मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कांग्रेस आधिकारिकता विवाद

सर्वोच्चको फैसला न्यायपूर्ण, अब एकताबद्ध भएर महाधिवेशनमा जाऔंः महामन्त्री घिमिरे

शुक्रबार, ०४ वैशाख २०८३, २३ : २२
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसला न्यायपूर्ण रहेको बताएका छन् ।
  • उनले यो निर्णयलाई कसैको हार-जित नभई विधिको शासनको जीत भएको भन्दै सबैलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
  • सर्वोच्चको फैसलापछि अब पार्टीको १५ औँ महाधिवेशनलाई सफल बनाउन तर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलालाई न्यायपूर्ण भन्दै स्वागत गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने सर्वोच्चको निर्णयले पार्टीका सदस्यहरूले विधिको शासनका लागि गरेको लामो सङ्घर्षको सम्मान गरेको उनले बताएका छन् ।

फैसलापछि आफ्नो प्रतिक्रिया दिँदै महामन्त्री घिमिरेले भने, ‘सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी परेको रिट निवेदन उपर सुनुवाइ पश्चात् गरेको आदेश न्यायपूर्ण छ । यो नेपाली कांग्रेसका सदस्यहरूले आजसम्म देशमा विधि र पद्धतिका लागि अनवरत गरेको सङ्घर्षको प्रतिफल हो। यस निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको छ ।’

उनले यो निर्णयलाई कसैको व्यक्तिगत जित वा हारको रूपमा लिन नहुनेमा जोड दिए । अब विगतका सबै विवादलाई बिर्सेर पार्टीको १५ औँ महाधिवेशनलाई सफल बनाउन एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।

‘यो कसैको हार वा जित होइन। अब हामी नेपाली कांग्रेसका सबै साथीहरू एकताबद्ध भई पार्टीको १५ औँ महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ,’ घिमिरेले भने, ‘विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर नेपाली कांग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्छ।’

शुक्रबार नै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिको पक्षमा फैसला गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप