सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
तथ्यांकमा सुकुमबासी बस्ती

४ दिनमा १६ सय बढी परिवार हटाइयो, ११ सय बढी निवेदन दर्ता

मङ्गलबार, १५ वैशाख २०८३, २१ : २२
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • सरकारले काठमाडौँ उपत्यकाका नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी संरचना हटाउँदा चार दिनमा १६ सय ६८ परिवारलाई हटाइएको छ ।
  • सुकुमबासी हटाउने कार्यसँगै विस्थापित परिवारको व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयले दशरथ रंगशालामा लगत संकलन गरिरहेको छ ।
  • काठमाडौं महानगरपालिकाले विस्थापितहरूलाई खानपान, बास, स्वास्थ्य उपचार र मनोपरामर्शको निःशुल्क व्यवस्था गरेको छ ।

काठमाडौँ । काठमाडौँ उपत्यकालाई ‘सुन्दर बनाउन’ नदी किनारका अतिक्रमण हटाई सार्वजनिक सम्पत्ति संरक्षण गर्न सरकारले मुख्यतः तीन ठाउँका सुकुमबासीहरूलाई हटाइसकेको छ । शनिबारदेखि तीन दिनसम्म यी बस्तीहरूमा राज्यले निर्मतापूर्वक डोजर चलायो । 

लामो समयदेखि नदी किनार र सार्वजनिक जग्गा मिचेर बनाइएका अस्थायी संरचना हटाइए । 

काठमाडौं प्रशासनका अनुसार आज (मंगलबार) साँझसम्म चार क्षेत्रहरूबाट कुल १ हजार ६ सय ६८ सुकुमबासी परिवारलाई सफलतापूर्वक हटाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार सबैभन्दा ठुलो संख्यामा मनोहरा क्षेत्रबाट ७ सय ७३ परिवारलाई सारियो । वर्षौंदेखि यस ठाउँमा बस्दै आएका परिवारहरूका कारण नदीको प्राकृतिक बहाव र वरपरको वातावरणमा प्रतिकूल असर परिरहेको सरकारको दाबी छ । 

यसैगरी बागमती नदीको किनारमा रहेको शान्तिनगर क्षेत्रबाट ६ सय ३८ परिवारलाई स्थानान्तरण गरिएको छ । शान्तिनगरमा बागमती नदीको एकातर्फ ४ सय ७६ र अर्कोतर्फ १ सय ६२ परिवार बसोबास गरिरहेका थिए ।

काठमाडौँको मुटु मानिने र सधैं चर्चाको केन्द्रमा रहने थापाथली क्षेत्रबाट पनि १ सय ४३ परिवारलाई हटाइएको छ भने जडीबुटीस्थित मिलनचोक क्षेत्रबाट पनि १ सय १४ परिवारलाई अन्यत्रै लगिएको छ । 

हटाइएका सुकुमबासी घर परिवार र बस्तीको संख्या

कुल हटाइएका परिवारः १,६६८ परिवार (४ वटा मुख्य क्षेत्रबाट)
– मनोहरा क्षेत्र (भक्तपुर) : ७७३ परिवार
– शान्तिनगर क्षेत्र (बागमती किनार) : ६३८ परिवार (एकातर्फ ४७६ र अर्कोतर्फ १६२)
–थापाथली क्षेत्रः १४३ परिवार
–जडीबुटी (मिलनचोक) क्षेत्रः ११४ परिवार 

प्रमुख जिल्ला अधिकारी पौडेलले यी क्षेत्रहरू अब ‘सुकुमबासी मुक्त’ भएको बताएका छन् । ‘प्रशासनले जुन–जुन स्थानलाई लक्षित गरी कार्ययोजना बनाएको थियो, ती क्षेत्रमा अब कुनै पनि अस्थायी टहरा वा सुकुमबासी बस्ती बाँकी रहेका छैनन् ।’ 

रंगशालाबाट सहरी विकासको दर्ता

बस्ती हटाउने कार्यसँगै विस्थापित भएका परिवारहरूको मानवीय पक्षलाई ध्यानमा राख्दै सरकारले  व्यवस्थापनको कार्य पनि सँगसँगै अगाडि बढाएको छ । बस्ती भत्काइएपछि घरबारविहीन भएका परिवारहरूका लागि सहरी विकास मन्त्रालयले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गर्ने र उनीहरूको लगत संकलन गर्ने कार्य गरिरहेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कुल १ हजार १ सय २४ परिवारका ३ हजार ९ सय ८४ जना व्यक्तिहरूले आफ्नो विवरण दर्ता गराएका छन् । यो तथ्यांकले विस्थापित भएमध्ये ठुलो संख्यामा मानिसहरू सरकारी व्यवस्थापनको प्रक्रियामा सहभागी हुन आएका छन् । यद्यपि अझै बाँकी छन् । 

रंगशालामा भएको दर्ता प्रक्रियाको दैनिक विवरण हेर्दा; पहिलो दिन अर्थात् वैशाख १२ गते १ सय ८१ परिवारका ८ सय ५० जनाले नाम दर्ता गराएका थिए । दोस्रो दिन वैशाख १३ गते यो संख्या उल्लेख्य रूपमा वृद्धि भई ३ सय ३८ परिवारका १ हजार ५ सय ३४ जना पुगेको थियो । 

तेस्रो दिन वैशाख १४ गते ३ सय ७३ परिवारका १ हजार ६ सय जनाले आफ्नो विवरण टिपाएका थिए भने चौथो दिन वैशाख १५ गते थप २ सय ३२ परिवार दर्ता हुन आएका थिए । यसरी चार दिनमा झण्डै चार हजार व्यक्ति तथ्यांकमा आइसकेका छन् । 

दर्ता हुन आएका घर परिवार र व्यक्तिको संख्या

कुल दर्ता संख्याः १,१२४ परिवारका ३,९८४ जना व्यक्ति
– पहिलो दिन (वैशाख १२)ः १८१ परिवारका ८५० जना
–दोस्रो दिन (वैशाख १३)ः ३३८ परिवारका १,५३४ जना
–तेस्रो दिन (वैशाख १४)ः ३७३ परिवारका १,६०० जना
–चौथो दिन (वैशाख १५)ः २३२ परिवार

काठमाडौं महानगरले कहाँ कसरी गर्दै छ व्यवस्थापन ?

काठमाडौँ महानगरपालिकाले विस्थापितहरूको तत्कालको राहत र व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ । रंगशालामा दर्ता हुन आएकाहरूका लागि महानगरले खानपान, सुरक्षित बसोबास र स्वास्थ्य उपचारको पूर्ण रूपमा निःशुल्क व्यवस्था गरेको छ । 

‘महानगरपालिकाले केवल गाँस र बासको मात्र चिन्ता नगरी विस्थापित परिवारका सदस्यहरूको मानसिक स्वास्थ्य र बालबालिकाको भविष्यलाई समेत ध्यान दिएको छ । विशेष गरी घर भत्किँदा र नयाँ ठाउँमा सर्नुपर्दा बालबालिका र वृद्धवृद्धाहरूमा पर्न सक्ने मानसिक तनावलाई कम गर्न महानगरले मनोपरामर्शदाताहरूको टोली परिचालन गरेको छ,’ महानगर प्रहरी प्रमुख विष्ण जोशीले रातोपाटीसँग भने । 

जोशीका अनुसार विस्थापितहरूलाई काठमाडौंका विभिन्न क्षेत्रमा व्यवस्थित ढंगले राखिएको छ । पछिल्लो तथ्यांक अनुसार वैशाख १२ गते बालाजु क्षेत्रमा १ सय ११ जनाको व्यवस्थापन गरिएको थियो । वैशाख १३ गते नयाँ बसपार्क र माछापोखरी क्षेत्रमा ६९ परिवारका १ सय १७ जनालाई राखिएको थियो । 

त्यसैगरी, वैशाख १४ गते सामाखुसी बसपार्क क्षेत्रमा ४१ परिवारका ६७ जना र सुन्धारा क्षेत्रमा ४ जनाको व्यवस्थापन गरिएको छ । महानगरले सुन्दरीघाटस्थित राधास्वामी सत्संग भवनमा पनि ठुलो संख्यामा विस्थापितहरूको व्यवस्थापन गरिरहेको छ । 

राधास्वामी सत्संगमा हाल ५० परिवारका सदस्यहरू आश्रित छन् । त्यहाँको तथ्यांकअनुसार ४६ जना महिलाहरू रहेका छन्, जसमा ३ जना सुत्केरी र २ जना गर्भवती महिलाहरू छन् । उनीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर महानगरले विशेष स्वास्थ्य टोली र पोषणको व्यवस्था गरेको छ । यसैगरी, सो स्थानमा ३६ जना पुरुषहरू छन्, जसमा एक जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । बालबालिकाको संख्या ४८ रहेको छ भने ज्येष्ठ नागरिक ५ जना रहेका छन् । सुत्केरी, गर्भवती र अपाङ्गता भएका व्यक्तिहरूको विशेष हेरचाहका लागि महानगरले २४ सै घण्टा स्वास्थ्यकर्मीहरू उपलब्ध गराएको जनाएको छ । 

‘स्वास्थ्य उपचारलाई उच्च प्राथमिकतामा राखिएको छ र कसैलाई पनि बिरामी हुँदा उपचार अभाव हुन नदिने गरी संयन्त्र मिलाइएको छ । विस्थापित बालबालिकाहरूको मानसिक स्वास्थ्य र उनीहरूमा पर्न सक्ने नकारात्मक प्रभावलाई रोक्न विशेष टोलीले निरन्तर काम गरिरहेको छ,’ जोशीले भने । 

 व्यवस्थापन गरिएको घर परिवार र व्यक्तिको संख्या

–    बालाजु क्षेत्र (वैशाख १२): १११ जना
–    नयाँ बसपार्क र माछापोखरी (वैशाख १३) : ६९ परिवारका ११७ जना
–    सामाखुसी बसपार्क (वैशाख १४) : ४१ परिवारका ६७ जना
–    सुन्धारा क्षेत्र (वैशाख १४) : ४ जना
–    सुन्दरीघाट (राधास्वामी सत्संग भवन) : ५० परिवारका सदस्यहरू, महिलाः ४६ जना (३ सुत्केरी र २ गर्भवती सहित) पुरुषः ३६ जना (१ अपाङ्गता भएका व्यक्तिसहित) बालबालिकाः ४८ जना ज्येष्ठ नागरिकः ५ जना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप