ट्रम्पले ट्यारिफबापत असुलेको १६६ अर्ब डलर फिर्ता गर्ने तयारी सुरु
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध ठहर गरिएका ट्यारिफहरू फिर्ता दिन सुरु गर्ने तयारी गरेको छ ।
- यस अन्तर्गतको पहिलो भुक्तानी मे ११ आसपासबाट सुरु हुने अपेक्षा गरिएको छ र करिब १६६ अर्ब डलर ट्यारिफ फिर्ता हुन सक्छ ।
- अमेरिकी सर्वोच्च अदालतले फेब्रुअरी २० मा ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनअन्तर्गत ट्यारिफ लगाउने अधिकार नभएको ठहर गरेको थियो ।
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध ठहर गरिएका ट्यारिफहरू फिर्ता दिन सुरु गर्ने तयारी गरेको छ ।
यस अन्तर्गतको पहिलो भुक्तानी मे ११ आसपासबाट सुरु हुने अपेक्षा गरिएको छ । अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार अदालतका न्यायाधीश रिचर्ड इटनले प्रक्रिया अगाडि बढिरहेको जनाएका छन् ।
अदालतमा दर्ता भएको कागजातअनुसार ट्यारिफ फिर्ताको प्रक्रिया कन्सोलिडेटेड एड्मिनिस्ट्रेसन एन्ड प्रोसेसिङ अफ इन्ट्रिज (केप) प्रणालीमार्फत भइरहेको छ । यसअन्तर्गत असुलिएको करिब ३ प्रतिशत ट्यारिफ पहिले नै फिर्ता चरणमा प्रवेश गरिसकेका छन्, जसमा अमेरिकी अर्थ मन्त्रालयमार्फत रकम भुक्तानी गरिनेछ ।
करिब २१ प्रतिशत ट्यारिफचाहिँ कर हटाउने प्रक्रियामा स्वीकार गरिएको छ र अप्रिल २६ सम्म १ करोड ७४ लाखभन्दा बढी ट्यारिफ फिर्ता प्रक्रियामा पुगेका छन् । यो फिर्ता प्रक्रिया निकै ठुलो हुने देखिएको छ ।
अदालतको विवरणअनुसार करिब ३३ लाखभन्दा बढी आयातकर्ताका झण्डै ५ करोड ३० लाख प्रविष्टिहरूमा संकलित ट्यारिफ फिर्ता हुन सक्छ । यसको कुल रकम झन्डै १६६ अर्ब डलर रहेको बताइएको छ । यो अवस्था अमेरिकी सर्वोच्च अदालतले फेब्रुअरी २० मा दिएको ऐतिहासिक निर्णयपछि आएको हो ।
अदालतले ६–३ को मतले ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए)अन्तर्गत ट्यारिफ लगाउने अधिकार नभएको ठहर गरेको थियो । उक्त कानुन प्रायः प्रतिबन्ध र सम्पत्ति रोक्काजस्ता विषयका लागि प्रयोग हुने भए पनि व्यापक आयात कर लगाउन प्रयोग गर्न नमिल्ने अदालतले स्पष्ट पारेको थियो ।
निर्णयपछि डोनाल्ड ट्रम्पले त्यसलाई खराब र त्रुटिपूर्ण भन्दै आलोचना गरेका थिए र त्यसपछि विश्वभरका आयातमा १० प्रतिशत नयाँ ट्यारिफ लागु गरेका थिए । यो मुद्दा व्यवसायहरू र विभिन्न अमेरिकी राज्यहरूले दायर गरेका उजुरीहरूबाट उत्पन्न भएको थियो, जसमा राष्ट्रपति कार्यालयले कंग्रेसलाई छल्दै एकतर्फी रूपमा ट्यारिफ लगाइएको आरोप थियो ।
यद्यपि अदालतको निर्णयले अन्य कानुनी आधार प्रयोग गरेर ट्यारिफ लगाउने सम्भावना भने खुला राखेको छ । अमेरिकी अधिकारीहरूले भविष्यमा वैकल्पिक कानुनी बाटो अपनाउन सकिने संकेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण