रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस
सारांश
- रास्वपा सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरिएको छ।
- कानुनका विद्यार्थी आयुष बडालले सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा विचाराधीन रहेको भन्दै रिट दायर गरेका हुन्।
- रिटमा सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा २७ बमोजिम मुद्दाको किनारा नलागेसम्म लामिछानेलाई निलम्बन गर्न माग गरिएको छ।
काठमाडौँ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार लामिछानेविरुद्धको रिट अदालतमा पेस भए पनि दर्ता भने भइनसकेको बताए । हाल सो रिट निवेदन अध्ययनकै क्रममा रहेको कोइरालाको भनाइ छ ।
कानुनका विद्यार्थी आयुष बडालले लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सङ्घीय संसद् सचिवालय, सभामुख, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय र रवि लामिछाने स्वयंलाई विपक्षी बनाएर मंगलबार रिट दिएका छन्।
रवि लामिछानेविरुद्धको मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई सांसदको हैसियतमा कुनै पनि कार्य गर्न नदिन र निलम्बनको अवस्थालाई निरन्तरता दिन संसद् सचिवालयका नाममा परमादेश जारी गर्न माग गरिएको छ।
रिट निवेदनमा ’सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४’ को दफा २७ लाई मुख्य आधार बनाएका छन्। उक्त दफामा कुनै राष्ट्रसेवक विरुद्ध मुद्दा दायर भएमा मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बन हुने बाध्यात्मक व्यवस्था रहेको दाबी गरिएको छ । ’जब गम्भीर अभियोग लागेका व्यक्तिलाई कानुनी परिणाम नटुङ्गिँदासम्म सार्वजनिक पदमा निरन्तरता दिन मिल्दैन भन्ने स्पष्ट व्यवस्था छ, तब त्यसो नगरी क्रियाशील हुन दिनुले विधिको शासनको खिल्ली उडाउँछ,’ रिट निवेदनमा उल्लेख गरिएको छ ।
कास्की, रुपन्देही र काठमाडौँ लगायतको सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा विचाराधीन रहेको अवस्थामा पनि संसद् सचिवालयले उनको निलम्बन कायम राखेको छ । यसअघि निवेदकले संसद् सचिवालयमा सूचनाको हक प्रयोग गरी लामिछानेको निलम्बनको अवस्थाबारे जानकारी मागेका थिए, तर स्पष्ट जवाफ नपाएपछि रिट निवेदकले सर्वोच्चमा रिट दिएका हुन् ।
रिट निवेदक बडालले आफू एक सचेत नागरिक र कानुनको विद्यार्थी भएको नाताले ’संवैधानिक नैतिकता’ र ’स्वच्छ छवि भएको संसद्’ को अवधारणाका लागि यो रिट दायर गरेको बताए । उनले लामिछाने पदमा रहँदा अनुसन्धान र न्यायिक प्रक्रियामा ’स्वार्थको द्वन्द्व’ हुने र साक्षी वा प्रमाणहरू प्रभावित हुन सक्ने जोखिम औँल्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण