मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश सभा सचिवालयका लागि चार वटा गाडी खरिद गरिने

बिहीबार, १० वैशाख २०८३, १५ : ३७
बिहीबार, १० वैशाख २०८३

सारांश

  • गण्डकी प्रदेश सभा सचिवालयका लागि चार वटा नयाँ गाडी खरिद गर्न प्रदेश सरकारले चार करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ।
  • प्रदेश सरकारले संक्रामक रोगहरूको रोकथाम र उपचारका लागि पाँच करोड रुपैयाँको आपत्कालीन स्वास्थ्य कोष स्थापना गर्ने निर्णय गरेको छ।
  • क्यान्सरलगायतका गम्भीर रोगबाट पीडित एक सय ९७ जना बिरामीलाई एक करोड ७५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिने भएको छ।

पोखरा । गण्डकी प्रदेश सभा सचिवालयका लागि चार वटा गाडी खरिद गरिने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गाडी खरिदका लागि बजेट स्वीकृत गरेको छ।

जेनजी आन्दोलनका क्रममा संसद् सचिवालयका सबैजसो गाडी जलेर नष्ट भएको थियो । अहिले सभामुख, उपसभामुख सहित पदाधिकारीहरूले गाडी पाएका छैनन् । जसका कारण दैनिक कामकाजमा समेत असर परेको भन्दै सरकारले गाडी खरिदको लागि बाटो खोलिदिएको हो ।

गाडी खरिदका लागि चार करोड रुपैयाँको सैद्धान्तिक सहमति दिइएको सरकारका प्रवक्ता जितबहादुर शेरचनले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडी खरिदका लागि जोड दिइएको छ ।

‘निर्णय नै गरिएको त छैन । तर अब खरिद हुने गाडीहरू विद्युतीय हुनुपर्छ भनेर क्याबिनेटमा कुरा चलेको छ,’ उनले भने, ‘सम्भवतः यी गाडी पनि विद्युतीय हुनेछन् ।’ बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आपत्कालीन स्वास्थ्य कोष स्थापना गर्ने निर्णय गरेको छ । संक्रामक रोग नियन्त्रण र उपचारका लागि ५ करोड रुपैयाँको आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको शेरचनले बताए ।

केही समयअघि बागलुङमा फैलिएको दादुरा महामारी नियन्त्रणमा बजेट अभाव भएको घटनापछि सराकारले सबै खाले संक्रामक रोग उपचारका लागि छुट्टै कोष बनाउने निर्णय गरेको हो । त्यसका लागि आपत्कालीन स्वास्थ्य तथा संक्रामक रोग व्यवस्थापन कार्यविधि पनि स्वीकृत गरेको छ । कार्यविधि अनुसार ५३ प्रकारका सरुवा रोगको रोकथाम र उपचारका लागि अब बजेट अभाव नहुने सरकारको दाबी छ ।

यसबाहेक, प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरूका लागि योगदानमा आधारित निवृत्तिभरण सम्बन्धी व्यवस्था गर्न विधेयकको अवधारणा स्वीकृत गरिएको छ । यसले कर्मचारीको अवकाशपछिको जीवनलाई व्यवस्थित बनाउने शेरचनले बताए । क्यान्सरलगायत गम्भीर प्रकृतिका बिरामीहरूलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको उनले जानकारी दिए।

१ सय ९७ जना बिरामीका लागि सहायताको निर्णय गरिएको हो । १ करोड ७५ लाख रुपैयाँ सहयोग दिइने निर्णय गरिएको उनले बताए । यसमा सबैभन्दा धेरै १ सय ६८ जना क्यान्सरका बिरामी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप