सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

टेबल टेनिसमा रोबोटको सनसनी : व्यवसायिक खेलाडीलाई समेत हरायो

बिहीबार, १० वैशाख २०८३, १४ : १८
बिहीबार, १० वैशाख २०८३

सारांश

  • जापानी कम्पनी सोनीको 'एस' नामक रोबोटले टेबल टेनिस खेलमा व्यवसायिक खेलाडीहरूलाई पराजित गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
  • यो रोबोटले उच्च गतिको धारणा, एआई नियन्त्रण र अत्याधुनिक रोबोटिक प्रणालीको प्रयोग गरी तीव्र गतिको शारीरिक खेलमा सफलता हासिल गरेको हो।

काठमाडाैँ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्सको क्षेत्रमा एउटा नयाँ फड्को मारिएको छ। जापानी कम्पनी सोनीको एआई रिसर्च डिभिजनले विकास गरेको ‘एस’ नामक रोबोटले टेबल टेनिसमा उच्च तहका मानव खेलाडीहरूलाई पराजित गरेर नयाँ कीर्तिमान कायम गरेको हो।

तीव्र निर्णय क्षमता र सटिक प्रहार आवश्यक पर्ने शारीरिक खेलमा विज्ञ स्तरको प्रदर्शन गर्ने यो विश्वकै पहिलो रोबोट बनेको छ। जर्नल ‘नेचर’ मा प्रकाशित अध्ययन अनुसार, ‘एस’ ले उच्च गतिको धारणा, एआई–आधारित नियन्त्रण र अत्याधुनिक रोबोटिक प्रणालीको प्रयोग गर्दछ।

कम्प्युटर गेमहरूमा एआईले मानिसलाई उछिनेको धेरै भए पनि टेबल टेनिस जस्तो तीव्र गतिको शारीरिक खेलमा यो ठुलो चुनौती थियो। सोनी एआई जुरिचका निर्देशक र परियोजना प्रमुख पिटर डरका अनुसार टेबल टेनिसमा मानिसको प्रतिक्रिया समयको सीमामा रहेर काम गर्नुपर्ने हुन्छ, जहाँ ‘एस’ सफल देखिएको छ।

यस रोबोटको कार्यक्षमता निकै प्रभावशाली छ। यसमा नौवटा सिन्क्रोनाइज्ड क्यामेरा र तीनवटा भिजन सिस्टम जडान गरिएका छन्, जसले घुमिरहेको बललाई मानव आँखाले भन्दा पनि स्पष्ट र छिटो ठम्याउन सक्छ।

रोबोटको हातमा आठवटा जोर्नीहरू छन्, जसले र्‍याकेटको स्थिति, दिशा, र प्रहारको गतिलाई पूर्ण नियन्त्रण गर्छन्। सन् २०२५ को अप्रिलमा भएका खेलहरूमा ‘एस’ ले इलाइट स्तरका खेलाडीहरू विरुद्ध पाँचमध्ये तीन खेल जितेको थियो। डिसेम्बर २०२५ र गत महिना त यसले व्यवसायिक खेलाडीहरूलाई समेत पराजित गर्न सफल भयो।

‘एस’ सँग पराजित भएकी व्यवसायिक खेलाडी मयुका ताइराले रोबोटको सबैभन्दा ठुलो शक्ति ‘अनुमान लगाउन नसकिने शैली’ र ‘भावनाशून्यता’ भएको बताएकी छिन्। ‘यसको प्रतिक्रिया पढ्न नसकिने हुनाले यसले कुन प्रकारको सट मन पराउँदैन वा कुनमा संघर्ष गर्छ भन्ने थाहा पाउन असम्भव छ,’ उनले भनिन्।

अर्का खेलाडी रुई ताकेनाकाले भने रोबोटले जटिल स्पिन सटहरू सहजै फर्काउन सके पनि सीधा वा साधारण सर्भमा केही कमजोरी देखाउने अनुभव सुनाए।

परियोजना प्रमुख डरका अनुसार ‘एस’ मा बलको स्पिन पढ्ने अलौकिक क्षमता र तीव्र प्रतिक्रिया समय छ। यसले मानिसलाई हेरेर भन्दा पनि सिमुलेशनमा आफैँ प्रशिक्षित भएर खेल्न सिकेको हुनाले यसका सटहरू निकै आश्चर्यजनक हुन्छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप