सिमानाभन्दा माथि मानवता
सारांश
- पूर्वीय दर्शनले 'विश्व नै एउटा परिवार हो' भन्ने सत्यको उद्घोष गरेको थियो, तर २१औँ शताब्दीमा आइपुग्दा प्रविधिको विकासले संसारलाई नजिक ल्याए पनि मानिसको सोच भौगोलिक सिमानाभित्रै कैद छ।
- ज्ञान र प्रविधिले सिमानाको बन्धन भत्काइसक्दा पनि राजनीतिक चिन्तन सिमानाकै रक्षामा केन्द्रित भई द्वन्द्व निम्त्याइरहेको छ।
- विश्वको वार्षिक सैन्य खर्च २.४ ट्रिलियन डलरभन्दा बढी छ, जबकि ७३ करोडभन्दा बढी मानिस भोकमरी र ७० करोडभन्दा बढी चरम गरिबीमा छन्; सैन्य बजेटको सानो अंश मानवीय सेवामा खर्च गरेमा अभाव अन्त्य गर्न सकिन्छ।
हजारौँ वर्ष पहिले, जब मानव सभ्यता भौतिक र प्राविधिक दृष्टिले आजको जस्तो सुसज्जित थिएन, पूर्वीय दर्शनले एउटा महान् सत्यको उद्घोष गरेको थियो— 'वसुधैव कुटुम्बकम्' अर्थात् 'विश्व नै एउटा परिवार हो'।
यो केवल एउटा आध्यात्मिक नारा मात्र थिएन, बरु प्रेम, करुणा, त्याग र समर्पणमा आधारित एउटा उन्नत सामाजिक व्यवस्थाको मार्गचित्र थियो। आज २१ औँ शताब्दीमा आइपुग्दा यातायात, सञ्चार र प्रविधिको अभूतपूर्व विकासले संसारलाई एउटा 'सानो गाउँ' मा त परिणत गर्यो, तर विडम्बना ! मानिसको हृदय र राजनीतिको दृष्टि अझै पनि भौगोलिक सिमानाका पर्खालभित्रै कैद छ। प्रविधिले हामीलाई नजिक त ल्यायो, तर के हामी मानसिक रूपमा एउटै परिवार बन्न सक्यौँ? यो आजको गम्भीर प्रश्न हो।
विभाजित विगत र एकीकृत वर्तमान
इतिहासको एक कालखण्डमा भूगोल, भाषा र सञ्चारको सीमितताले गर्दा संसारका विभिन्न कुनामा फरक–फरक ज्ञान, विज्ञान र संस्कृतिहरू अलग्गै विकसित भए।
त्यतिबेला मानिसहरूले आफ्नो सीमित घेरालाई नै संसार ठाने र आफ्नै संस्कृतिलाई श्रेष्ठ माने। तर आजको युगमा, पृथ्वीको एउटा कुनामा भएको वैज्ञानिक आविष्कार वा सांस्कृतिक विकास सम्पूर्ण मानव जातिको साझा सम्पत्ति बनिसकेको छ। अमेरिकामा विकसित भएको सफ्टवेयर, चीनको उत्पादन प्रविधि, रुसको ऊर्जा स्रोत वा भारतको आध्यात्मिक ज्ञान—यी सबै अब कुनै एक भूगोलको पेवा रहेनन्। जब ज्ञान र प्रविधिले सिमानाको बन्धन भत्काइसक्यो भने, हाम्रो राजनीतिक चिन्तनले अझै किन सिमानाकै रक्षामा मात्र केन्द्रित भएर द्वन्द्व निम्त्याइरहेको छ ?
तथ्याङ्कको ऐना: युद्धको मूल्य र विकासको अवसर
आज विश्वले स्रोत र साधनको बाँडफाँटमा कति ठूलो नैतिक त्रुटि गरिरहेको छ भन्ने कुरा तथ्याङ्कले स्पष्ट पार्छ। स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युट को २०२४–२५ को प्रतिवेदन अनुसार, विश्वको कुल सैन्य खर्च वार्षिक $२,४०० अर्ब (२.४ ट्रिलियन डलर) नाघेको छ।
अर्कोतर्फ, संयुक्त राष्ट्र संघ र विश्व बैंकका तथ्याङ्कहरू हृदयविदारक छन्: संसारका झण्डै ७३ करोड मानिस अझै पनि भोकमरीको सामना गरिरहेका छन् भने ७० करोडभन्दा बढी मानिस चरम गरिबीमा बाँच्न बाध्य छन्। यदि विश्वका शक्ति राष्ट्रहरूले आफ्नो वार्षिक सैन्य बजेटको मात्र १० देखि १५ प्रतिशत हिस्सा शिक्षा, स्वास्थ्य र भोकमरी विरुद्ध खर्च गर्ने हो भने यो पृथ्वीबाट एक दशकभित्रै चरम गरिबी र अभावलाई इतिहासको विषय बनाउन सकिन्छ। हामीले बुझ्नुपर्छ कि—एउटा आधुनिक लडाकु विमानको मूल्यले हजारौँ प्राथमिक विद्यालयहरू निर्माण गर्न सकिन्छ।
नेतृत्वलाई अपील
म विश्वका प्रभावशाली नेताहरू—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इरानी राष्ट्रपति मसुद पेजेश्कियान र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत सबैलाई ससम्मान आग्रह गर्दछु। इतिहासले तपाईँहरूलाई कतिवटा युद्ध जित्नुभयो भनेर होइन, बरु कतिवटा जीवन बचाउनुभयो र कतिवटा समाजलाई अभावमुक्त बनाउनुभयो भनेर मूल्याङ्कन गर्नेछ।
एउटा सानो भूभागमा बसेर त्यहाँको समुदायको मात्र हित सोच्नु र 'राष्ट्रिय सुरक्षा' को नाममा अर्को देशलाई शत्रु देख्नु एक 'स्वार्थी मनोविज्ञान' हो। आजको विश्वव्यापी संकट कुनै एक देशले मात्र समाधान गर्न सक्दैन। चाहे त्यो महामारी होस् वा पर्यावरण विनाश—यी संकटहरूले पासपोर्ट र भिसा चिन्दैनन्। त्यसैले, अबको नेतृत्वले 'सिमानाको रक्षा' मात्र होइन, 'मानवताको रक्षा' को संकल्प लिनु अनिवार्य छ।
अन्तमा, अध्यात्मको करुणा, विज्ञानको सामर्थ्य र राजनीतिको संकल्पलाई एकाकार गरौँ। विश्व राजनीति अब 'मेरो देश' को संकुचित घेराबाट माथि उठेर 'साझा पृथ्वी' को विशाल भावनामा समाहित हुनुपर्छ। कुनै पनि शिशुले दूधको अभावमा ज्यान गुमाउनु नपरोस्, कुनै पनि मानिसले उपचार नपाएर मृत्यु कुर्नु नपरोस्। शक्ति प्रदर्शन 'मिसाइल' मा होइन, 'मानवीय सेवा' मा गरौँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण