घरेलु मैदानमा अपराजित बेंगलुरुलाई रोक्न सक्ला लय गुमाएको दिल्लीले ?
सारांश
- आईपीएल २०२६ मा घरेलु मैदानमा अपराजित रहेको रोयल च्यालेन्जर्स बेंगलुरुले शनिबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दै छ।
- बेंगलुरुका कप्तान रजत पाटीदार उत्कृष्ट लयमा रहेका छन् भने दिल्ली आफ्ना अनुभवी खेलाडीहरूको खराब प्रदर्शनबाट चिन्तित छ।
- एम चिन्नास्वामी स्टेडियमको पिच ब्याटिङका लागि निकै अनुकूल मानिएको छ र यहाँ टस जितेर पहिले बलिङ गर्नु फाइदाजनक देखिन्छ।
बेंगलुरु । आईपीएल २०२६ अन्तर्गत शनिबार रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा दिल्ली क्यापिटल्सको सामना गर्दै छ। बेंगलुरु आफ्नो घरेलु दर्शकमाझ लगातार चौथो जित निकाल्ने दाउमा मैदान उत्रिनेछ। यो खेल ३:४५ बजे सुरु हुनेछ ।
बेंगलुरुसँग जोस हेजलवुडको नेतृत्वमा उत्कृष्ट बलिङ युनिट छ। टोलीका उपकप्तान जितेश शर्माका अनुसार बेंगलुरुले चिन्नास्वामीको पिचलाई राम्ररी बुझेर रणनीतिक रूपमा काम गरिरहेको छ।
यही कारण उनीहरू यस सिजन घरेलु मैदानमा अपराजित छन्। यदि दिल्लीका ब्याटरहरूले आफ्नो प्रविधिमा सुधार ल्याएनन् भने यो खेल एकतर्फी हुन सक्ने अनुमान गरिएको छ।
- हेड टु हेड : बेंगलुरुको दबदबा
यी दुई टोलीबिच हालसम्म ३३ खेल भएका छन्, जसमा बेंगलुरुले १९ खेल आफ्नो पक्षमा पारेको छ भने दिल्लीले १२ खेल मात्र जितेको छ। एक खेल बराबरीमा सकिएको थियो भने अर्को एक खेल नतिजाविहीन बनेको थियो।
गत वर्ष खेलिएका दुई खेलमा दुवै टोलीले १–१ जित हात पारेका थिए। रोचक कुरा के छ भने, बेंगलुरुले दिल्लीको अरुण जेट्ली स्टेडियममा जितेको थियो भने दिल्लीले बेंगलुरुको घरेलु मैदान चिन्नास्वामीमा बाजी मारेको थियो।

- ओरेन्ज क्याप कोहलीको शिरमा, तर पूरै टोली लयमा
यस सिजन पनि सबैको नजर विराट कोहलीमै टिकेको छ र उनले आफ्ना समर्थकलाई निराश बनाएका छैनन्। कोहली हाल ओरेन्ज क्याप होल्डर हुन्। तर, यसपटकको सबैभन्दा सुखद पक्ष भनेको बेंगलुरुको ब्याटिङ कोहलीमा मात्र निर्भर छैन।
कप्तान रजत पाटीदार, देवदत्त पडिक्कल, फिल साल्ट र टिम डेभिडले उत्कृष्ट पारी खेल्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका निभाइरहेका छन्। मध्यक्रममा रन बनाउन सक्ने खेलाडीहरू भएकाले कोहली अहिले कुनै दबाबबिना खुलेर खेलिरहेका छन्।
- छक्का प्रहारमा कप्तान पाटीदार सबैभन्दा अगाडि
बेंगलुरुका कप्तान रजत पाटीदार उत्कृष्ट लयमा छन्। उनी प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने ब्याटरको सूचीमा शीर्ष स्थानमा छन्। पाटीदारले ५ खेलमा २१ छक्का प्रहार गरिसकेका छन्। उनी राजस्थान रोयल्सका वैभव सूर्यवंशीभन्दा तीन छक्काले अगाडि छन्। पाटीदारको यो पावर हिटिङ दिल्लीका बलरहरूका लागि टाउको दुखाइको विषय बन्न सक्छ।

- दिल्लीका अनुभवी खेलाडी फ्लप, समिर रिजवीको एक्लो सङ्घर्ष
दिल्ली क्यापिटल्स अझै पनि आफ्नो उत्कृष्ट प्लेइङ ११ को खोजीमै छ। टोलीमा केएल राहुल, डेभिड मिलर र पाथुम निसङ्का जस्ता अनुभवी खेलाडी भए पनि उनीहरूको प्रदर्शनमा निरन्तरता देखिएको छैन।
अङ्क तालिकामा पाँचौँ स्थानमा रहेको दिल्लीले पछिल्ला दुई खेलमा हार बेहोरेको छ। युवा ब्याटर समिर रिजवीले दुई अर्धशतक प्रहार गर्दै सङ्घर्ष जारी राखेका छन्, तर उनलाई अर्को छेउबाट बलियो साथ मिल्न सकेको छैन।
- कप्तान अक्षर र कुलदीपको खराब लय
दिल्लीको सबैभन्दा ठुलो चिन्ता कप्तान अक्षर पटेल र स्टार स्पिनर कुलदीप यादवको खराब लय हो। अक्षरले ४ खेलमा मात्र ३ विकेट लिएका छन् भने ब्याटिङमा पनि उनी पूर्ण रूपमा फ्लप छन्।
त्यस्तै, कुलदीप यादव निकै महँगा साबित भइरहेका छन्, उनले प्रति ओभर १० रनको इकोनोमीमा रन खर्चिरहेका छन्। फास्ट बलर मुकेश कुमार र टी नटराजनको प्रदर्शन पनि औसत मात्र छ।

पिच रिपोर्ट : ब्याटरहरूको स्वर्ग चिन्नास्वामी
बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियमको पिच ब्याटिङका लागि निकै अनुकूल मानिन्छ। यहाँ बल राम्रो गतिमा ब्याटमा आउँछ भने बाउन्ड्री छोटो भएकाले चौका र छक्काको वर्षा हुने गर्छ।
बलरहरूका लागि यहाँ खासै मद्दत छैन। खेलको सुरुवातमा फास्ट बलरलाई सामान्य फाइदा पुगे पनि स्पिनरले मध्य ओभरमा निकै सङ्घर्ष गर्नुपर्ने हुन्छ। यो मैदानमा टस जितेर पहिले बलिङ गर्नु फाइदाजनक मानिन्छ, किनकि यहाँ लक्ष्य पछ्याउन तुलनात्मक रूपमा सहज हुन्छ।
- चिन्नास्वामीको तथ्याङ्क: आईपीएलमा हालसम्म यहाँ १०३ खेल भएका छन्। जसमा पहिले ब्याटिङ गर्ने टोलीले ४४ खेल र लक्ष्य पछ्याउने टोलीले ५५ खेल जितेका छन् (४ खेल नतिजाविहीन)।
- यस सिजनको अवस्था: यस सिजन यहाँ ३ खेल खेलिएका छन्। दुई खेलमा २०० भन्दा बढी रन बनेको थियो भने एउटा खेलमा लखनउ १४६ रनमै अलआउट भएको थियो।
मौसम अपडेट
शनिबार बेंगलुरुको मौसम घमाइलो रहनेछ। दिउँसोको तापक्रम करिब ३६ डिग्री सेल्सियस पुग्ने अनुमान छ। आद्रता २८ प्रतिशतको हाराहारीमा रहनेछ। वर्षाको सम्भावना १० प्रतिशत मात्र भएकाले दर्शकले कुनै अवरोधबिना पूरा खेलको मज्जा लिन पाउनेछन्।
सम्भावित प्लेइङ १२ :
- रोयल च्यालेन्जर्स बेंगलुरु : विराट कोहली, फिल साल्ट, देवदत्त पडिक्कल, रजत पाटीदार (कप्तान), जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, रोमारियो शेफर्ड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, जोस हेजलवुड र अभिनन्दन सिंह।
(इम्प्याक्ट प्लेयर: वेङ्कटेश अय्यर)
- दिल्ली क्यापिटल्स : केएल राहुल (विकेटकिपर), पाथुम निसङ्का, नितिश राणा, डेभिड मिलर, ट्रिस्टन स्टब्स, अक्षर पटेल (कप्तान), विपराज निगम, कुलदीप यादव, लुङ्गी एन्गिडी, मुकेश कुमार र टी नटराजन।
(इम्प्याक्ट प्लेयर: समिर रिजवी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026