बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फुटपाथ व्यवस्थापनका काम व्यवसायीमैत्री हुनुपर्छ : बुटवल उद्योग वाणिज्य सङ्घ

शनिबार, ०५ वैशाख २०८३, १२ : ५२
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • बुटवल उद्योग वाणिज्य सङ्घले फुटपाथ व्यवस्थापनका नाममा व्यवसायीमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ।
  • अध्यक्ष हरिप्रसाद अर्यालले सडक व्यवस्थापन गर्दा व्यवसायीमैत्री शैली अपनाउन नगरपालिकालाई आग्रह गरेका छन्।
  • व्यवसायीहरूलाई फुटपाथमा सामग्री नराख्न सङ्घले सचेत गराउँदै नगरपालिकाबाट जफत भएका सामान फिर्ता गराउने पहल गरेको छ।

बुटवल । बुटवल उपमहानगरपालिकाले सडक व्यवस्थापन गर्ने भन्दै बजार क्षेत्रका सडक पेटीमा राखिएका सामग्री हटाउन थालेपछि यसको प्रभाव र कार्यशैलीप्रति बुटवल उद्योग वाणिज्य सङ्घले चासो देखाएको छ।

सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल बजारको सौन्दर्य अभिवृद्धि र आवागमन सहज बनाउने कार्यमा आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसका नाममा व्यवसायीमाथि हुने ज्यादती भने अस्वीकार्य हुने स्पष्ट पारे।

उनले नगरपालिकाले सञ्चालन गरेको फुटपाथ तथा सडक पेटी व्यवस्थापन अभियानका क्रममा नगर प्रहरीबाट व्यवसायीमाथि दुर्व्यवहार भएको आरोप लगाए। सङ्घकै पहलमा भएको संवाद र वार्तापछि भने अभियान केही सुधारतर्फ उन्मुख भएको उनको दाबी छ।

शनिबार बुटवल उद्योग सङ्घ रुपन्देहीअन्तर्गत हार्डवेयर वस्तुगत समितिले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले सङ्घ केवल औपचारिक गतिविधिमा सीमित नभई परिणाममुखी काममा केन्द्रित रहेको बताए।

अभियानका क्रममा नगरप्रहरीको व्यवहारले व्यवसायीमा त्रास सिर्जना भएको उल्लेख गर्दै उनले अबका दिनमा सम्झाइ–बुझाइ र सहजीकरणको माध्यमबाट अभियान अघि बढाउनुपर्नेमा जोड दिए। साथै, जफत गरिएका मालसामान फिर्ता गर्न नगरपालिका सकारात्मक रहेको जानकारी दिँदै उनले व्यवसायीलाई सडक पेटीमा व्यापारिक सामग्री नराख्न आग्रह गरे।

अध्यक्ष अर्यालले कर, राजश्व र भन्सारसँग सम्बन्धित विषयमा व्यवसायीलाई सहजीकरण गर्न सङ्घले चाँडै कार्यक्रम ल्याउने र आन्तरिक राजश्व कार्यालय बुटवलमा व्यावसायिक परामर्श सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।

कार्यक्रममा बोल्दै सङ्घका पूर्वअध्यक्ष अर्जुनमान सैंजूले बजार व्यवस्थापनको नाममा भइरहेको गतिविधिले स्थानीय अर्थतन्त्रमै असर पर्ने भन्दै कडा शब्दमा विरोध जनाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप