शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
वारपार

भट्टराईलाई प्रश्न : कांग्रेस एकढिक्का हो भने समूहका नाममा भेला किन ?

शुक्रबार, ११ वैशाख २०८३, २० : ००
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • कांग्रेस नेता गोविन्द भट्टराईले पार्टीभित्रको गुटगत भेला र विवादलाई लिएर प्रश्न उठाउँदै पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
  • उनले कांग्रेस फुट्ने सम्भावना नरहेको बताउँदै पार्टीको पुनरुत्थान र आगामी कार्यसूचीमा केन्द्रित हुनुपर्ने बताएका छन्।

काठमाडौँ । इमानदार, सादगी भएर पनि ‘अभागी’ नेताको रूपमा चिनिन्छन् कांग्रेस नेता गोविन्द भट्टराई । नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व गरेका भट्टराई अहिलेसम्म कुनै राजकीय पदमा पुग्न सकेका छैनन्, जबकि नेविसंघका अहिलेसम्मका सभापतिहरू कुनै न कुनै राजकीय पदमा पुगेका छन् ।

अझ चाखलाग्दो कुरा त उनैले टिकट दिएर स्ववियु सभापति बनाएका गगन थापा कांग्रेसको सभापति छन् भने उनकै जिल्ला तनहुँका प्रदीप पौडेल महासचिव छन् ।

आत्मग्लानिले हो कि के हो उनी अहिले गगन थापा समूहमा छैनन् । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र नेता गोविन्दराज जोशीबिचको गुटगत स्वार्थको चपेटामा भट्टराई परि नै रहे ।

पौडेल राष्ट्रपति भएपछि तनहुँ–१ बाट प्रतिनिधिसभाका लागि पहिलो पटक उम्मेदवार बने तर रास्वपाका स्वर्णिम वाग्लेसँग पराजित भए । दोस्रो पटक पनि भट्टराईको त्यही नियति दोहोरियो । अर्थशास्त्रका पीएचडी भट्टराईले कुनै पदमा नहुँदा पनि तनहुँका विकट गाउँहरूमा सडक पुर्‍याउने र खानेपानीका योजनामा लामो समय काम गरे । त्यसैले उनलाई तनहुँमा कतिपयले ‘पानी मान्छे’समेत भन्छन् ।

आफ्नै कार्यकर्ताहरू पार्टीको सभापति, महामन्त्री हुँदा पनि भट्टराईले त्यो समूहलाई किन रोजेनन् ? विशेष महाधिवेशन, अदालत, निर्वाचन आयोगले गरेका निर्णय नमानेर देउवा समूह पार्टी फुटाउन किन कम्मर कस्दैछ ?

कांग्रेसको भविष्य र बदलिँदो राजनीतिका विषयमा नेता भट्टराईसँग रातोपाटीका लागि रोहित दाहालले लामो संवाद गरेका छन् । भट्टराईसँग गरिएको संवादको सम्पादित अंश– (विस्तृत संवाद भिडियोमा हेर्न र सुन्न सकिनेछ)

  • नेपाली कांग्रेसको विधान महाधिवेशन भयो । त्यसलाई निर्वाचन आयोग, सर्वोच्च अदालतले मान्यता दिए । अब रडाको किन ?

त्यस्तो होइन । कि त अदालत जानुहुँदैनथ्यो । गइसकेपछि अदालतको जे फैसला हो, अब त्यो मान्नैपर्ने हुन्छ ।

  • त्यसो हो भने देउवा समूहको नाममा, खड्का समूहको नाममा बैठक, भेला किन त ?

पार्टीभित्र विभिन्न गुटहरूको अभ्यास हाम्रो लामै समयदेखि चलिरहेकै विषय हो ।

  • अब यसमा धेरै बहस गर्न आवश्यक नै छैन ?

अब छैन । यो सकिसक्यो ।

govinda bhattarai (2)

  • शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, प्रकाशमान सिंहलाई नपुगेको के छ र अब ?

अब यस्तो छैन के । अब वार्ता भएर कुरा भइरहेको छ भन्ने सुन्दै छु । अब त्यो टुङ्गिएला ।

  • छुट्टै महाधिवेशन गर्ने सम्मको कुरा आइरहेको छ त ।

नाइँ, नाइँ, त्यस्तो छैन ।

  • बैठकमा भएको के हो त ?

त्यो बैठकमा त म थिइनँ । त्यो मलाई थाहा भएन ।

  • सबैजना गगन थापाको नेतृत्वको कांग्रेसमा एकताबद्ध हुनुको विकल्प छैन भन्ने तपाईंको भनाइ हो ?

कांग्रेस एकताबद्ध थियो नि निर्वाचनमा पनि । एक ठाउँमा बागी विद्रोही उठेका थिएनन् । म गगनकै टिकटमा चुनाव लडेको । गगन नै भावी प्रधानमन्त्री भनेर भाषण गर्दै गाउँ–गाउँमा भोट मागेको हो । अब त्यसमा त केही कुरै भएन नि ।

  • कांग्रेस फुट्छ कि फुट्दैन त अब ?

फुट्दैन ।

  • फुटाउन लागेका छन् नि त कोही ?

नाइँ, नाइँ, मलाई त्यस्तो फुट्छ भन्ने लाग्दैन । के भनेर फुटाउने भन्ने कुरा छ नि त ।

  • उहाँहरूले असोजमा महाधिवेशन तोक्नुभएको छ । १५औँ महाधिवेशन त्यही मितिमा हुन्छ ?

मान्ने नमान्ने एउटा कुरा हो । तर असोजको महाधिवेशन हाम्रो लागि कति व्यावहारिक हो भन्ने कुरा पनि छ ।

govinda bhattarai (1)

  • निर्वाचन परिणामबारे तपाईंको धारणा के छ ? कसले जिम्मेवारी लिने ?

अहिले हारजितको जिम्मा लिने कुराभन्दा पनि अब तपाईं पार्टीलाई कसरी पुनरुत्थान गर्नुहुन्छ ? अहिले तपाईंको भोटचाहिँ १७ लाख ५० हजार चानचुन छ । ५१ लाख भोट छ उता । १७ लाखलाई तपाईंले कसरी ३४ पुर्‍याउने हो ? अथवा त्यसलाई ४०–५० लाखभन्दा माथि कसरी पुर्‍याउने हो भन्ने कुरा नै अहिलेको मुख्य कार्यसूची हो ।

  • क्रियाशील सदस्यता नवीकरणको विषय पनि विवादमा छ ।

१५औँ महाधिवेशनका लागि क्रियाशीलको नवीकरण र वितरण गर्ने बेलासम्म त सबै मिलेर गरेको हो । नवीकरणको काम त सकिसकेको थियो । ठुलो मुस्किलले नवीकरण गरिएको थियो । भयानक उत्साह भरिएर क्रियाशील लिनका लागि तछाडमछाड गरिएको अवस्था होइन, अब देशैभरिका मानिसलाई फेरि नवीकरणका लागि भन्नु अव्यवहारिक हुन्छ ।

  • बिचौलियाहरूसँग तपाईंका पार्टीका नेताहरूको उठबस, खानपिन हुँदा, मन्त्रीलाई जत्रो आरोप लाग्दा पनि पद नछाड्ने गरेका उदाहरण छन् । अहिले आरोप लाग्नेबित्तिकै मन्त्रीले राजीनामा दिँदा अलि अप्ठ्यारो लागेको छ ?

हाम्रा नेताहरूले पनि दिएका छन् । हाम्रा नेताहरूले प्रधानमन्त्रीको पद पनि छोडेका छन् ।

  • शेरबहादुर देउवा र आरजु देउवा अहिले कहाँ हुनुहुन्छ ?

त्यो त मुद्दा लगाउनेले खोज्ने विषय हो ।

  • तपाईंलाई जानकारी छैन ?

छैन ।

  • यो सरकारबारे तपाईंको भनाइ के छ ?

अहिलेको सरोकार के हो भने यो संविधान रहन्छ कि रहँदैन ? लोकतन्त्र रहन्छ कि रहँदैन ? यो देश एकताबद्ध हुन्छ कि हुँदैन भन्ने कुरामा हाम्रो सरोकारको विषय हो ।

  • कांग्रेस र कम्युनिस्टहरूको रोगै छ नि । कांग्रेसले आफूले नजिते लोकतन्त्रमाथि खतरा देखिहाल्छ । कम्युनिस्टले जितेनन् भने विदेशी चलखेल भनिहाल्छन् । यो चाहिँ रोगै हो है ?

वैदेशिक प्रभावलाई हामीले कति रोक्न सक्छौँ ? अहिले हामीले देखिरहेको लोकतन्त्रको ढाँचामा यो जान्छ कि तपाईं र मेरै यही बोल्ने अधिकारमा अंकुश लाग्छ कि भोलि ?

  • शंका छ तपाईंलाई ?

सैद्धान्तिक हिसाबले स्पष्ट रूपमा नआएपछि के हो के हो नि । लोकतन्त्रकै संस्थाहरूमा प्रहार गर्न सुरु भइसक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप