शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कलाकार

डाक्टर बन्ने सपना त्यागेर अभिनयमा आएकी पञ्चमी

सोमबार, ०७ वैशाख २०८३, ०६ : २९
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • वरिष्ठ निर्देशक तुलसी घिमिरेकी छोरी पञ्चमी घिमिरेले 'पहाड' फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेकी छन्।
  • डाक्टर बन्ने लक्ष्य त्यागेर अभिनयमा लागेकी पञ्चमीले मुम्बईमा अध्ययन गर्दै आफ्नो अभिनय यात्राको तयारी गरेकी थिइन्।
  • उनले आफ्नो अभिनयलाई थप निखार्दै भविष्यमा पनि यसै क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा ‘स्टार किड्स’को लामो लहर छ । कसैले विरासत थामेका छन् भने कोही हराएका छन् । यही भीडमा थपिएकी छिन् पञ्चमी घिमिरे । पञ्चमी वरिष्ठ निर्देशक तुलसी घिमिरेकी कान्छी छोरी हुन् ।

उनले तुलसीकै निर्देशनमा बनेको पछिल्लो फिल्म ‘पहाड’बाट नेपाली रजतपटमा डेब्यु गरेकी छन् । नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मलाई दर्शकले रुचाएका छन् । ‘पहाड’को प्रतिक्रिया बुझ्न विभिन्न हल धाइरहेकी उनी दर्शकको प्रतिक्रियाबाट निकै उत्साहित छिन् ।

‘हलमा पुग्दा दर्शकले देखाउनुभएको माया र दिनुभएको आशीर्वादले म निकै उत्साहित छु,’ उनले भनिन्, ‘दर्शकहरूले फिल्मको गहिराइ र भावनात्मक पक्षलाई निकै रुचाउनुभएको छ।’ रिलिजको दिनदेखि नै नियमित रूपमा हल भ्रमण गरिरहेकी पन्चमीका अनुसार दर्शकले फिल्मको विषयवस्तु मर्मस्पर्शी भएको बताएका छन् ।

panchami pahad (1)

फिल्म राम्रो र भावनात्मक भए पनि प्रचारप्रसार कम भएकाले रिलिज भएको थाहै नपाएको गुनासो दर्शकले गर्ने गरेको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘धेरै दर्शकले हलमा आएपछि मात्र फिल्म लागेको थाहा पायौँ, यस्तो राम्रो फिल्मको त धेरै चर्चा हुनुपर्थ्यो भन्दै गुनासो गर्नुहुन्छ ।’

फिल्म प्रदर्शन हुनुअघि पञ्चमीमा उत्साहभन्दा बढी डर थियो । सयौँ पटक सम्पादन कक्षमा फिल्म हेरे पनि ठुलो पर्दामा दर्शकका अगाडि आफूलाई प्रस्तुत गर्नु उनका लागि सहज थिएन ।

‘एक कलाकारका रूपमा दर्शकले मलाई कसरी लिनुहोला, मेरो अभिनय कस्तो होला भन्ने डर थियो,’ उनले डरको कारण खुलाइन्, ‘फिल्मभरि दर्शकले मलाई पर्दामा हेर्न सक्नुहोला कि नहोला भन्ने चिन्ता थियो ।’ तर, फिल्म र दर्शकको सकारात्मक प्रतिक्रियाले अहिले उनको आत्मविश्वास बढेको छ ।

पञ्चमीको अभिनयमा आउने सोच सानैदेखिको हो, तर कहिले र कसरी आउने भन्ने निश्चित थिएन । सुरुमा उनका आमाबुबा उनी अभिनयमा आएको हेर्न चाहँदैनथे । घरको आर्थिक अवस्था र फिल्मी करियरको उतारचढाव नजिकबाट देखेकी उनले पनि सुरुमै यो क्षेत्रमा हामफाल्ने हिम्मत गरेकी थिइनन् ।

उनले कक्षा ११ र १२ मा विज्ञान विषय पढेकी थिइन् र उनको लक्ष्य डाक्टर बन्ने थियो । उनका साथीहरू डाक्टर र इन्जिनियर बन्ने दौडमा थिए । परिवारको इच्छा र फिल्म क्षेत्रको अस्थिरताका कारण उनले पनि एउटा स्थिर पेसा अपनाउने सोच बनाएकी थिइन् । उनलाई लाग्थ्यो, ‘म डाक्टर बन्छु र बुबाआमालाई सहयोग गर्छु ।’

panchami pahad (4)

‘तर मेरो मनको कुनै कुनामा फिल्मप्रतिको माया मरिसकेको थिएन । मेरो बुबाआमाले मेरो मनको कुरा बुझ्नुभयो र भन्नुभयो, ‘अरूको कुरा नसुन्, तँलाई जे गर्न मन छ, त्यही गर । जिन्दगी तेरो हो, तैँले बाँच्ने हो । जे गरे पनि ढुक्क भएर निर्णय गर, हामी छौँ,’ उनले भनिन्, ‘त्यसपछि मैले मुम्बई गएर आमसञ्चारको पढाइ पूरा गरेँ । त्यहाँ पढ्दा र काम गर्दा मैले सही निर्णय लिएकी रहेछु भन्ने महसुस भयो ।’

‘पहाड’ भन्दा अगाडि पनि उनलाई फिल्मका प्रस्ताव नआएका होइनन् । ‘दर्पण छाया २’ को गीत विमोचन कार्यक्रममा पत्रकारहरूले उनलाई ‘अब हिरोइन बन्नुपर्छ’ भनेका थिए । तर, त्यतिबेला उनमा आत्मविश्वासको कमी थियो ।

‘मलाई लाग्थ्यो, हिरोइन हुन त असाध्यै सुन्दरी, बोल्न जान्ने र आत्मविश्वासी हुनुपर्छ । म त एकदमै लजालु र डराउने स्वभावकी थिएँ,’ उनी भन्छिन्, ‘तर मुम्बईको अनुभवले मलाई आत्मविश्वास दियो ।’ दुई वर्षअघि शंकर कोइरालाले फिल्मको प्रस्ताव गर्दा उनकी आमाले ‘ऊ अहिले मुम्बईमा पढ्दै छे, सिक्दै छे, अझै समय चाहिन्छ’ भनेर रोकेकी थिइन् । उनी भन्छिन्, ‘त्यतिबेला किन रोकेको होला जस्तो लाग्थ्यो, तर आज लाग्छ, त्यो तयारी मेरो लागि निकै आवश्यक थियो ।’

panchami pahad (5)

पन्चमीका उमेरका कलाकारहरू प्रायः प्रेम कथा वा रोमान्टिक फिल्मबाट डेब्यु गर्न चाहन्छन्, तर उनले ‘पहाड’ जस्तो सामाजिक तथा पारिवारिक कथावस्तु भएको फिल्म रोजिन् । यसको कारण खुलाउँदै उनी भन्छिन्, ‘मलाई अर्थपूर्ण काम गर्नु थियो ।’

मुम्बईबाट फर्किएपछि अभिनयमा आउनुअघि उनको सबैभन्दा ठुलो बाधा भाषा बन्यो । लामो समय मुम्बई बसेका कारण उनको नेपाली बोल्ने शैलीमा हिन्दी र अंग्रेजीको प्रभाव थियो । सुरुमा आफूलाई नेपालीमा पोख्त सम्झने पञ्चमीलाई तब झड्का लाग्यो, जब एक भेटमा उनका साथीले उनको बोलीमा भारतीय लवज सुनिएको बताए । त्यसपछि उनी ओजस्वी नाम गरेकी साथीको सहयोगमा केही पुराना नेपाली पुस्तकहरू पढ्न थालिन् । उनले आफ्ना साथी, बुबाआमा र दिदीसँग नेपाली शब्दहरूको शुद्ध उच्चारणका लागि निकै मेहनत गरिन् ।

‘पहाड’मा उनले ‘तारा’ नामक एक निर्भीक पात्रको भूमिका निर्वाह गरेकी छन् ।

panchami pahad (3)

‘पात्रको स्वभाव मसँग मिल्ने भएकोले बुबाले अभिनयका लागि मलाई सुझाउनुभयो र म डेब्युका लागि तयार भएँ,’ उनले भनिन् । फिल्मको पात्र, संवाद र लवजका लागि निकै मेहनत गर्नुपरेको उनले सुनाइन् ।

फिल्म ‘पहाड’ मा पञ्चमीले आफ्ना बुबा तुलसी घिमिरेका अलावा अब्बल अभिनेता विपिन कार्कीसँग काम गर्ने अवसर पाइन् । विपिनसँग धेरै दृश्यमा सँगै देखिन नपाए पनि उनको काम गर्ने शैली, मेहनत र पात्रप्रतिको लगावलाई पञ्चमीले नजिकबाट नियाल्ने मौका पाइन् । विपिनसँगको कामको अनुभव आफ्ना लागि अभिनयको कलेजजस्तै भएको उनी बताउँछिन् ।

आगामी दिनमा पनि अभिनयलाई नै निरन्तरता दिने पञ्चमीको सोच छ । सपरिवार नै नेपाली फिल्म उद्योगमा सक्रिय र यसैलाई माया गर्ने भएकाले यो क्षेत्र छोड्न नसक्ने उनी बताउँछिन् ।

‘बुबाले हाम्रो मनमा नेपाली फिल्म क्षेत्रलाई अगाडि बढाउनुपर्छ भन्ने जुन बिउ रोप्नुभएको छ, त्यसैलाई हुर्काउन म नेपाल फर्किएकी हुँ,’ उनले भनिन्, ‘धेरै कुरा सिक्यौँ, केही गल्ती पनि भए होलान्, तर यो सिकाइले आगामी दिनमा अझ राम्रो गर्ने हौसला दिएको छ ।’

panchami pahad (2)

  • ‘नेपोटिजम्’ चुनौती

‘कुसुमे रुमाल’, ‘चिनो’, ‘दुई थोपा आँसु’देखि ‘दर्पण छाया’ सम्मका थुप्रै कालजयी फिल्म दिएका निर्देशक तुलसी घिमिरे र अभिनेत्री भारती घिमिरेकी छोरी पञ्चमीलाई विरासतको भारी बोकेर अगाडि बढ्न त्यति सहज भने छैन । नेपाली फिल्ममा अचेल ‘नेपोटिजम्’ (नातावाद) को व्यापक चर्चा हुने गर्छ । पञ्चमी आफूलाई तुलसी घिमिरेको छोरीका रूपमा प्राप्त सुविधालाई नकार्दिनन् । तर, यो सुविधासँगै ठुलो जिम्मेवारी र दबाब पनि जोडिएर आएको उनी बताउँछिन् ।

‘तुलसी घिमिरेको फिल्म भनेपछि दर्शकको ठुलो विश्वास छ । अरू कलाकारले सय प्रतिशत दिए पुग्छ भने मबाट दर्शकले हजार प्रतिशतको अपेक्षा गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘म त सानैदेखि फिल्मकै वातावरणमा हुर्किएकी हुँ, मैले क्यामेरा देखेर डराएर वा अप्ठ्यारो मानेर सुखै छैन ।’ उनी आफूलाई प्राप्त यो अवसरलाई आशीर्वादका रूपमा लिन्छिन् र दर्शकले आफ्ना आमाबुबालाई गरेको मायाको अंश आफूले पनि पाउँदा दङ्ग छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप