मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

बालेन लक्षित रक्षा बमको प्रश्न: भत्काउन सिपालु तर बनाउन प्रेम र धैर्य खै ?

आइतबार, १३ वैशाख २०८३, २२ : ३२
आइतबार, १३ वैशाख २०८३

सारांश

  • जेनजी अभियन्ता रक्षा बमले काठमाडौँ महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाएर संरचना भत्काएकोमा आपत्ति जनाएकी छन् ।
  • उनले बस्ती भत्काउनुअघि वास्तविक र नक्कली सुकुम्बासीको प्रमाणीकरण गरी सही सुकुम्बासीलाई मर्यादासहित पुनर्स्थापित गर्नुपर्ने तर्क गरेकी छन् ।
  • बमले बालेन शाह भत्काउन सिपालु भए पनि बनाउनका लागि आवश्यक प्रेम, सद्भाव, सहनशीलता र धैर्यताको अभाव रहेको उल्लेख गरेकी छन् ।

काठमाडौँ । संघीय सरकार र काठमाडौँ महानगरपालिकाले सुकुमबासीबस्तीहरूमा डोजर चलाएर संरचना भत्काउन सुरु गरेको विषयमा जेनजी अभियन्ता रक्षा बमले आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले सरकारले चालेको यो कदमको प्रक्रिया र शैली कुनै पनि हालतमा सही नभएको उल्लेख गरेकी छन् ।

बस्ती भत्काउनुअघि केही समय दिएर वास्तविक सुकुमबासीर नक्कली सुकुम्बासीको प्रमाणीकरण गर्नुपर्ने उनको तर्क छ । सही सुकुम्बासीलाई मर्यादासहित पुनर्स्थापित गर्नुपर्ने र नक्कली सुकुम्बासीलाई अतिक्रमणको कसुरमा कानुनको दायरामा ल्याउनुपर्नेमा सरकारले हतारो गरेको उनले बताएकी छन् । हिजो मेयर हुँदा एक्लैले नसकेको काम आज राज्यको सिंगो संयन्त्र प्रयोग गरेर गराउनुमा बालेन शाहको दम्भ देखिएको र भत्काउन सिपालु भए पनि बनाउनका लागि आवश्यक पर्ने प्रेम, सद्भाव, सहनशीलता र धैर्यताको अभाव खड्किएको बमले उल्लेख गरेकी छन् । उनले लेखेकी छिन ‘...तर बालेनले हिजो मेयर हुँदा पूरा गर्न नसकेको कामलाई आज प्रधानमन्त्री हुँदा जुन हतारका साथ बस्ती खाली गराउन राज्यको सिंगो संयन्त्र लगाएका छन् , यो हतार नै के का लागि हो ?  खैर, उनी भत्काउन खुब सिपालु छन् । बनाउनका लागि त प्रेम चाहिन्छ, सद्भाव चाहिन्छ । सहनशीलता र धैर्यताको पनि उत्तिकै आवश्यकता हुन्छ । 

यसअघिका सरकारहरूले पनि विधि र प्रक्रिया मिचेकै कारण र जवाफदेहिता वहन नगरेकै कारण नमिठो बहिर्गमन भोग्नुपरेको स्मरण गराउँदै उनले बालेन सरकारलाई सोही बाटोमा नलाग्न सचेत गराएकी छन् । यतिबेला झरी परिरहेको समयमा सामानसहित सुकुम्बासीहरूलाई खुला आकाशमुनि पुर्‍याइनु र व्यवस्थापनको नाममा केही दिनका लागि मात्र लजमा राख्ने कुराले उनीहरूको आवास र रोजगारीको हक सुनिश्चित नहुने उनको भनाइ छ ।

बस्तीमा सिर्जना गरिएको त्रासपूर्ण अवस्थाले त्यहाँका बालबालिका र वृद्धवृद्धाको मानसिक स्वास्थ्यमा गम्भीर असर पुगेको तर्फ पनि बमले ध्यानाकर्षण गराएकी छन् । सुकुम्बासीहरूले अझै पनि ‘बालेनकै आशा छ’ भनिरहेको उल्लेख गर्दै उनले नागरिकको यो झिनो आशा जोगाइराख्नु सरकारको कर्तव्य भएको बताएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप