मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री बालेन वर्षव्यक्ति घोषित

मङ्गलबार, १५ वैशाख २०८३, २३ : ०१
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई ‘रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२’ को उपाधि प्रदान गरिएको छ ।
  • नवपुस्ताको ऊर्जा र राजनीतिक परिवर्तनको बहसलाई सशक्त नेतृत्व प्रदान गरेको भन्दै उनलाई वर्षव्यक्ति घोषणा गरिएको हो ।
  • सोमबार आयोजित विशेष समारोहमा वर्षव्यक्ति म्यागजिनको विमोचनसँगै विभिन्न ८ विधाका विजेताहरूलाई सम्मानपत्र र ट्रफी प्रदान गरियो ।

काठमाडौं । शिलापत्र डटकमले प्रदान गर्ने ‘रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२’ को उपाधि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले प्राप्त गरेका छन् । नवपुस्ताको ऊर्जा र राजनीतिक परिवर्तनको बहसलाई सशक्त नेतृत्व प्रदान गरेको भन्दै उनलाई यस वर्षको वर्षव्यक्ति घोषणा गरिएको हो ।

सोमबार काठमाडौंको एक होटलमा ५ सयभन्दा बढी विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा आयोजित विशेष समारोहमा ‘वर्षव्यक्ति विशेष म्यागजिन’ को विमोचनसँगै विभिन्न ८ विधाका विजेताहरू सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि एवं कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विजेताहरूलाई ट्रफी तथा सम्मानपत्र प्रदान गरेकी थिइन् ।

समारोहमा अन्य सात विधाका उत्कृष्ट व्यक्तित्व तथा कृतिहरूलाई पनि सम्मानित गरिएको थियो । जसअन्तर्गत डा. नवराज केसीको पुस्तक ‘स्वस्पर्श’ ले मानव संवेदना र आत्मअनुभूतिको गहिरो चित्रणका लागि ‘शिलापत्र वर्षपुस्तक २०८२’ को अवार्ड जित्यो । गीत–संगीतको व्याख्यात्मक प्रस्तुतिमार्फत प्रभाव पारेका सुरज सुवेदी ‘वर्षकन्टेन्ट क्रिएटर’ घोषित भए भने अन्तर्राष्ट्रिय ‘एमएमए’मा ऐतिहासिक सफलता दिलाएका रवीन्द्र ढाँट ‘वर्षखेलाडी’ चुनिए ।

मौलिक संगीतको संरक्षण र प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि झुमा लिम्बूलाई ‘वर्षकलाकार’ बाट सम्मानित गरियो । पारिवारिक संवेदना र सामाजिक यथार्थलाई पर्दामा उतारेको चलचित्र ‘परान’ यस वर्षको ‘वर्षसिनेमा’ बन्न सफल भयो ।

उद्यमशीलता र व्यावसायिक नेतृत्वतर्फ, नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउने आशिष शर्मा ‘वर्षउद्यमी’ र हस्पिटालिटी क्षेत्रको विस्तारमा विशेष योगदान पुर्‍याएका कृष्णप्रसाद न्यौपाने ‘वर्षसीईओ’ घोषित भए ।

शिलापत्रका सम्पादक योगेश ढकालका अनुसार सन् २०७७ देखि सुरु भएको यो अभियानमा बहु–चरणीय छनोट प्रक्रिया र दर्शकहरूको भर्चुअल मतदानका आधारमा विजेताहरू चयन गरिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप