कांग्रेसले विचार संस्थागत गर्यो तर कार्यान्वयन गर्न सफल भएन
सारांश
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको विचार संस्थागत भए पनि कार्यान्वयनमा पार्टी पूर्ण सफल नभएको स्वीकार गर्नुभएको छ।
- सरकारले लोकतन्त्र दिवसलाई पर्याप्त महत्त्व नदिएकामा उहाँले असन्तुष्टि व्यक्त गर्दै सहिदहरूको बलिदानीको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ।
- कांग्रेसले आफ्नो संगठनलाई डिजिटलाइज गर्दै जनजीविका र सुशासनका मुद्दाहरूमा स्पष्ट दृष्टिकोणसहित अगाडि बढ्ने योजना बनाएको छ।
आज २० औँ लोकतन्त्र दिवस । लोकतन्त्र प्राप्तिका लागि भएको संघर्षको नेतृत्व गर्ने नेपाली कांग्रेस गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट प्रमुख प्रतिपक्षी दलमा झरेको छ र लोकतन्त्रको जगेर्ना र संस्थागत गर्न खबरदारी गर्ने स्थानमा पुगेको छ । कांग्रेस लोकतन्त्रको संस्थागत गर्न किन चुक्यो र अब संस्थागत गर्नका लागि के के योजना बनाएको छ भन्नेबारे हामीले कांग्रेस महामन्त्री प्रदीप पौडेलसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ महामन्त्री पौडेलसँग गरिएको कुराकानीको सारसंक्षेप :
लोकतन्त्र दिवसको दिन सरकारले सार्वजनिक बिदा पनि दिएन । कांग्रेस त लोकतन्त्रका लागि लडेका पार्टी हो । लोकतन्त्रको संरक्षणका लागि कांग्रेसले के गरिरहेको छ ?
आज बैशाख ११ गते । हामी यस दिनलाई बलिदानीहरूको सम्मान गर्नका लागि लोकतन्त्र दिवसको दिन भनेर भनेका छौँ । खासगरी नागरिक स्वतन्त्रताका निम्ति, अभिव्यक्ति स्वतन्त्रताका निम्ति, नागरिक अधिकारका निम्ति लडेका सहिदहरू, बलिदानी दिएका व्यक्तिहरूको सम्मानमा हामीले स्मरण गर्नका लागि यो दिनलाई लोकतन्त्र दिवस घोषणा गरिएको थियो । तर आज सरकारले यसलाई त्यस्तो धेरै स्मृतिमा राख्नुपर्ने, सम्झनुपर्ने, ऐतिहासिक दिन हो भनेर मान्न नखोजेको हो कि जस्तो भान हुन भएको छ ।
आज देशको नेतृत्व जसले गर्नुभएको छ, त्यो नेतृत्व गर्ने शासन पद्धति स्थापित गर्न योगदान गर्नेहरूलाई सम्मान नगर्ने कुरा स्वाभाविक विषय होइन । त्यसैले आज नागरिक स्वतन्त्रता जुन उपभोग गर्न पाइएको छ, यो प्रतिस्पर्धात्मक राजनीतिमा जुन खालको अभ्यास गर्न पाइएको छ, यो जननिर्वाचित सरकार बन्ने, जनताले निर्वाचित गरेर प्रतिनिधि छनौट गर्ने, यो शासकीय स्वरूप जसरी निर्माण भएको छ, यो लोकतन्त्रका निम्ति आहुति दिने, बलिदान दिन तयार भएका महान् सहिदहरूको कारणले भएको हो । यसअघिका यस्ता ऐतिहासिक दिनहरूका कारणले भएको हो ।
त्यसैले यसलाई कुनै समय विशेषको मान्छु, कुनै मान्दिन भन्न मिल्दैन । यी सबै कुराको शृङ्खलाले, ती ऐतिहासिक घटनाक्रमको शृङ्खलाले हामी यहाँसम्म आइपुगेका हौँ । नागरिक स्वतन्त्रता जोगिएको हो । अभिव्यक्ति स्वतन्त्रता जोगिएको हो । जनताले आफ्नो प्रतिनिधि छनौट गर्न पाउने निर्बाध अधिकार सुरक्षित भएको हो। त्यसैले त्यो कुरालाई राज्यले नै बेवास्ता गर्न मिल्दैन । राज्यले त्यो कुरालाई सम्मान गर्न सक्नुपर्छ । राज्यले त्यो कुरालाई महसुस गर्न सक्नुपर्छ र इतिहासको त्यो विरासतलाई अङ्गाल्न सक्नुपर्छ ।
त्यसकारणले आजको दिनमा यो नागरिक स्वतन्त्रता सुरक्षित गर्ने सवालमा हामी सचेत हुन जरुरी छ । लोकतन्त्रका निम्ति लडेका सहिदहरूको बलिदानलाई देशका निम्ति सदा उपयोग गर्ने स्थिति निर्माण गर्नका निम्ति हामी सचेत हुन जरुरी छ । यो लोकतन्त्रको जुन उपलब्धि हामीले हासिल गरेका छौँ, यो खोस्ने होइन, यसलाई समृद्ध गर्ने बाटोतिर लिएर जान जरुरी छ ।
एकदम दुःख पाउँदा पनि मेरो राज्य छ भनेर नागरिकले महसुस गर्ने विषयलाई जुन तहसम्म प्राथमिकतामा राख्नुपर्ने थियो, त्यसरी राख्न नसकेको हामीले स्वीकार गर्नुपर्छ ।
यो बिचको अनुभवले हामीलाई के गरायो भने केवल अभिव्यक्ति स्वतन्त्रता मात्रै लोकतन्त्र होइन । अभिव्यक्ति स्वतन्त्रतासँगसँगै नागरिकका जनजीविकाका विषयहरूलाई पनि अधिकारका रूपमा स्थापित गर्नुपर्ने रहेछ । राज्यसँगको नागरिकको जुन नाता हो, त्यसलाई जिम्मेवारीको तहमा पुष्टि गर्न सक्नुपर्ने रहेछ । त्यसैले राज्यले नागरिकलाई खास विशेष जे दायित्व पूरा गर्नुपर्ने हो, त्यो पूरा गरेको अवस्थाले मात्रै लोकतन्त्रलाई पूर्ण बनाउन सक्ने रहेछ । त्यसैले लोकतन्त्र पूर्ण बनाउने प्रक्रियामा हामीले धेरै कुरा सिक्यौँ । तर यसको अर्थ के होइन कि ती सहिदहरूको बलिदानी, त्यो संघर्ष नभएको भए हामीले यो सिक्न पनि सक्दैनथ्यौँ । हाम्रो लोकतन्त्र यो स्थितिमा आउन पनि सक्दैनथ्यो । त्यसैले उहाँहरूलाई सम्मान गर्न त्यो दिनको स्मरण गर्न र त्यो दिनलाई इतिहासमा दर्ता गर्ने कुरामा कुनै कमी नहुने स्थिति निर्माण गर्न जरुरी छ जस्तो मलाई लाग्छ ।
अहिलेको वर्तमान सरकारले लोकतन्त्रका अनुयायी र लोकतन्त्रप्रति त्यति चासो दिएको जस्तो देखिएन । यहाँले पनि यस विषयमा आशङ्का गर्नुभयो । अब त्यसलाई लोकतन्त्रप्रति पूर्ण वफादार बनाउन प्रमुख प्रतिपक्षी दलको हैसियतले यहाँहरूले के गरिरहनु भएको छ ?
अहिलेको सरकारमा रहनुभएका जो पदाधिकारीहरू हुनुहुन्छ, उहाँहरूले यो संघर्षमा कहीँ कतै भाग लिनुभएको छैन । उहाँहरू एकैचोटी त्यो विरासत अथवा त्यो जिम्मेवारी लिने स्थितिमा पुग्नुभो । त्यो सम्भव पनि यही लोकतन्त्रले गराएको हो भन्ने कुरा उहाँहरूले बुझ्नुपर्छ । नागरिकले लडेर जुन खालको नागरिक अधिकार दिलाउने काम गरे, त्यही अधिकारले उहाँहरूलाई त्यहाँ पुर्याएको हो । यो शृङ्खला हो, यो एकैचोटी भएको होइन । त्यसैले उहाँहरूले नागरिकको मन जितेर नागरिकको प्रतिनिधि भएर सत्तामा जाने मौका पाउनुभयो । त्यसैले यो गएको चुनाव नै इतिहासको सुरुवात होइन, त्यो कुरा उहाँहरूले बुझ्नुपर्छ । त्यस्ता चुनावहरू हुने वातावरण कसले बनायो भन्दा त्यो भन्दा अगाडिका संघर्षहरूले बनायो ।
त्यो लामो सङ्घर्षलाई बिर्सिने, त्यो इतिहासलाई इतिहासै नमान्ने कुराले जिम्मेवारी बोध हुन सक्दैन । त्यसैले उहाँहरूलाई बढी विश्वास प्राप्त भएको छ, नागरिकले बढी भरोसा गर्नुभएको छ तर यस्तो कुराले त्यो इतिहासलाई नै कदर नगर्ने कुराले भरोसा टुट्न सक्छ । म उहाँहरूलाई त्यो कुरामा सचेत गराउन चाहन्छु ।
कांग्रेस लोकतन्त्र स्थापनाका लागि लडेको पार्टी पनि हो । लोकतन्त्र प्राप्तिपछि धेरै समय सत्तामा बस्ने पार्टी पनि हो । यहाँले नै सत्तामा बस्दा हामीले नागरिकका अधिकारहरू हरूलाई लोकतन्त्रसँग जोड्न सकेनौँ भन्नुभयो । यो नसक्नुमा कारण चाहिँ के थियो ?
अधिकारको सीमा सधैँ साँघुरो भयो । हामीले व्यक्तिगत स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, नागरिकले प्रतिनिधि छनौट गर्ने स्वतन्त्रता, यो डेमोक्रेटिक भावना मूल्य मान्यताको चेतना विकास गर्ने पक्षलाई चाहिँ साथसाथै राख्यौँ । यो मिडिया फ्रीडमलाई चाहिँ हामीले प्राथमिकतामा राख्यौँ । त्यो लोकतन्त्रको एउटा अंश हो, पूर्णता होइन । त्यसैले हामीले आर्थिक अधिकारको विषयलाई, नागरिकको राज्यसँगको नाताको विषयलाई, सबैलाई समान व्यवहार गर्नुपर्ने विषयहरूलाई, नागरिकको भरोसा र विश्वास आर्जन गर्ने विषयलाई, एकदम दुःख पाउँदा पनि मेरो राज्य छ भनेर नागरिकले महसुस गर्ने विषयलाई जुन तहसम्म प्राथमिकतामा राख्नुपर्ने थियो, त्यसरी राख्न नसकेको हामीले स्वीकार गर्नुपर्छ ।
विचार कांग्रेसको संस्थागत भयो तर त्यो विचार कार्यान्वयन गर्ने प्रक्रियामा हामीहरू एकदमै पूर्ण सफल हुन सकेनौँ ।
यी विषयमा हामीले ख्याल नगरेको कारणले हामीप्रति आक्रोश बढ्यो र प्रतिक्रिया सङ्गठित भएर अरूले नेतृत्व गर्ने अवसर प्राप्त गरे । अब यसमा पनि केही छैन हामीले सिक्ने मौका पायौँ । त्यो त्रुटिलाई हामीले आत्मसाथ गरेर लोकतन्त्र पूर्ण कसरी हुन्छ भन्ने कुराको पूर्ण जानकारी लिएर अथवा पूर्ण लोकतन्त्रको वकालत गरेर अभ्यासमा त्यसलाई विकसित गर्ने बाटोमा लाग्नुपर्छ । त्यसैले हिजोको इतिहास वास्तवमा कांग्रेसको इतिहास हो । नेपालको राजनीतिक विगत जुन छ, त्यो कांग्रेस बिना पूर्ण हुन सक्दैन । सधैँभरि संघर्षको नेतृत्व कांग्रेसले गरेको हो । बलिदानी दिनेहरू धेरैजसो कांग्रेसको झण्डा मुनि बसेर दिनुभएको हो । लोकतन्त्रको यो समाजमा सबैभन्दा पहिले वकालत कांग्रेसले गरेको हो । बहुलवादको वकालत कांग्रेसले गरेको हो । विचार कांग्रेसको संस्थागत भयो तर त्यो विचार कार्यान्वयन गर्ने प्रक्रियामा हामीहरू एकदमै पूर्ण सफल हुन सकेनौँ । त्यो कुरालाई आत्मसाथ गरेर हामीले आफूलाई करेक्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
आफ्ना गल्ती कमजोरी आत्मसाथ गरेर अगाडि बढ्न कांग्रेसका योजना के के छन् ? लोकतन्त्र सुदृढ गर्न कांग्रेस कसरी अगाडि बढ्छ ?
पहिलो, कांग्रेस योजना र विषयगत पक्षमा स्पष्ट हुन पर्यो । राजनीतिक दृष्टिकोण त कांग्रेसको स्पष्ट नै छ । आर्थिक दृष्टिकोण के हो ? शिक्षा, स्वास्थ्य जो नागरिकको सबैभन्दा बढी सरोकारको विषय हो, त्यसमा हाम्रो दृष्टिकोण के हो ? जनजीविकाका सवालहरूमा हाम्रो दृष्टिकोण के हो ? सामाजिक सुरक्षाका सवालहरूमा हाम्रो दृष्टिकोण के हो ? सुशासनका सवालमा हाम्रो दृष्टिकोण के हो ? भ्रष्टाचारलाई शून्यतमा ल्याउनका निम्ति हामीले गर्न खोजेको के हो ? यी तमाम विषयमा हामी पहिले त स्पष्ट हुन जरुरी छ ।
दोस्रो, हामीले संगठन बनायौँ । संगठनको संरचनाभित्र धेरै मान्छेहरूलाई जिम्मेवारीमा राख्यौँ । पहिले त थाहा भएन छ, यो देशमा सबैभन्दा बढी सदस्य भएको पार्टी कांग्रेस । यो देशमा सबैभन्दा बढी संरचनाभित्र भएको पार्टी, संरचनाभित्र मानिस भएको पार्टी कांग्रेस हो । तर बुथ एजेन्ट नै नभएको पार्टीले हामीलाई जित्यो । त्यसकारणले चाहिने के रहेछ भने मेसेज चाहिने रहेछ । कांग्रेसप्रतिको दृष्टिकोण चाहिँ सकारात्मक हुन पर्दो रहेछ, निर्वाचन जित्न र विश्वास आर्जन गर्नका लागि ।
हो, त्यो सवालमा चाहिँ हामी स्पष्ट भएर यो डिजिटलाइज्ड दुनियाँमा संगठनलाई डिजिटलाइजेशन गर्ने, यो डिजिटल माध्यमबाट संगठनका सबै मान्छेलाई समेटेर जोडेर अगाडि बढ्ने । अनि व्यक्ति व्यवस्थापनको विषय पनि महत्त्वपूर्ण हुन्छ किनकि इतिहास बनाइसकेको व्यक्तिले किनारामा बसेर सहयोग गर्न सक्दैनन्, त्यो हामी बुझ्छौँ । त्यसैले त्यो पक्षहरूलाई पनि हामीले ख्याल गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण