शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सभामुख चयनमा सकस : डेडलाइन नजिकिँदा पनि सत्तारुढ दलबिच जुटेन सहमति

शनिबार, ०५ वैशाख २०८३, १९ : २१
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • बागमती प्रदेशसभामा सभामुख चयनका लागि सत्तारुढ दलहरूबिच सहमति जुट्न सकेको छैन।
  • संवैधानिक व्यवस्थाअनुसार वैशाख ९ गतेभित्र सभामुख चयनको प्रक्रिया सुरु गरिसक्नुपर्ने बाध्यता छ।
  • सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारी र सभामुख पदको बाँडफाँटमा छलफल चलिरहेको छ।

हेटौँडा । बागमती प्रदेशसभाको सभामुख चयनका लागि संवैधानिक तथा कानुनी समयसीमा घर्किँदै जाँदा पनि सत्तारुढ दलहरूबिच सहमति जुट्न सकेको छैन ।

गत चैत २४ गते बसेको प्रदेशसभा बैठकमा तत्कालीन सभामुख भुवन कुमार पाठकको राजीनामा औपचारिक रूपमा पेस भएसँगै नयाँ सभामुख चयनको काउन्टडाउन सुरु भएको हो ।

संविधानको व्यवस्था अनुसार आगामी वैशाख ९ गतेभित्र सभामुख चयनको प्रक्रिया सुरु गर्नपर्ने बाध्यात्मक परिस्थिति छ । उक्त बाध्यात्मक परिस्थितिअनुसार सभामुख चयनको कार्यसूची वैशाख ९ गतेभित्र ल्याइसक्नुपर्ने हुन्छ । तर, संसदमा सभामुख पाठकको राजीनामा पेस भएको १० दिन बितिसक्दा पनि सत्तारुढ प्रमुख घटक नेकपा एमाले र नेपाली कांग्रेसबिच औपचारिक छलफलसमेत हुन सकेको छैन । हालसम्म दुई दलबिच सभामुख कुन दलले सभामुख लिने भन्नेमा शक्ति सन्तुलन मिल्न सकेको छैन ।

तत्कालीन सभामुख पाठकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए । उनले असोज १ गते इमेलमार्फत आफ्नो राजीनामा पत्र बुझाएका थिए । संसद् सचिवालयले उक्त राजीनामाको बारेमा मंसिर ४ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

त्यसअघि संसद् बैठक चल्न नसकेको अवस्थामा सरकारले मंसिर ३ गते अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सोही समयमा उपसभामुख अप्सरा चापागाईंले सभामुखको राजीनामाबारे सार्वजनिक सूचना जारी गरेकी थिइन्, हाल उनले नै प्रदेशसभाको कार्यवाहक सभामुखको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

विगत ९ महिनादेखि बन्द अवस्थामा रहेको बागमती प्रदेशसभा बैठक चैत २४ गतेदेखि मात्र पुनः सञ्चालनमा आएको हो । उक्त बैठकमा सभामुखको राजीनामाको विषयले औपचारिक रूपमा प्रवेश पाएको थियो । संसद् सुचारु भएपछि राजनीतिक निकास निस्कने अपेक्षा गरिए पनि सत्तारुढ दलहरूभित्रको आन्तरिक खिचातानीले गर्दा सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ । सत्तारुढ दल एमाले र कांग्रेसभित्र सभामुख पद कुन दलले पाउने र उम्मेदवार को बन्ने भन्ने विषयमा अझै ठोस सहमति हुन सकेको छैन ।

सभामुख चयन समझदारीमै टुंगिन्छ, हतार गर्नुपर्ने अवस्था छैन– थपलिया

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सभामुखको चयन र सत्तारुढ दलहरू बिचको शक्ति बाँडफाँटको विषयलाई आपसी समझदारीका आधारमा टुंग्याइने बताए । सभामुख चयनका लागि कानुनी रूपमा कुनै हार्ड एण्ड फास्ट समयसीमा नरहेको र उपसभामुखले सदन चलाइरहेकाले यसमा आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।

नेता थपलियाले सभामुख चयनको प्रक्रिया र सत्ता साझेदारीका विभिन्न विकल्पहरूमा सत्तारुढ दलहरूबिच छलफल भइरहेको बताए । कांग्रेस र एमालेबिच भएको भद्र सहमति कार्यान्वयन विषयमा पनि छलफल भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । सरकारको नेतृत्व आलोपालो गर्ने सहमतिको विषय पनि सयुक्त रूपमा अघि बढाउने गरी छलफलको क्रममा नै रहेको उनको भनाइ छ ।

‘सभामुख चयनका लागि निर्वाचन प्रक्रिया घोषणा भएको १५ दिनभित्र हुनुपर्ने प्रावधान भए पनि अहिलेसम्म प्रक्रिया नै सुरु नभएकाले हामीसँग समय छ । अहिले उपसभामुख हुनुहुन्छ, काम रोकिएको छैन । त्यसैले हतारमा भन्दा पनि शक्ति सन्तुलन र दलीय समझदारीलाई ध्यान दिएर हामी अगाडि बढ्छौँ,’ उनले भने, ‘सत्ता नेतृत्वको विषयमा दई दलबिच छलफल हुनुपर्छ । निर्धारित सहमतिअनुसार हाम्रो पालो गत चैतमा आउनुपर्ने हो । सत्ताको नेतृत्व लिने विषयमा हामी आक्रामक छैनौँ, तर भएको समझदारी कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो अडान हो, यसबारे दुईदलीय संयन्त्रमा छलफल भइरहेको छ ।’

नेता थपलियाले कार्यपालिका र व्यवस्थापिकाको नियन्त्रण तथा सन्तुलनका लागि पनि मुख्यमन्त्री र सभामुख पद फरक–फरक दलले लिनु उपयुक्त हुने तर्क गरे । यदि मुख्यमन्त्री कांग्रेसकै रहने हो भने सभामुख एमालेले लिनुपर्ने उनको भनाई छ । उक्त विषय केही दिन वा एक महिनाभित्र परिपक्व ढंगले टुंगिने नेता थपलियाले दाबी गरे । 

उनका अनुसार कुनै पनि पदका लागि हत्ते हाल्ने वा जिद्दी गर्ने भन्दा पनि परिपक्व निर्णयका साथ अघि बढ्नुपर्ने हुन्छ । मन्त्रिमण्डल हेरफेरको विषयमा पनि दलहरू बिच आन्तरिक छलफल भइरहेको तर तत्कालै कुनै निर्णय भइनसकेको उनले बताए । 

सभामुखबारेको टुङ्गो यही अधिवेशनमै लाग्छ– मन्त्री तामाङ

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभाको रिक्त सभामुख पदको चयन प्रक्रिया यही अधिवेशनबाटै सुरु भई टुङ्गिने बताए । सत्तापक्षीय दलहरूबिच सभामुख कसले पाउने भन्ने विषयमा रस्साकस्सी चलिरहेको अवस्थामा संविधानको व्यवस्था अनुसार सभामुख चयन प्रक्रिया चालु अधिवेशनबाटै सुरु हुने उनले बताए ।

मन्त्री तामाङले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र नेकपा एमाले संसदीय दलका नेताबिच संवाद भइरहेको बताए । नेपाली कांग्रेस संसदीय दलले सभामुख पद कांग्रेसले नै पाउनुपर्ने सर्वसम्मत निर्णय गरिसकेको र सोही अनुसार नतिजाका लागि दबाब बढिरहेको मन्त्री तामाङको भनाई छ उनका अनुसार उक्त विषयमा दलका नेताहरूबिचको छलफलबाटै निष्कर्ष निस्कने बताए । 

'बैठकहरू मुख्यमन्त्री र एमाले दलको नेताबिच भइरहेको छ । कांग्रेसको हकमा दलको नेताले नै कुरा टुङ्ग्याउने भन्ने निर्णय भएको छ । उहाँहरू छलफलमै हुनुहुन्छ । ठोस निष्कर्ष भने आइसकेको छैन,' उनले भने, 'सभामुख चयनका विषयमा अडकल गरेर भन्नुभन्दा पनि संवादबाटै स्पष्ट हुने कुरा हो । समय निकै कम छ । ५ दिन जतिमा हामीले प्रक्रिया सुरु गरिसक्नुपर्नेछ । यही अधिवेशनमा प्रक्रिया सुरु भएर सभामुखको विषय टुङ्गिन्छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप