नयाँ सङ्घीय संसद् भवन निर्माण अन्तिम चरणमा : ९४ प्रतिशत सिभिल काम सम्पन्न
सारांश
- सिंहदरबारस्थित नयाँ सङ्घीय संसद् भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
- मुख्य सिभिल निर्माणको ९४ प्रतिशत काम सम्पन्न भइसकेको छ।
- आगामी असार मसान्तभित्र सम्पूर्ण निर्माण कार्य सक्ने गरी रातदिन काम भइरहेको छ।
काठमाडौँ । सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ सङ्घीय संसद् भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
लामो समयदेखि निर्माणाधीन सङ्घीय संसद् आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अहिले दिनरात काम भइरहेको छ।
राष्ट्रिय सभाको ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’को बैठकमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले जानकारी दिए।
विभागले प्रमुख प्राथमिकता दिएर काम गरिरहेको उनले बताए । उनले भने,’ नयाँ प्रविधिको प्रयोग गरेर भवन बनेकाले केही ढिला भएको छ। तर अबको केहि समयमा सम्पन्न हुन्छ।’
त्यस्तै सङ्घीय संसद् भवन निर्माण आयोजनाका प्रमुख रोशन श्रेष्ठले आयोजनाको समग्र निर्माण कार्यलाई तीव्रता दिएको जानकारी दिए।
आयोजना प्रमुख श्रेष्ठका अनुसार १५६ रोपनी क्षेत्रफलमा फैलिएको यस आयोजनामा प्रतिनिधिसभा, राष्ट्रिय सभा, अति विशिष्ट व्यक्ति (भीभीआईपी) कक्ष, पुस्तकालय, चमेना गृह, संसदीय दलका कार्यालयहरू र सुरक्षाकर्मीको भवनसहित कुल १२ वटा ठुला भवनहरू निर्माण भइरहेका छन् । हाल आयोजनाको मुख्य सिभिलतर्फको भौतिक प्रगति करिब ९४ प्रतिशत पुगेको छ।
तीन छुट्टाछुट्टै ठेक्का र कार्य प्रगति
यति ठुलो र संवेदनशील आयोजनाको निर्माणलाई तीव्रता दिन यसलाई तीन वटा मुख्य ठेक्का (प्याकेज) मा विभाजन गरेर काम अगाडि बढाइएको बताए ।
उनले सिभिल निर्माण कार्यको भौतिक प्रगति हाल ९३.५ प्रतिशत पुगेको बताए। यसको वित्तीय प्रगति भने ८४ प्रतिशत छ । कतिपय काम सम्पन्न भए पनि भुक्तानी प्रक्रियामा रहेकाले वित्तीय प्रगति भौतिकभन्दा कम देखिएको हो।
उनका अनुसार भवनभित्रको आन्तरिक सजावट (इन्टेरियर), फर्निचर, सूचना प्रविधि (आईटी), एचभीएसी र सुरक्षा प्रणाली जडानको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४६ प्रतिशत रहेको छ । अधिकांश सामग्री विदेशबाट आइसकेकाले अब जडानको काम तीव्र गतिमा हुने आयोजनाले जनाएको छ।
छाना ठेक्कामा सेन्ट्रल लबीको माथि रहने विशाल गुम्बज र छाना निर्माणको लागि छुट्टै ठेक्का निकालिएको थियो । यस कार्यको भौतिक प्रगति २५ प्रतिशत र वित्तीय प्रगति २० प्रतिशत रहेको छ ।
किन भयो निर्माणमा ढिलाइ ? यस्ता छन् मुख्य कारण
संसद् भवन निर्माणमा निर्धारित समयभन्दा बढी समय लाग्नुमा मुख्यतया पूर्वतयारी विना ठेक्का आह्वान गरिनु र प्राविधिक डिजाइनमा पछि गएर गर्नुपरेको ठुलो परिमार्जनलाई आयोजना प्रमुख श्रेष्ठले बताए। समितिमा उनले पूर्वतयारी र पूर्ण डिजाइनविना ठेक्का आह्वानका कारण ढिलाइ भएको बताए।
आयोजना प्रमुख श्रेष्ठका अनुसार नेपालकै इतिहासमा यति ठुलो स्केलको भवन बन्दै गर्दा यसको डिजाइन पूर्ण नभई ठेक्का निकालिएको थियो । भवनको बाहिरी संरचना (आर्किटेक्चरल र स्ट्रक्चरल) को डिजाइन मात्र तयार गरेर निर्माण सुरु गरियो।
तर यस्तो संवेदनशील भवनमा आवश्यक पर्ने मेकानिकल, इलेक्ट्रिकल, प्लम्बिङ र एयर कन्डिसनिङ को डिजाइन तयार नै थिएन । जब इन्टेरियरको काम सुरु गर्ने बेला भयो, तब बिजुलीको तार कहाँबाट लैजाने, एसीको डक्ट कसरी राख्ने र प्लम्बिङ कसरी मिलाउने भन्नेमा ठुलो समस्या आयो । जसका कारण डिजाइनलाई पटक–पटक परिमार्जन गर्नुपर्यो र काममा अवरोध सिर्जना भएको बताए।
साइट क्लियर नहुँदै शिलान्यास
ठेक्का लागेर शिलान्यास हुँदा पुतली बगैँचा पूर्ण रूपमा खाली भइसकेको थिएन । त्यहाँ नेपाली सेनाको चण्डी दल र ब्यान्ड गुल्मको ब्यारेक थियो । सेनालाई त्यहाँबाट नारायणहिटी सार्ने प्रक्रिया र दुई वटा ठुला भवन भत्काएर साइट खाली गर्न मात्रै महिनौँ समय लाग्यो, जसले सुरुवाती चरणमै आयोजनालाई पछाडि धकेल्यो ।
ठेकेदारहरूबिच समन्वयको अभाव
आयोजनामा अहिले तीन वटा फरक–फरक ठेकेदार कम्पनीहरूले एउटै छानामुनि एकै पटक काम गरिरहेका छन् । सिभिलको काम नसकिई इन्टेरियरको काम गर्न नमिल्ने र इन्टेरियरको काम गर्नेले सिभिलको कामलाई बाधा पुर्याउने अवस्था सिर्जना भयो । एउटाले अर्कोलाई बाटो छेक्ने र समन्वय नहुँदा कामको गति सुस्त हुन पुगेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए।
लागत वृद्धि र बजेट व्यवस्थापन
सुरुवाती चरणमा सिभिलतर्फको ठेक्का ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ (भ्याटसहित) मा सम्झौता भएको थियो । तर, काम गर्दै जाँदा डिजाइनमा भएको परिवर्तन, लम्पसम राखिएका कामहरूको यथार्थ विवरण आउँदा थपघट हुनुपरेको र केही संरचना नयाँ थप्नुपरेका कारण भेरिएसन मार्फत लागत बढेको छ ।
आयोजना प्रमुख श्रेष्ठका अनुसार पहिलो भेरिएसन पछि सिभिलतर्फको लागत करिब ६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अझै केही कुराहरू घटाउने र मिलाउने क्रम जारी रहेकाले अन्तिम लागत तय हुन बाँकी छ । काम सम्पन्न भइसकेका कतिपय बिलहरूको भुक्तानी दिन बाँकी रहेकाले वित्तीय प्रगति कम देखिए पनि बजेटको अभावले काम नरोकिएको बताइएको छ।
दिनरात काम गर्दै असारसम्म सक्ने लक्ष्य
विगतमा जे–जति प्राविधिक र प्रशासनिक कमजोरी भए पनि अहिले आयोजनाले गति लिएको दाबी आयोजना प्रमुख श्रेष्ठले गरे । पछिल्लो ३–४ महिना यता विगत एक वर्षको भन्दा बढी काम भएको उनको दाबी छ ।
‘हामीले अहिले निर्माण व्यवसायीलाई कडा निर्देशन दिएका छौँ । म आफैँ पनि राति ११ः३० बजेसम्म साइटमा बसेर कामको अनुगमन गरिरहेको छु,’ श्रेष्ठले समितिमा भने, “अहिले दैनिक ४३० देखि ४५० जना कामदारले दुईदेखि तीन सिफ्टमा रातदिन काम गरिरहेका छन् ।’
अब सिभिलतर्फको काम धेरै बाँकी नरहेको र इन्टेरियरका सामानहरू पनि साइटमा आइसकेकाले फिटिङ र कमिसनिङ (परीक्षण) को काम मात्र मुख्य रूपमा बाँकी छ । संसद् भवनमा प्रयोग हुने ठुलो ’एलटी प्यानल’ (विद्युत नियन्त्रण प्रणाली) भारतबाट आउने क्रममा रहेको र त्यो जडान भएपछि सम्पूर्ण सिस्टमको परीक्षण गरिनेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण