सर्पले टोकेपछि निको पार्न गङ्गा नदीमा डुबाएर राख्दा १३ वर्षीय बालकको मृत्यु
सारांश
- उत्तर प्रदेशका १३ वर्षीय बालक अमितको सर्पले टोकेपछि धामीझाँक्रीको उपचार खोज्दा मृत्यु भएको छ।
- परिवारले धामीको कुरा पत्याएर बालकलाई १२ घण्टासम्म गङ्गा नदीमा डुबाएर राखेका थिए।
- अस्पताल पुर्याउँदा डाक्टरले बालकलाई मृत घोषित गरेका छन्।
उत्तर प्रदेश । भारतको उत्तर प्रदेशस्थित पीतमपुर गाउँका १३ वर्षीय बालक अमितको एउटा दुखद र अकल्पनीय घटनाले यतिबेला पूरै देशलाई स्तब्ध बनाएको छ। सर्पले टोकेपछि अस्पताल लैजानुको साटो परिवारले धामीझाँक्रीको लहै-लहैमा लागेर अन्धविश्वासको बाटो रोज्दा ती निर्दोष बालकले ज्यान गुमाउनु परेको हो।
कक्षा ४ मा पढ्ने अमितलाई गत बिहीबार विषालु सर्पले टोकेको थियो। घटनाबारे उनले तत्कालै परिवारलाई जानकारी गराएका थिए, तर परिवारले उनलाई आधुनिक उपचारका लागि अस्पताल पुर्याउनुको सट्टा तन्त्र-मन्त्र र दैवीय शक्ति माथि भरोसा गरेर ठूलो गल्ती गर्यो।
एक धामीको निर्देशनमा लागेर परिवारले अमितलाई बाँसको घोचोमा बाँधेर १२ घण्टासम्म गङ्गा नदीको पवित्र पानीमा डुबाएर राखेको थियो। ती धामीले गङ्गाको पानीले विष सोस्ने र बालक निको हुने भ्रमपूर्ण आश्वासन दिएका थिए।
जब बालक लामो समयसम्म पानीमा डुब्दा बेहोस भए, तब मात्र परिवारको चेत खुल्यो र उनीहरूले नजिकैको स्वास्थ्य केन्द्रमा पुर्याए। तर त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो। चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।
हैरान बनाउने कुरा त के छ भने, डाक्टरले मृत घोषणा गरिसक्दा पनि परिवारको अन्धविश्वास हटेको थिएन। उनीहरूले फेरि पनि कुनै चमत्कार हुने आशामा बालकको शवलाई गङ्गा नदीमै सेलाउने प्रयास गरेका थिए।
स्थानीय स्वास्थ्य केन्द्रका डाक्टर शशांक चौधरीका अनुसार अस्पतालले पटक-पटक जनचेतनामूलक अभियान चलाउँदै सर्पले टोकेको अवस्थामा एक-एक मिनेट महत्त्वपूर्ण हुने र सिधै अस्पताल आउन आग्रह गर्दै आएको भए पनि यस्ता घटना दोहोरिरहनु दुखद पक्ष हो।
अमितको यो अकाल मृत्युले अहिले सामाजिक सञ्जालमा ठूलो बहस र आक्रोश निम्त्याएको छ। कतिपयले आफ्नै सन्तानको ज्यान लिने यस्तो लापरबाहीका लागि अभिभावक र ती कथित धामीलाई कडा कारबाही हुनुपर्ने माग गरिरहेका छन्।
आधुनिक चिकित्सा विज्ञानको पहुँच हुँदाहुँदै पनि समाजमा जरा गाडेर बसेको अन्धविश्वासले कसरी एउटा भविष्य बोकेको बालकलाई निल्न सक्छ भन्ने यो घटना एउटा डरलाग्दो उदाहरण बनेको छ। प्रहरीले यस विषयमा परिवारमाथि कानुनी कारबाही अगाडि बढाउने वा नबढाउने भन्नेबारे अझै स्पष्ट भइसकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण