शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सीएमसँग पीएमकाे छलफल

मुख्यमन्त्रीहरूसँग ‘इन्टरएक्टिभ’ देखिए बालेन

बिहीबार, ०३ वैशाख २०८३, २० : ०५
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्रीहरूसँग सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले तीन घण्टा लामो छलफल गर्नुभयो।
  • प्रधानमन्त्री शाहले अपनाएको 'इन्टरएक्टिभ' र 'एक्सन-ओरिएन्टेड' शैलीले गर्दा छलफल अर्थपूर्ण र नतिजामुखी बनेको छ।
  • प्रधानमन्त्री शाहले सङ्घ र प्रदेशबिचका अप्ठ्यारा सुल्झाउन साझा संयन्त्रमार्फत काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र प्रदेशका मुख्यमन्त्रीहरूबिच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद भएको छ। सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल केवल बैठकमा मात्र सीमित रहेन, बरु यो एक जीवन्त र साझा समाधान खोज्ने ’थलो’ बन्यो। सामान्यतया राजनीतिक भेटघाटहरूमा देखिने ‘प्रोटोकल’ र औपचारिकता यो बैठकमा कतै देखिएन। 

प्रधानमन्त्री शाहले अपनाएको ‘इन्टरएक्टिभ’ शैलीले मुख्यमन्त्रीहरूलाई चकित मात्र तुल्याएन, उहाँहरूमा एउटा नयाँ उत्साह समेत भरिदियो।छलफलका क्रममा मुख्यमन्त्रीहरूले आफ्ना समस्या राख्दै गर्दा प्रधानमन्त्री शाहले कुनै पनि विषयमा जिज्ञासा जाग्ने बित्तिकै तत्कालै बिचमै सोधेर स्पष्ट पार्ने र समाधानका विकल्पमा बहस छेड्ने गरे। 

प्रधानमन्त्री शाहको यो ‘एक्सन–ओरिएन्टेड’ शैलीलाई मुख्यमन्त्रीहरूले पनि उत्तिकै खुला हृदयले स्वागत गर्दै आफ्ना भोगाइ र अप्ठ्याराहरू विना सङ्कोच राख्नु त भयो नै, आफ्ना समस्या प्रधानमन्त्री शाहलाई सुनाउन उनीहरूबिच प्रतिस्पर्धा नै भयो। दुवै पक्षबाट बिचबिचमा उत्पन्न जिज्ञासा र तत्कालको प्रतिउत्तरले गर्दा छलफल निकै अर्थपूर्ण र नतिजामुखी बनेको थियो।

प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूका समस्यालाई केवल ‘नोट’ मात्र गर्नुभएन, कतिपय प्राविधिक र व्यावहारिक उल्झनहरूलाई तत्कालै समाधान गर्ने उपाय समेत सुझाए। 

नीतिगत गाँठाहरू फुकाउन सङ्घ र प्रदेशको साझा संयन्त्रमार्फत तुरुन्त काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, “सङ्घ र प्रदेशबिचका हरेक अप्ठ्यारा सुल्झाउन मेरो नेतृत्वको सरकार सदैव तयार छ । त्यसैले तपाईँहरूलाई आफैँले छलफलका लागि राजधानी बोलाएको हो।” 

साथै, प्रधानमन्त्री शाहले प्रदेश आफैँले तत्काल गर्न सक्ने सुधारका कार्यहरू ढिला नगरी अघि बढाउन समेत आग्रह गर्नुभयो। यस्तै उहाँले बजेट विनियोजन गर्दा कुनै पनि विभेद नगर्ने स्पष्ट पारे । 

बैठक सकेर बाहिरिँदै गर्दा मुख्यमन्त्रीहरूको अनुहारमा छुट्टै चमक देखिन्थ्यो। बाहिर प्रधानमन्त्री शाहका बारेमा सुनिने चर्चा र हल्लाभन्दा ठिक विपरीत, उनलाई अत्यन्तै ‘सुन्ने, बोल्ने र तत्कालै सबै कुरा बुझ्ने’ व्यक्तिका रूपमा पाएको भन्दै उनीहरूले खुसी व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप