सर्वोच्चको फैसलामा सरकार किन गयो पुनरवलोकनमा ?
सारांश
- सरकारले युनिटी लाइफ इन्टरनेसनलको ठगी मुद्दामा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरवलोकनका लागि निवेदन दिएको छ।
- फैसलामा जाहेरी नदिएका बचतकर्ताको रकम कम्पनीकै नाममा फिर्ता हुने व्यवस्थाले अपराधीलाई नै फाइदा पुग्ने सरकारको जिकिर छ।
- राज्यले पीडितको रकम अपराधीलाई सुम्पिनुको सट्टा राज्यकोषमा जम्मा गर्नुपर्ने माग राख्दै अन्तर्राष्ट्रिय नजिरसमेत प्रस्तुत गरिएको छ।
काठमाडौँ । युनिटी इन्टरनेसनल कम्पनीको झन्डै चार अर्ब रुपैयाँ ठगी प्रकरणमा कसुरदारलाई लाभ हुनेगरी फैसला भएको भन्दै सरकार पुनरवलोकनको माग गर्दै पुनः सर्वोच्च अदालत पुगेको छ ।
सर्वोच्चको फैसलाले कसुरदारलाई सजाय दिनुको सट्टा प्रोत्साहन गरेको देखिएको र सर्वसाधारणको ठगी भएको रकम कसुरदारलाई लाभ हुने देखिएको सरकारको जिकिर छ ।
सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०८२ वैशाख २ गते युनिटी लाइफ इन्टरनेसनलको ठगी मुद्दामा पीडितले जाहेरी दरखास्त गर्न आए ठगी भएको रकम फिर्ता गर्न सकिने भन्दै फैसला सुनाएको थियो ।
झन्डै एक दशक पुरानो यो मुद्दामा सर्वोच्चले पीडितलाई रकम फिर्ता गराउने बाटो खुला गरे पनि प्रमाण नभएका पीडितको रकम भने फिर्ता नहुने अवस्था आएको थियो । र कम्पनीका सञ्चालकलाई लाभ हुनेगरी फैसला भएको देखिएपछि महान्यायाधिवक्ता कार्यालय पुनरवलोकन माग गर्दै सर्वोच्च गएको नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीले बताए ।
सर्वोच्चले युनिटीका संस्थापकहरूलाई दोषी ठहर गर्दै सजाय सुनाए पनि एउटा बुँदामा गम्भीर कानुनी त्रुटि देखिएको सरकारको दाबी छ । फैसलामा जाहेरी दिन नआएका ३ लाख ६२ हजार १९८ जना बचतकर्ताको रकम र यससँग सम्बन्धित सम्पत्ति ‘दाबी गर्न नआएमा कम्पनीकै नाममा फुकुवा हुने’ उल्लेख थियो । यही बुँदाले अपराधीलाई नै आर्थिक लाभ पुग्ने र पीडितको हक खोसिने भन्दै सरकारी वकिलले पुनरवलोकन माग गरेका हुन् ।
सरकारको जिकिर– गल्ती गर्नेले नै फाइदा लिने र उन्मुक्ति दिन मिल्दैन
पुनरवलोकन निवेदनमा देवानी कानुनको सर्वमान्य सिद्धान्तलाई मुख्य आधार बनाइएको छ । सर्वोच्चले फैसलामा ‘दाबी पर्न आएकाको हकमा बिगो रकम भराई कम्पनीको नामको सम्पत्ति बाँकी रहन आए कानुनबमोजिम फुकुवा गरिदिने वा कम्पनीको नाममा जम्मा गरिदिने’ उल्लेख गरेको छ । सर्वोच्चको यस्तो व्याख्यामा सरकारले असन्तुष्टि जनाएको छ । सरकारले ‘गल्तीको फाइदा लिन नपाउने’ सिद्धान्तविपरीत फैसला भएको जिकिर गरेको छ । पुनरवलोकनमा मुलुकी देवानी संहिता, ०७४ को दफा १० मा गल्तीको फाइदा लिन नपाउने भनी सामान्य सिद्धान्तका रूपमा भएको व्यवस्थाविपरीत फैसला भएको जिकिर सरकारको छ ।
ठगी प्रमाणित भइसकेको अवस्थामा, ठगीकै माध्यम बनेको ‘युनिटी’ कम्पनीलाई नै बाँकी रकम सुम्पिनु भनेको आफ्नै गल्तीबाट फाइदा लिनु हो, जुन न्यायोचित हुँदैन । महान्यायाधिबक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको पुनरवलोकनमा भनिएको छ । गल्ती गर्नेलाई फाइदा पुग्ने गरी फैसला गर्दा भविष्यमा यस्तै प्रकृतिको ठगीले उन्मुक्ति पाउने नजिर बस्ने जिकिर गरेको छ ।
'३ लाख ६२ हजार पीडितको रकममा अनपेक्षित कब्जा गर्न मिल्दैन'
मुद्दामा ३ लाख ६२ हजारभन्दा बढी व्यक्तिहरूले रकम जम्मा गरेको देखिएको छ । तीमध्ये थोरैले मात्र जाहेरी दिएका थिए । जाहेरी नदिएकै आधारमा उनीहरूको अर्बौँ रकम पुनः ठगी गर्ने सञ्चालकहरूकै स्वामित्वमा पुग्नु 'अनुचित सम्वृद्धि’ भएको सरकारको तर्क छ ।
जाहेरी दरखास्त नदिएका ३ लाख ६२ हजार १९८ जना समेतले कम्पनीमा जम्मा गरेका रकम पाउने गरी फैसला भएको हदसम्म कुनै जिकिर नलिई जाहेरी दरखास्त दर्ता गर्न नआएमा ठगी गरी जम्मा भएको रकम / सम्पत्ति कम्पनीको नाउँमा जम्मा हुने गरी भएको फैसला नमिलेको सरकारको दाबी छ ।
'कम्पनीको सदस्यता लिई रकम जम्मा गर्ने बचतकर्ताले जम्मा गरेको रकम यो फैसला भएको मितिले दुई वर्षभित्र आफ्नो सबुत/ प्रमाणसहित फिर्ता लिन आएमा छुट्टै खातामा जम्मा गरी सोही खातामा रहेको रकमबाट फिर्ता गर्ने र त्यसरी प्रमाणसहित फिर्ता लिन नआएमा दुई वर्षपछि स्वतः राज्यकोषमा जम्मा हुने गरी फैसला हुनुपर्नेमा सोविपरीत भएको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी मागबमोजिम गरिपाऊँ,’ सरकारले भनेको छ ।
'पीडितको रकम ठगी गर्नेकै नाममा जम्मा हुनु जायज हैन'
युनिटीमा ठगीमा परेका लाखौँ पीडितहरुले उजुरी दिन सक्ने अवस्था नभएको र आफूसँग प्रमाण नभएको कारण रकम पाउने सम्भावना नदेखिएको अवस्थामा त्यसरी जम्मा भएका रकम ठगी गर्नेकै कब्जामा रहनु जाहेज नहुने निष्कर्ष निकालिएको छ । राज्य केवल जाहेरी दिने प्रतिनिधि होइन, जाहेरी दिन नसकेका लाखौँ पीडितहरूको पनि अभिभावक हो । धेरै पीडितहरू दुर्गममा भएको वा कानुनी प्रक्रिया थाहा नभएका कारण जाहेरी दिन आएका छैनन् । यस्तोमा उनीहरूको सम्पत्ति जोगाइदिने दायित्व राज्यको हो, न कि अपराधीको भनी प्रश्न उठाइएको छ ।
अन्तर्राष्ट्रिय नजिर र ’सहारा इन्डिया’को उदाहरण
युनिटी ठगी प्रकरण मुद्दामा भारतको सर्वोच्च अदालतले ’सहारा इन्डिया’ विरुद्धको मुद्दामा प्रतिपादन गरेको सिद्धान्तलाई आधार बनाइएको छ । सहारा मुद्दामा पनि दाबी गर्न नआएका लगानीकर्ताको रकम कम्पनीलाई फिर्ता नदिई राज्यको नियन्त्रित कोष मा राख्न आदेश दिइएको थियो । सोही अभ्यास अनुसार युनिटीको रकम पनि राज्यको कोषमा रहनुपर्ने माग गरिएको छ ।
अपराधलाई 'आर्थिक प्रोत्साहन’ मिल्ने जोखिम
सरकारी वकिलले जिकिर गरेका छन्, यदि ठगीबाट संकलित रकम अन्त्यमा कम्पनीकै कब्जामा रहने हो भने त्यसले अपराधीलाई 'आर्थिक रूपमा सफल’ बनाउँछ । यसले भविष्यमा योजनाबद्ध ठगी गर्नेहरूलाई निरुत्साहित गर्नुको साटो थप प्रोत्साहन दिने देखिन्छ ।
नेपाल कानुन पत्रिका (नेकाप) २०५०, अंक ९ को निर्णय नम्बर ४७९५ मा ‘गैरकानुनी वा अन्यायिक तवरले असुल गरेको रकमको वास्तविक दाबेदार सम्बन्धित उपभोक्ताहरू नै देखिन आएको र सो रकम आफैँले खाने/पचाउने गरी अन्यायिक तवरले समृद्धि वा फाइदा हासिल गर्ने अधिकार निवेदकलाई कानुन र न्यायको कुनै पनि सिद्धान्तले प्रदान नगरेको तथा सम्पत्ति हस्तान्तरण गर्दा जे उद्देश्यले सम्पत्ति आर्जन गरिएको हो, सो उद्देश्यविपरीत हुने गरी वा सम्पत्तिको अस्तित्व समाप्त हुने गरी र व्यक्तिगत लाभ पाउने गरी उक्त सम्पत्तिको स्वामित्व हस्तान्तरण नहुने’ भनी कानुनी सिद्धान्त प्रतिपादन भएको पनि जनाइएको छ ।
त्यस्तै, नेकाप ०८०, अंक १२, नि. नं. ११२१२ मा खगेन्द्र खड्काविरुद्ध कल्पना केसीसमेत भएको मुद्दामा ‘कुनै कानुनको व्याख्या गरेर वा कुनै कानुनी सिद्धान्तका आधारमा यस अदालतबाट निर्णय भएको छ भने पछिल्लो समान प्रकृतिको मुद्दामा त्यस्तो निर्णय अनुसरण गर्नुपर्ने । न्याय सम्पादनमा एकरूपता र निश्चितताका लागि अघिल्लो मुद्दामा प्रतिपादित नजिर सिद्धान्त पछिल्लो समान प्रकृतिको मुद्दामा प्रयोग र पालना गर्नु विधिशास्त्रीय मान्यता हुने,' भन्ने नजिर स्थापित भएको पनि उल्लेख गरिएको छ ।
युनिटीका सञ्चालकले कति ठगेका थिए ?
युनिटीका सञ्चालकहरूले ३७ वटा संस्था दर्ता गरी लगानी गरेको भेटिएको छ । अनुसन्धानका क्रममा युनिटीले १ अर्ब १५ करोड रुपैयाँ घरजग्गामा लगानी गरेको, ४१ करोड २८ लाख रुपैयाँ बैंक मौज्दात राखेको भेटिएको थियो । मुद्दा दर्ता हुनुअघि युनिटीका नाममा विभिन्न बैंकमा ४१ करोड २८ लाख ७ सय ८३ रुपैयाँ मौज्दात थियो ।
युनिटी सुरुमा १७ फागुन २०६२ मा सो इन्स्योरेन्स युनिटी लाइफ इन्टरनेसनलका नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो । त्यसपछि २०६४ भदौमा नाम परिवर्तन गरी युनिटी लाइफ इन्स्योरेन्स बनाई बिमालगायत गैरकानुनी काम थालिएको थियो ।
युनिटीले सुनसरी, कास्की, बागलुङ, चितवन र रुपन्देहीमा शाखा कार्यालय नै खोलेर सर्वसाधारणबाट रकम उठाएको थियो । युनिटीले २२ वटा विभिन्न कम्पनी र संस्थामार्फत अस्पताल, सपिङ सेन्टर, ट्राभल्स, रियल स्टेट, डिपार्टमेन्टल स्टोर, विज्ञापन एजेन्सी, डेरी उद्योग, हाइड्रोपावरमा लगानीका नाममा रकम सङ्कलन गरेको थियो । छानबिनमा कम्पनीले नेटवर्किङ व्यवसाय गरेको तर स्वीकृति नलिएको भेटिएको थियो ।
कम्पनीको महत्त्वपूर्ण पदमा रहेका केहीले ठेक्कापट्टा, जग्गा खरिदबिक्रीजस्ता काम पनि गरेका पाइएको थियो ।
युनिटीले आर्थिक वर्ष २०६२/६३ देखि आव २०६/६७ को अवधिमा ३ लाख ६८ हजार जनालाई सदस्य बनाएर ३ अर्ब ८३ करोड ४ लाख रुपैयाँ उठाएको थियो । संकलित रकमबाट १ अर्ब ८३ करोड ७ लाख ५० हजार रुपैयाँ कमिसन बाँडेको अनुसन्धानबाट खुलेको थियो ।
कम्पनी ऐन, २०६३ अनुसार कारबाही हुनुपर्ने जिकिर गर्दै युनिटी पक्षले मुद्दा दायर गरेको थियो । १२ चैत र २७ चैत २०७४ मा काशीराज गुरुङ र कृष्णबहादुर क्षेत्रीले अलगअलग दुई मुद्दा दायर गरेका थिए । युनिटीका सञ्चालकहरू आफ्नो व्यवसाय कानुनसम्मत रहेको दाबी गर्दै ठगीको अभियोगबाट सफाइ पाउनुपर्ने माग गर्दै यसअघि दुई पटक सर्वोच्च पुगेका थिए । युनिटीका सञ्चालकहरू पहिलोपटक २०६४ कात्तिक २२ मा युनिटीमाथि गैरकानुनी हस्तक्षेप भएको भन्दै सर्वोच्च अदालत गएका थिए ।
२०६२ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको सो कम्पनीले सर्वसाधारणसँग अनुमतिबिना निक्षेप सङ्कलन गर्दै ठगी गरेको रहस्य खुलेसँगै सरकारले अनुसन्धान थालेको थियो । त्यसपछि उनीहरू त्यसविरुद्ध सर्वोच्च पुगेका थिए । २०६७ वैशाख १९ मा मात्र नेपाल राष्ट्र बैंक र सरकारको संयुक्त अनुगमन टोलीले युनिटीले गैरकानुनी काम गरेको ठहर गरी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
युनिटीको ठगीलाई संगठित अपराध भएको ठहर
जिल्ला अदालत ललितपुरले २०७० चैतमा युनिटीका १२ जना सञ्चालकलाई दोषी ठहर गर्ने फैसला सुनाएको थियो । अदालतले सञ्चालकहरूलाई १ करोड ६ लाखका दरले जरिमाना र ३ वर्ष कैद हुने फैसला गरेको थियो ।
ललितपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश टेकनारायण कुँवरको इजलासले उनीहरूको अपराध संगठित ठगी भएको ठहर गरेको थियो । युनिटीका सञ्चालक नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर टण्डन, विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवाली दोषी ठहर भएका थिए ।
युनिटीले नेटवर्किङ व्यवसाय सञ्चालन गरेर ३ लाख ६६ हजार सदस्यबाट ३ अर्ब ७९ करोड रुपैयाँ ठगी गरेको आरोप थियो । अनुसन्धानमा सञ्चालकले कम्पनीको रकम व्यक्तिगत खातामा राखेको भेटिएको थियो । युनिटीको मुद्दामा प्रहरीले देशभरका विभिन्न अदालतमा दायर मुद्दामा कुल १ सय १२ जनालाई प्रतिवादी बनाएको थियो ।
युनिटी प्रकरणमा विनायक अस्पतालका सञ्चालक डा. गोविन्द ज्ञवाली र ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन पनि मुछिएका थिए । युनिटीका अध्यक्ष काशी गुरुङसहित २३ जना थुनामा थिए भने ८१ जना फरार थिए । पुर्पक्षका लागि थुनामा रहेकामध्ये नारायण सिवाकोटी, गोविन्द कोइराला, कुमार डङ्गोल, नेत्रकुमार राई, ढाकबहादुर पराजुलीले भने सफाइ पाएका थिए ।
जिल्ला अदालतको फैसलाविरुद्ध सञ्चालकहरूले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । सो पुनरावेदनमा सुनुवाइ गर्दै थुनामा रहेकाहरूलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि अध्यक्ष गुरुङसहित ५२ जना सर्वोच्च पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
-
संसदीय समितिमा उद्योगमन्त्रीकाे आलाेचना
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण