात गर्ने र फगुवा (होली) पर्वले त्यस वर्षका पर्वहरूको समापन गर्ने गर्दछ।
- मिथिलाका चाडपर्वहरू धार्मिक आस्था, सामाजिक मूल्य र परम्पराका जीवन्त प्रतीक हुन्।
उखान (फकरा वा कहावत) लोकभाष्यको एक गहना हो । यो लोकमतको अभिव्यक्तिमा संक्षिप्त सूत्रका रूपमा प्रयुक्त भएको हुन्छ, जसको अर्थ विस्तारमा लगाइन्छ । त्यस सूत्रको स्पष्टीकरण वा पद–व्याख्याका आ–आफ्नै स्थापित मान्यताहरू हुन्छन् । उखानमा प्रचलित मान्यता, मनोरञ्जन, व्यङ्ग्य, सुझाव र उपदेशलाई सरल रूपमा बुझिने गरी व्यक्त गरिएको हुन्छ । उखानहरू लोकजीवनमा पुस्तान्तरण प्रक्रियाबाट एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएका हुन्छन् । उखान केवल भाषिक समृद्धिको अलङ्कार मात्र होइन, यो समाजको ऐना पनि हो ।
प्रत्येक संस्कृतिमा उखानको उपस्थिति देखिन्छ । उखान प्रत्येक संस्कृति र भाषाको अभिन्न अङ्ग हो । समाजले लामो अनुभवद्वारा स्थापित गरेका सामाजिक मूल्य–मान्यताहरूलाई साहित्यले उखानका रूपमा सँगालेर राखेको छ । मिथिला भाषा, संस्कृति, चाडबाड र व्यवहारहरूको बुझाइमा उखान (फकरा) को महत्त्वपूर्ण योगदान रहेको छ । मैथिली संस्कृतिमा चाडपर्वहरू केवल कर्मकाण्ड मात्र नभई लोकव्यवहारका दर्शन पनि हुन् ।
मैथिली चाडपर्वहरूमा अनेक फकराहरू प्रचलित छन् । तीमध्ये महत्त्वका दृष्टिले कुनै पनि एकअर्काभन्दा कम छैनन् । तर पनि कुनै मुख्य उखानको एक मात्र नाम लिनुपर्दा सिरुवा पर्वको सेरोफेरोमा बोलिने ‘फगुवा उसारे, सिरुवा पसारे’ उखानलाई लिन सकिन्छ । यसले दुई प्रमुख चाडबिचको अन्तराललाई जोड्छ र साथै मिथिलाका सम्पूर्ण चाडपर्वहरूलाई एकीकृत रूपमा सम्बोधन पनि गर्छ । हरेक वर्ष चैत मसान्त र वैशाख सङ्क्रान्तिका दिन मनाइने सतुवाइन र जुड शीतल (सिरुवा) पर्वबाट चाडपर्वहरूको सुरुआत हुन्छ ।
त्यस्तै, फागुन महिनाको पूर्णिमाको अघिल्लो र पछिल्लो दिन मनाइने फागु पर्व त्यस वर्षका पर्वहरूको अन्तिम शृङ्खलाका रूपमा रहेको हुन्छ । अर्थात्, सिरुवा पर्वबाट चाडपर्वहरूको प्रसार (पसारे) हुन्छ भने फागु पर्वबाट पर्वहरूको समापन (उसारे) हुन्छ । त्यसैले ‘फगुवा उसारे, सिरुवा पसारे’ भनिएको हो । ‘सिरुवा पसारे, फगुवा उसारे’ वाक्यांशको शाब्दिक अर्थ हो— सिरुवा (मैथिली नयाँ वर्ष/जुड शीतल) ले नयाँ जीवन प्रारम्भ गर्छ र फगुवा (होली) ले त्यस चक्रलाई अन्तिम उत्सवको रूप दिन्छ ।
मैथिली संस्कृतिमा मनाइने चाडपर्वहरू धार्मिक आस्थाका प्रतीक हुन् । यी चाडपर्वहरू समाजलाई जीवन्त तुल्याउने परम्परा, कला र सामाजिक व्यवहारका सँगालो पनि हुन् । चाडपर्वहरू धार्मिक, सांस्कृतिक, पारम्परिक, प्रथागत, उत्सवमूलक, मनोरञ्जनात्मक आदि प्रकृतिका रहेको पाइन्छ ।
मैथिली चाडपर्वहरूको वार्षिक चक्रअनुसार चैत–वैशाख महिनामा सतुवाइन, जुड शीतल (सिरुवा) र अक्षय तृतीया पर्वहरू पर्छन् । जेठ महिनामा गङ्गा दशहरा र निर्जला एकादशी पर्व पर्छन् । असार महिनामा मधुश्रावणी सुरु हुन्छ, जुन साउन महिनासम्म चल्छ । साउन महिनामा मधुश्रावणीको समापनसँगै नागपञ्चमी पनि मनाइन्छ । भदौ महिनामा चौरचन, कुशी अमावस्या, कृष्ण जन्माष्टमी, रक्षाबन्धन आदि पर्व पर्छन् । असोज महिनामा शारदीय नवरात्र र जितिया पर्व पर्छ । कात्तिक महिनामा सबैभन्दा बढी चाडपर्वहरू पर्छन् ।
जस्तैः दीपावली अर्थात् लक्ष्मीपूजा, जसलाई कालीपूजाका रूपमा पनि मनाइन्छ । दीपावली यमपञ्चकका रूपमा मनाइन्छ । यमपञ्चकमा कुकुर तिहार, गाईपूजा, गोवर्धन पूजा, धन्वन्तरि पूजा र भाइटीकाका साथै यसै महिनामा छठ र सामाचकेवा आदि पर्व पर्छन् । मङ्सिर महिनामा विवाह पञ्चमीको धुमधाम हुन्छ । पुस महिनामा पर्ने नरक निवारण चतुर्दशीको निकै महत्त्व छ; वृद्धवृद्धाहरू प्रायः यस दिन उपवास बस्ने गर्छन् । माघ महिनामा तिला सङ्क्रान्ति र श्रीपञ्चमी महत्त्वपूर्ण पर्वका रूपमा रहेका हुन्छन् ।
तिला सङ्क्रान्तिलाई माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति, माघी आदि विभिन्न क्षेत्रमा विभिन्न नामले मनाउने गरिएको छ । खासगरी सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिन सूर्यको पूजा गरिन्छ । श्रीपञ्चमी माघ महिनाको (गुप्त) नवरात्रभित्र पञ्चमी तिथिको पूजा हो । विद्यालयहरूमा सरस्वती पूजाको नामले विद्यार्थीहरू निकै धुमधामका साथ श्रीपञ्चमी मनाउँछन् । अधिकांश विद्यालयमा सरस्वतीको स्थायी मन्दिर नै निर्माण गरिएको पाइन्छ । मन्दिर नभएका विद्यालयहरूमा माटोको मूर्ति राखी पूजा गरिन्छ र पूजापश्चात् मूर्तिलाई जलप्रवाह गरिन्छ । यता शक्तिपीठहरूमा भने साधक तथा आध्यात्मिक व्यक्तिहरू नवरात्रका नौवटै दिन देवी शक्ति नवदुर्गाको विधिविधानले पूजा गर्ने, उपवास बस्ने र साधना गर्ने गर्छन् ।
फागुन महिनामा शिवरात्रि र होली महत्त्वपूर्ण पर्वका रूपमा रहेका छन् । शिवरात्रि शिव र पार्वतीको पूजाका रूपमा फागुन कृष्ण त्रयोदशी तिथिका दिन मनाइन्छ । त्यस्तै, फागु पर्व जसलाई होली पनि भनिन्छ, यो पर्व फागुन पूर्णिमा र चैत कृष्ण प्रतिपदाका दिन मनाउने चलन छ । पूर्णिमाको दिन होलिका दहन गरिन्छ भने त्यसको भोलिपल्ट असत्यमाथि सत्यको विजयका रूपमा विजय उत्सव मनाइन्छ । यस दिन मांसाहार, मिष्टान्न, मदिरापान, नाचगान, छेडछाड, ‘बुरा नमानो होली है’ (उखान) जस्ता अनेकौँ तरिकाले मनोरञ्जन गर्दै होलीको उत्सव मनाइन्छ ।
एकअर्कामाथि रङ र अबिर छर्कने तथा एकअर्काको घरमा गई भोजन गर्ने चलनले गर्दा होली अत्यन्तै उत्कर्षको पर्व बन्न पुगेको छ । चैत महिनाको अन्तिम दिन (चैत मसान्त) र त्यसको भोलिपल्ट वैशाख सङ्क्रान्ति (नयाँ वर्षको पहिलो दिन वैशाख १ गते) का दिन सतुवाइन पर्व मनाइन्छ । यो पर्व सिरुवा पर्वको पूर्वपृष्ठका रूपमा रहेको छ । सतुवाइनमा चना, गहुँ, मकै, जौ, भटमास लगायतका गेडागुडी मिसाएर तयार पारेको सातु (सतुवा) खाने तथा दान गर्ने चलन छ ।
यसरी मिथिला संस्कृतिमा चाडपर्वहरूको वार्षिक तथा मासिक क्रम एउटा चक्रका रूपमा रहेको पाइन्छ । जसमा संवत्सरको हिसाबले वर्षको प्रथम महिना चैत–वैशाखदेखि सुरु भएर वर्षको अन्त्यतिर फागुनमा पर्ने पर्वहरूको चक्र रहेको छ । ‘फगुवा उसारे, सिरुवा पसारे’ उखानको अर्थ यिनै वर्षभरिका चाडपर्वहरूलाई एक सूत्रमा बाँध्नु हो । यो उखानको प्रयोग चैत सुरु हुनासाथ गर्न थालिन्छ, जुन वैशाख १ गतेसम्म कुनै न कुनै रूपमा बोलचालमा प्रयोग भइरहेको हुन्छ ।
होली (फागु) पर्वको ‘जे जीवे से खेले फाग’ निकै चर्चित उखान हो, जसको अर्थ हुन्छ— ‘जो जीवित छ, उसैले होली खेल्छ ।’ यो उखानले जीवनलाई ऊर्जा प्रदान गर्छ र एउटा यस्तो उत्साह थप्छ, जसले जीवनलाई उत्सवका रूपमा रूपान्तरण गर्छ ।
सामाचकेवाका पारम्परिक गीतहरूमा पनि उखानसदृश पदावलीहरू प्रयुक्त भएको पाइन्छ । जस्तैः ‘भैया कोठी चाउर, चुगला कोठी छाऊर ।’ यसले सामाजिक दुष्टता वा कुरा काट्ने व्यक्तिप्रतिको घृणा र दाजुभाइप्रतिको स्नेहको भावनालाई झल्काउँछ ।
जितिया (जीवित्पुत्रिका) पर्व थारू र मैथिल महिलाको एक प्रमुख पर्व हो । आमाहरूले आफ्ना सन्तानको दीर्घायु र स्वास्थ्यका लागि मनाउने यो पर्व तीन दिवसीय अत्यन्त कठिन व्रत हो । यसमा पानीसमेत पिउनु हुँदैन, अर्थात् निर्जला बस्नुपर्छ । मुख्यतः असोज कृष्ण अष्टमीका दिन गरिने यस पर्वको अवसरमा व्रतालुहरू नदी, पोखरी वा जलाशयमा स्नान गरेर जितवाहन भगवान्को पूजा गर्छन् ।
यस पर्वका दौरान ‘जितिया पावैन बड भारी, धीयापूताके ठोकि सुतौलनि, अपना खएलनि भरि थारी...’ जस्तो पारम्परिक उखान निकै प्रचलित छ । ‘जितिया पावैन बड भारी’ अर्थात् जितिया पर्व निकै कठिन निर्जला व्रत भएकाले यसलाई भारी (कठिन) भनिएको हो । ‘धीयापूताके ठोकि सुतौलनि’ अर्थात् आफ्ना बच्चाबच्चीलाई सबेरै थपकी दिएर सुताइदिइन् र ‘अपना खएलनि भरि थारी’ अर्थात् त्यसपछि आफूले थालभरि भोजन गरिन् । यो सुन्दा एक प्रकारले व्यङ्ग्यजस्तो देखिन्छ, तर यसमा मार्गदर्शन लुकेको छ । केटाकेटीलाई सखारै खाना खुवाएर सुताइदिनुपर्छ अनि आरामले मन र पेटभरि खाना खानुपर्छ भन्ने सन्देश यसले दिन्छ । यसरी टन्नै खाना खानुपर्नाको कारण भनेको त्यही तीन दिवसीय निर्जला उपवासको सङ्कल्प हो ।
‘मडुवाक रोटी पोठिया माछ’, ‘माय खरजितिया केने छलिह’ जस्ता मैथिली उखानहरू पनि निकै प्रचलित छन् । ‘मडुवा’ भनेको कोदो हो । कोदो निकै गतिलो र प्राचीन आधारभूत खाद्यपदार्थ भए पनि कालान्तरमा अन्य खाद्यान्नले यसको स्थान लिँदै गए । तर, हाम्रा चाडबाडमा यस्ता प्राचीन तथा गुणी खाद्यवस्तुहरू अझै पनि संरक्षित अवस्थामै छन् । त्यस्तै, ‘पोठिया माछ’ (पोठी माछा) भनेको पोखरी वा नदीकिनारमा सहजै पाइने, सजिलै मार्न मिल्ने र प्रोटिनयुक्त पोषिलो जलचर हो । यसरी जितिया पर्वको व्रत बस्नुअघि व्रतालुहरूले मडुवाको रोटी र पोठिया माछा जस्ता पोषिला खानेकुरा दरो गरी खानुपर्छ भन्ने सन्देश यी उखानले परम्परादेखि नै दिँदै आएका छन् ।
जितिया पर्व दुई प्रकृतिको हुन्छ— पहिलो सामान्य जितिया र दोस्रो खरजितिया । सामान्य जितियामा २४ घण्टा खान वा पिउन हुँदैन भने तिथिको घटबढका कारणले व्रतको समय लम्बिन गएको अवस्थालाई 'खरजितिया' भनिन्छ । आमाको यस कठोर तप र त्यागको बलमा सन्तानमाथिको सङ्कट टरेर जान्छ भन्ने लोकमान्यता छ । कोही व्यक्ति ठूलै सङ्कटबाट बच्यो भने ‘यसकी आमाले खरजितिया गरेकी रहिछन्’ भन्ने भनाइ तत्कालै आउँछ । यही नै उखानको विशेषता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण